कुलमान घिसिङलाई जिस्काउँदा एमाले र नेपाली काँग्रेससम्बद्ध कर्मचारी भिजेको मुसा बने

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ शुक्रबार विहान एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिदै थिए । अन्तरवार्तामा उनले घोषणा गरे, ‘अब लोडसेडिङ तालिका प्रकाशित गरेर जनतालाई आतंकित गरिनेछैन, लोडसेडिङ हुँदैन ।’ उनले अर्को घोषणा गरे, ‘सुकुम्वासीलाई पनि मिटरवक्स दिइन्छ, जनतालाई बत्ति दिएवापत जेल जान परेपनि गइन्छ ।’
दुई क्रान्तिकारी घोषणा गरेर कुलमान घिसिङ प्राधिकरण पुगे । जहाँ उनका विरुद्ध नेकपा एमाले र नेपाली काँग्रेससम्बद्ध कर्मचारीले मोर्चाबन्दी गरिसकेका थिए । केहीबेरमा संचारमाध्यममा प्रेस विज्ञप्ति पुग्यो । सो विज्ञप्तिमा निर्देशक घिसिङमाथि विभिन्न आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाउनेसम्मको आन्दोलन गर्ने चेतावनी दिइएको थियो । सायदै कर्मचारी संगठनलाई सो विज्ञप्ति आफ्ना लागि आत्मघाती हुनेछ भन्ने हेक्का थियो । केही बेरमै कर्मचारी संगठनका विरुद्धमा सामाजिक संजालमा विषवमन हुन थाल्यो । केन्द्रीय राजनीतिमा फरक कित्तामा रहेका काँग्रेस र एमाले राम्रो काम गरेर चर्चामा आएका कुलमानका विरुद्ध एकै ठाऊँमा उभिएपछि दुबै पार्टीको छबीमाथि प्रश्न तेर्सियो ।
कुलमान कार्यालय पुगेको एकाध घण्टामै बानेश्वरस्थित ट्रान्समिटरमा समस्या देखियो । फिडर बिग्रिएपछि काठमाडौंको केन्द्र मानिने बानेश्वरसहितका स्थानमा बिद्युत कट्यो । धेरैलाई लोडसेडिङ शुरु भएको लाग्यो । केहीले कुलमानलाई लोडसेडिङ नहुने दाबी पूरा नभएको भन्दै फोन गरे । कुलमान मर्मत टोलीसहित बानेश्वर हानिए । राति ८ बजेसम्म उनी बानेश्वरमै रहे ।
कर्मचारी संगठनका लागि कुलमानलाई जिस्काउँदा अरिंगालको गोलामा हात हालेको जस्तो भइसकेको थियो । लोडसेडिङ अन्त्यको जस लिन ‘केपी ओलीको सपना पूरा भएको’ पोष्टरिङ गर्ने एमालेजनलाई सबैभन्दा बढी आक्रमण सामाजिक संजालमा भइरहेको थियो । अर्कोतर्फ, ‘कुलमानले नयाँ उत्पादन गरेर लोडसेडिङ अन्त्य गरेका होइनन्, ओलीकै कार्यकालमा पनि बिद्युत व्यवस्थापन गरेको भए लोडसेडिङ अन्त्य हुन्थ्यो’ भन्ने सन्देश सामाजिक संजालमा व्याप्त भइरहेको थियो । प्राधिकरणभित्रको आन्दोलनले पार्टीका मूल नेता कै छबीमा आँच पुर्याउन थालिसकेको थियो । दिनभर कुलमानको पक्षमा सामाजिक संजाल रंगियो । कलाकारदेखि पत्रकारलेसम्म ‘कुन दल भन्ने थाहा छैन, काम गर्ने कुलमानलाई केही भए छाडिन्न’ भन्दै स्टाटस लेखे ।
कुलमानको विपक्षमा रहेका कर्मचारीलाई पार्टीका नेताहरुले समेत हप्कीदप्की गरे । हायलकायल भएका कर्मचारी संगठनका नेताहरुले चिनेजानेका पत्रकारलाई फोन गरे । ‘कुलमानले आगामि दिनमा सहकार्य गरेर अघि बढ्ने भनेकाले उनलाई कार्यालय प्रवेशमा रोक लगाइनेछैन ।’ कर्मचारी संगठनका नेताहरुले बनिबनाउ मौखिक स्टेटमेन्ट दिन थाले ।
कर्मचारीको आन्दोलन फिर्ता भएको सन्दर्भमा निर्देशक घिसिङले भने, ‘मलाई थाहा भएसम्म पूरानो विज्ञप्ति संचारमाध्यममा पुगेको हो । कुलमानले आफुप्रति देखाइएको आम चासोप्रति खुशी व्यक्त गरे, ‘म जनताको साथबाट उत्साहित भएको छु । मैले धेरैको प्रत्यक्ष र अप्रत्यक्ष खबर पाएको छु । मलाई सरकार र मन्त्रालयले जनतालाई अध्याँरोबाट मुक्त गर्ने कार्यादेश दिएको छ । म निरन्तर लागिरहने छु ।’
@ नेपालआज