पत्रकार सुमन भोम्जनको स्मृतिमा खेलकुद महोत्सव

मंसिर २, हेटौँडा : सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गामा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ हुने भएको छ । प्रतिष्ठानको आयोजनामा गत बर्षबाट सुरु भएको हेटौँडा गोल्डकपलाई निरन्तरता दिने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।
बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले महोत्सवको तयारी सकिएको बताए । ‘महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी रहनेछ । बाल उद्यान अन्तर्गत चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ हुनेछ’,उनले भने ।
तीन सय ५० वटा स्टल रहने महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी हुनेछ प्रचारप्रसार संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।
मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिजेता बन्न सफल खेलाडीहरुलाई सम्मान गर्ने आयोजकको तयारी छ । महोत्सव करिब २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।