नेपाल सधैँ खुल्ला छ भन्दै पोखरामा बन्दको विरोधमा युवाहरुको प्रदर्शन

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको विरोधमा पोखरामा प्रदर्शन भएको छ ।सामाजिक सञ्जालमा आवद्ध युवाहरु र ‘परिवर्तनका लागि युवा समूह’ले बन्दको विरोधमा सवारी साधनसहिते चिप्लेढुङ्गाबाट निकालेको र्यालीले पोखराका विभिन्न बजार परिक्रमा गरेको छ ।राष्ट्रिय झण्डा बोकेका युवाहरुको समूहले ‘बन्दकर्ता होसियार’, ‘बन्द गर्न पाइदैन’, ‘नेपाल सधैँ खुल्ला छ’ लगायतका नारा लगाएका थिए ।
बन्दको विरोधमा प्रदर्शन गर्ने युवा र बन्दकर्ता माओवादी कार्यकर्ताविच पोखराको नयाँ बजारमा जम्काभेट भएको थियो ।केहीबेर स्थिति तनावपूर्ण भएपनि प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिएपछि कुनै अप्रिय घटना हुन नपाएको प्रत्यक्षदर्शी दिवस कार्कीले बताए । यसैबीच, बन्द गराउँदै हिँडेका १२ जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।बिहान सृजनाचोकबाट ४ जना र नयाँ बजारबाट ८ जना बन्दकर्ता पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अहिले पोखरामा अन्य बेलाभन्दा थोरै भए पनि सवारी साधनहरु चलिरहेका छन् भने बजार पनि खुल्दै गईरहेको समाचार हिमालखबरमा छ |