एनआरएन कतारमा ११ लाख ६३ हजार रुपैयाँ हिनामिना

कार्तिक – गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) कतारमा ११ लाख ६३ हजार रुपैयाँ (३८ हजार ७ सय ९६ रियाल) आर्थिक हिनामिना भएको पुष्टि भएको छ ।
एनआरएन कतारको लेखा परीक्षण उपसमितिले अध्ययन गरी ३८ हजार ७ सय ९६ रियालको कारोबार अबैध भन्दै प्रतिवेदन तयार गरेको हो ।
गत अप्रिल २९ गते भएको दोस्राे परिषद् भेलामा प्रस्तुत आर्थिक प्रतिवेदनप्रति पार्षदहरुले आपत्ति जनाएपछि निष्पक्ष छानबिनको लागि बुधवल गुरुङको संयोजकत्वमा लेखा परीक्षण उपसमिति तयार गरेको थियाे ।
एनआरएनले पूर्वअध्यक्ष तथा हालका प्रमुख सल्लाहकार मक्सुद आलामको जिम्मेवारी भएको भन्दै बेरुजु फछ्यौट गर्नुपर्ने निर्णय गरेको छ । एनआरएन कतारले आलामलाई कारबाही गरी रकम उठाउन गैरआवसीय नेपाली संघलाई आग्रह गरेको छ ।
एनआरएन कतारका अध्यक्ष बिनेश तामाङले आलामलाई पत्र पठाई नोभेम्बर ४ तारिखभित्र बेरुजु फछ्यौट गर्न अनुरोध गरेको थियो । आलाम सम्पर्कमा नआएको भन्दै एनआरएन आइसीसीलाई पत्रचार गरेको छ ।
‘बेरुजु रकम निज (आलम)बाट असुल उपर गर्न कानुनी प्रक्रियालाई समेत प्रयोग गर्दै सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा भनिएको छ ।
पूर्वअध्यक्ष आलामले आफूले सबै हिसाबकिताब वर्तमान अध्यक्ष बिनेश तामाङ र कोषाध्यक्षलाई हस्तान्तरण गरिसकेको दावी गरेको समाचार इकान्तिपुरमा छ |