नयाँ शक्तिका कस्ता छन् चुनौती ?

-गंगा श्रेष्ठ
समाजमा बस्ने मानिसहरु विभिन्न जाति, वर्ग, क्षेत्र, लिंग, समुदायमा विभाजित रहेकोले समाज विभिन्न अन्तरविरोधको पुञ्ज हो । उनीहरुका आ–आफ्नै आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक समस्या हुन्छन् । यी तमाम समस्याको समाधान गर्ने चाबी राजनीतिसँग हुन्छ । राजनीति र त्यसलाई सञ्चालन गर्ने नेता असल र कुशल भयो भने देश र जनताले दुःख पाउँदैन ।
गतिशील समाजको चरित्र र आवश्यकता अनुसार त्यसलाई सञ्चालन गर्ने नीति निर्माण गर्ने र दृढ इच्छाशक्तिसहित नीतिको नेतृत्व गर्न सके मात्रै देश अगाडि बढ्छ । विद्यमान समाजमा रहेका अन्तरविरोधहरुको समाधान गर्न समयले राजनीतिक दलहरु र नेताहरुको जन्म गराइरहेको हुन्छ ।
नेपालको सन्दर्भमा, भौगोलिक एकीकरणको जिम्मा पृथ्वीनारायण शाहले पाए भने लोकतान्त्रिकरणको जिम्मा मूलतः कांग्रेस, एमाले र माओवादीले पाए । देश अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको छ । यसको नेतृत्व गर्ने राजनीतिक दल र नेताको खोजी समयले गरिरहेको छ । समयको यही आवश्यकतालाई पूर्ति गर्न डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टीको जन्म भएको हो ।
समुन्नत समाजवाद उन्मुख वाम–लोकतन्त्र
वर्तमान विश्व र नेपालमा समेत मूलतः दुई विचार, दर्शन र राजनीतिक प्रणाली (पुँजीवादी नवउदारवाद र राज्य नियन्त्रित समाजवाद) प्रयोगमा देखिन्छ । तर, अब न त पुँजीवादी नवउदारवादले न त राज्य नियन्त्रित समाजवादले नै विश्वको नेतृत्व गर्न सक्छ । यी दुवै विचार, दर्शन र प्रणालीको विकल्प विश्वले खोजिरहेको छ । विकल्प खोज्ने क्रममा नयाँ शक्ति पार्टीले ‘समुन्नत समाजवाद उन्मुख वाम–लोकतान्त्रिक’ विचार र प्रणालीको प्रस्ताव गरेको छ ।
नयाँ शक्ति पार्टीले समकालीन नेपाली समाजका प्रमुख अन्तरविरोधहरुलाई पाँच ‘स’ को रुपमा सूत्रबद्ध गरेको छ । समतामूलक समृद्धि, समानुपातिक÷समावेशी \ सहभागितामूलक लोकतन्त्र, स्वाधीनता÷सार्वभौमसत्ता, सुशासन÷सदाचार र समुन्नत समाजवाद । यी पाँच ‘स’ मार्फत नेपाललाई आगामी सात वर्षभित्रमा अल्पविकसितबाट विकासशील मुलुकमा, पन्ध्र वर्षभित्रमा मध्यम स्तरको धनी राष्ट्र र पच्चीस वर्षभित्रमा समृद्ध विकसित मुलुकमा पु¥याउने लक्ष्य छ ।
महाधिवेशनको तयारी
०७२ मंसिर ६ देखि आठ महिना विचार निर्माणको लागि ‘नयाँ शक्ति निर्माण अभियान’ नामबाट संस्थागत रुपमा अभियान सञ्चालन भयो र त्यसैको जगमा ०७३ जेठमा पार्टी स्थापना राष्ट्रिय भेला मार्फत ‘नयाँ शक्ति पार्टी’ को स्थापना भयो । पार्टी स्थापनापछिको यस पाँच महिनामा ‘सदस्यता निर्माण र संगठन विस्तार’ को अभियानमा पार्टी केन्द्रित भइरहेको छ । यस क्रममा पार्टीलाई उल्लेख्य सफलता प्राप्त भएको छ भने केही समस्यासँग पार्टी निर्ममतापूर्वक संघर्ष पनि गरिरहेको छ ।
विचारलाई जनताबीच पुर्याउने साधन भनेको संगठन हो । संगठन भन्ने बित्तिकै नेता र प्राधिकारको प्रश्न आउँछ । नेता र उसले प्रयोग गर्ने प्राधिकारलाई व्यवस्थित गर्न विधानको जरुरी हुन्छ । नेतृत्व निर्माण र उसले प्रयोग गर्ने प्राधिकारको स्पष्ट व्याख्यासहितको विधि नबन्दासम्म पार्टीभित्र समस्या आइरहन्छ ।
राष्ट्रिय भेलाले संक्रमणकालीन व्यवस्थासहित प्रस्तावित विधान पारित गरेको छ । तर, विधानको मर्म अनुसार आवश्यक कार्यविधि र निर्देशिका बन्ने क्रम जारी छ । यस क्रमको पूर्णता महाधिवेशनमा मात्रै सम्भव छ । तसर्थ, आजको महत्वपूर्ण कार्यभार भनेको यथाशीघ्र महाधिवेशनको तयारी गर्नु हो ।
निर्देशित होइन, स्वैच्छिक अनुशासन
साझा संकल्पसहितको दृढ इच्छाशक्ति बोकेको सामूहिक नेतृत्व विना पार्टी निर्माण सम्भव छैन । यसको अर्थ एकमनावादी नेतृत्व भन्न खोजिएको होइन । विविधतायुक्त साझा संकल्पसहितको सामूहिक नेतृत्व भन्न खोजिएको हो । अबको पार्टी १९औं र २०औं शताब्दीमा जस्तो ‘निर्देशित अनुशासन’ को जगमा सञ्चालन गर्न सकिन्न । २१औं शताब्दीमा ‘स्वैच्छिक अनुशासन’ को जगमा मात्र पार्टी निर्माण र सञ्चालन सम्भव छ ।
स्वैच्छिक अनुशासनको अर्थ संस्थाको हितभन्दा माथि व्यक्तिको सर्वोच्चता भन्ने कदापि हुँदैन । सामूहिक हितको अधीनस्थ व्यक्तिको सर्वोच्चता हुन्छ । अधिकार विनाको कत्र्तव्य निरंकुश हुन्छ भने कत्र्तव्य विनाको अधिकार अराजक हुन्छ ।
प्रत्यक्ष प्रतिस्पर्धा र समानुपातिक\समावेशी प्रतिधित्वबीचको सन्तुलन
विचारमा जस्तै संगठनात्मक सिद्धान्तमा पनि पार्टीले नयाँ अवधारणा अघि सारेको छ । प्रत्यक्ष प्रतिस्पर्धा र समानुपातिक\समावेशी प्रतिनिधित्वका यी दुई अवधारणा विरोधाभासपूर्ण देखिन्छन् ।
प्रत्यक्ष प्रतिस्पर्धाले व्यक्तिको सर्वोच्चताको पक्षपोषण गर्छ भने समानुपातिक\समावेशी प्रतिनिधित्वले समाजको पिँधमा पारिएका जाति, क्षेत्र, लिंग, वर्ग, समुदायको समानुपातिक प्रतिनिधित्वको वकालत गर्छ । समकालीन नेपालको मुख्य अन्तरविरोध भनेकै यही हो ।
यो अन्तरविरोधको समाधान पार्टी र राज्य दुवैमा कुशलतापूर्वक गर्न सकिएन भने समाजमा द्वन्द्व कायमै रहनेछ । द्वन्द्वको बीचमा समृद्धि केवल आकाशको फल मात्रै सावित हुनेछ । नयाँ शक्तिले यसको नयाँ समाधान ‘क्लस्टरको समानुपातिक उम्मेदवार र सम्पूर्ण पार्टी सदस्य मतदाता’ को रुपमा प्रयोग गर्ने प्रारम्भिक प्रस्ताव गरेको छ ।
एक व्यक्ति एक कार्यकारी पद
त्यस्तै, ‘एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकाल’ दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता पनि पार्टीले गरेको छ । यसले पार्टीको लोकतान्त्रिकरण र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउनेछ ।
यसका साथै अस्वीकारको व्यवस्था र प्रत्याह्वानको सुनिश्चितता गर्ने प्रस्ताव पनि गरेको छ । यी सबै चुनौतीको सामना नगरी नयाँ शक्ति व्यावहारिक रुपमा नयाँ बन्न सम्भव छैन ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
नयाँ शक्तिको ‘अबको निकास आर्थिक विकास’ र ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ नारालाई व्यावहारिक रुप दिन देशमा राजनीतिक स्थायित्व, स्थिर सरकार, सदाचार र सुशासन विना सम्भव छैन ।
त्यसका लागि पूर्ण समानुपातिक व्यवस्थापिका–संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विकल्पै छैन । तर, विभिन्न कारणले यो कुरा कार्यान्वयनमा लैजान फलामको च्युरा चपाउनु सरह हुनेछ । फेरि पनि समृद्ध नेपालको लागि यसको विकल्प छैन । २६ वर्षमा २४ जना प्रधानमन्त्री परिवर्तन हुने जस्तो अस्थिर सरकार रहँदासम्म नेपालले फड्को मार्न सक्ने छैन ।
नेता उपदेशक होइन, उदाहरणीय
सपनामा समृद्धिको खेती धेरैले गरे र गरिरहेका छन् । सपनाको खेती रंगीचंगी त हुन्छ तर फसल लाग्दैन । अब नयाँ शक्तिले फसल लाग्ने खेती गर्नुपर्छ । नेताले कार्यकर्तालाई आदेश र कार्यकर्ताले जनतालाई उपदेश दिएर समृद्धि सम्भव छैन । यसको लागि सबभन्दा पहिले नेता, कार्यकर्ता नै उदाहरण बन्न जरुरी छ ।
सात, पन्ध्र र पच्चीस वर्षे प्रक्षेपण अनुसार क्षेत्रगत सम्भावनाको खोजी र लगानीको ठोस कार्ययोजना बनाउन आवश्यक छ । यस कार्ययोजना तर्जुमाको लागि सम्बन्धित क्षेत्रका विषय–विज्ञहरुलाई जिम्मेवारी दिइहाल्नुपर्छ ।
नयाँ शक्ति संगम स्थल
नयाँ शक्ति विभिन्न पृष्ठभूमिहरुको संगमस्थल हो । संक्रमणकालमा विभिन्न पृष्ठभूमिको बीचमा सामान्य अन्तरविरोध रहनु स्वाभाविक हुन्छ । अन्तरघुलनको लागि यसले निश्चित समयको माग गर्छ । संयोजक डा.बाबुराम भट्टराई भन्नुहुन्छ– ‘गंगा र जमुना मिसिएपछि पनि केही किलोमिटर आ–आफ्नै रङसहित बगेका छन् र निश्चित दूरी पार गरेपछि मात्रै एउटै रङमा अन्तरघुलित हुँदै बग्छन् ।’
नयाँ शक्तिको हकमा पनि प्रकृतिको यो नियम लागू हुन्छ । वास्तवमा नयाँ शक्तिको पुँजी भनेकै यही अलग–अलग पृष्ठभूमिको सम्मिलन हो । यसको कुशल व्यवस्थापन गर्ने विशेष कला नेतृत्वमा हुन जरुरी छ ।
अन्त्यमा,
संविधानतः ०७४ माघसम्म तीन वटा निकायको निर्वाचन सम्पन्न हुँदै छ । शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सत्तारोहण गरी समृद्ध नेपाल निर्माणको नेतृत्व गर्ने नयाँ शक्तिको लागि निर्वाचन एउटा ठूलो अग्निपरीक्षा हो । अग्निपरीक्षामा खरो उत्रन माथि उल्लिखित आन्तरिक र बाह्य चुनौतीहरुको सामना गर्दै निर्वाचनको निर्णायक तयारी गर्नुको विकल्प छैन ।
इतिहासले अवसर दिन्छ पर्खँदैन । तसर्थ, सबै एकताबद्ध भई नयाँ युगको नेतृत्व गर्ने कि ?
(लेखक नयाँ शक्तिका नेता हुन्)