वैदेशिक रोजगारीमा रहेकालाई सरकारले एकसय दिनमा के के गर्याे ?

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारलाई दिईंदै आएको तीन लाख सहयोगलाई बढाएर ७ लाख रुपैयाँ पुर्याउन नियमावली संशोधनको गृहकार्य भइरहेको बताएको छ ।
सरकारले एकसय दिनमा गरेका काम बारे जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकार सम्हाल्दा घोषणा गरे अनुरुप मृतकका परिवारलाई दिइने रकम बढाउने गृहकाय भइरहेको बताउनुभयो ।
उहाँले यो एकसय दिनमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २ सय ६ जनाका परिवारलाई ३ लाख रुपैयाँका दरले रकम उपलव्ध गराइसकेको बताउनुभयो । यस्तै विदेशमा ज्यान गुमाएका २ सय शवलाई काठमाडौंबाट घरसम्म पुर्याउन यातायात सहयोग गरेको जानकारी दिनुभयो ।
कतारमा कागजातविहिन अवस्थामा रहेका नेपालीलाई कागजात बनाउन सघाउन छुट्टै डेस्क स्थापना गरिएको भन्दै प्रधामन्त्री दाहालले अहिले ६ सय ८३ जनाले डेस्कबाट सुविधा लिएको बताउनुभयो । त्यस्तै कतारमा विभिन्न कारणबाट नेपालीले पाउनु पर्ने मध्ये २३ लाख भन्दा बढी कतारी रियाल बरावरको क्षतिपूर्ति दिलाएका कामलाई पनि प्रधानमन्त्री दाहालले आफ्नो काममा समेट्नुभएको छ ।
यस्तै कतारको हमाद अस्पतालमा कोमामा रहेका १४ जना नेपालीमध्ये ५ जनालाई नेपाल फर्काइएको भन्दै प्रधामन्त्री दाहालले खाडीका देश र मलेसियामा राहदानी वितरणलाई सहज बनाउँदै शुल्क ८० डलरबाट घटाएर ५० डलर बनाइएको पनि बताउनुभयो ।