ओबामाले ह्वाइट हाउस छाड्ने तयारीमा, छोडेपछि के गर्लान ?

भर्खरै सम्पन्न चुनावी परिणामले सत्ताको बागडोर डोनाल्ड ट्रम्पको हातमा पुगेपछि अब छिट्टै ओबामाले ‘ह्वाइट हाउस’ छाड्दैछन् । ओबामाले यसको तयारी पनि गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
सबै राष्ट्रपति आफ्नो अवधि समाप्तिपछि आफ्नो कार्यालय छाड्ने गर्छन र वासिङ्गटन शहरबाट टाढा कतै शहरमा आफ्नो बाँकी जिन्दगी गुजार्छन ।
तर, राष्ट्रपति ओबामाले ह्वाइट हाउस छाड्ने तयारी गरे पनि केही समय राजधानी वासिङ्गटनमै रहनेछन् ।आफ्नी कान्छी छोरी साशा माध्यमिक तहमा अध्ययनरत् रहेको र उनले विद्यालय तहको अध्ययन नसकिएसम्म ओबामा वासिङ्गटनमै रहनेछन् । उनी आगामी केही वर्ष वासिङ्गटनमै रहने अमेरिकन संचारमाध्यमहरूले जनाएका छन् ।
ह्वाइट हाउसबाट निस्किएको केही समय ओबामा दम्पती आरामसँग बिताउने छन् । तर, ओबामासँग राष्ट्रपति पदमा कार्यरत हुँदा र ह्वाइट हाउसमा रहँदाको आफ्ना अनुभव समेटेर आत्मकथा वा केही किताव लेख्ने योजना रहेको बताइएको छ ।त्यस्तै, केही सञ्चारमाध्यमले भने ह्वाइट हाउसबाट निस्केलगत्तै ओबामा दम्पती परोपकारी कर्ममा लाग्ने दावी गरेका छन् ।
‘पदावधि सकिएपछि म राष्ट्रपति हुनुभन्दा अघिकै कामहरूलाई निरन्तरता दिनेछु,’ गतसाल स्कुले विद्यार्थीसँग ओबामाले भनेका थिए, ‘परोपकारी कार्यलाई गति दिने उपाय खोज्दैछु ।’ बालबच्चाका लागि शिक्षा प्राप्तिका लागि सहयोग गर्ने, रोजगारीका लागि सहयोग गर्नेलगायतका काममा आफू व्यस्त हुने उनले बताएका थिए ।
त्यस्तै, पत्नी मिचेल ओबामा पनि ह्वाइट हाउस छोडेसँगै सामाजिक उत्थानका काममा लाग्ने बताइएको छ । अमेरिका सहित विश्वभरीका बालिकाको शिक्षा प्राप्तिका लागि आफू क्रियाशिल रहन चाहेको संकेत उनले कयौंपटक गर्दै आएकी छिन् । @ लोकान्तर |