नयाँ शक्ति नेपालका संयोजक भट्टराई बेलायत जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा बेलायत लानु लाग्नु भएको छ |
बेलायतमा रहँदा उहाँले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै बेलायतको संसद् हाउस अफ कमन, लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायतका बारेमा व्याख्यान दिनुहुनेछ ।
नोभेम्बर १२ र १३ मा बेलायतमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्नुहुनेछ । नोभेम्बर १४ मा उहाँले ‘हाउस अफ कमन’मा सांसदहरुसँग भेटघाट र र लण्डन स्कुल अफ इकोनोमिक्समा व्याख्यान दिनुहुनेछ । नोभेम्बर १५ मा अक्सफोर्ड विश्वविद्यालयका उप–कुलपतिसँग शिष्टाचार भेट र विश्वविद्यालयमा ‘समावेशी लोकतन्त्र, दीगो विकास र सामाजिक न्याय: नेपालमा आर्थिक विकासको निम्ति नयाँ दृष्टिकोण’ विषयमा व्याख्यान दिनुहुनेछ ।
भ्रमणमा उहाँसँगै नयाँ शक्ति पार्टी, नेपालका विदेश विभाग प्रमुख नवराज सुवेदी र कृषि विभाग प्रमुख मदन राई हुनुहुन्छ ।
यसका साथै पोर्चुगलमा पनि नेपाली समुदायसँग भेटघाट र नयाँ शक्ति पार्टी, नेपालको आन्तरिक कार्यक्रम हुनेछ । संयोजक भट्टराई नोभेम्बर १७ मा नेपाल फर्कनुहुनेछ ।