दुबइमा नेपालीले कमाएको ३० प्रतिशत रेमिटेन्स युवती मार्फत फिलिपिन्समा

कात्तिक – २५ इटहरी | सुन्दरदुलारी नगरपालिका मोरङ बस्ने पर्यटन व्यवसायी राधेश्याम पौडेलका पर्यटन योजनाहरू पनि सुन्दर छन् । जस्तै, उनले आफ्नै नगरपालिकाको बलिया बजारभित्र पर्ने बुढीखोला किनारको खोंचमा रहेको प्रयोगविहीन पानीपोखरीमा बोटिङ शुरू गरे ।
लाइफ ज्याकेट प्रयोग गरेर गरिने बोटिङले गर्दा कुनै बेलाको गुमनाम ठाउँ आजकल पूर्वी नेपालकै चर्चित भ्रमण र पिकनिकस्थल भएको छ । त्यही पोखरी परिसरमा गोकुलम नामको रिसोर्ट समेत चलाएर पौडेलले कुनै पनि उब्जनी नभएको र घरघडेरी समेत नहुने क्षेत्रलाई पर्यटन केन्द्र बनाएका छन् ।
आज बलिया नचिन्ने सयौंले गोकुलम चिन्छन् । र त्यही गोकुलम रिसोर्टको नाममै त्यो ठाउँको बाहिरकाले चिन्ने नाम भएको छ । तर पौडेलले स्थानीय मान्छेले सिंगान फाल्ने र फोहोर गर्ने पोखरीमा सशुल्क बोटिङको कल्पना गर्दा थुप्रैले ‘पागल’ भने । पोखरीबीचमा बनाउँदै गरेको पानीजहाज शैलीको महंगो भवन हेर्दा त गाउँलेले ‘राधेश्याम पौडेल बौलायो’ सम्म भन्न भ्याए ।
आज तिनै पागल र बौलायो भन्नेहरू पौडेलको गोकुलम रिसोर्टमा २० रुपैयाँ शुल्क तिरेर रिसोर्ट प्रवेश गर्छन् । ५० रुपैयाँ तिरेर बोटिङ गर्छन् । दैनिक ५ सय हाराहारीको संख्यामा आगन्तुकहरू गोकुलम आउँछन् ।
यसरी गोकुलम रिसोर्टको बेजोड तर प्रत्याशित सफलता पाएका पौडेलले अर्को ‘पागल’ आयोजना बुने । कोशी फुटेर २०६५ सालमा मरुभूमि बनाएको सुनसरी श्रीपुरको जब्दी भन्ने ठाउँमा पौडेलले नेपालकै पहिलो समुद्री तटको झल्को दिने रिसोर्टको कल्पना गरे ।
आठ वर्षअगाडि खेतीपाती हुने जमिन बालुवाले पुर्दा पौडेललाई त्यो ठाउँको सुन्दरता सकिएको जस्तै लागेको थियो । सामुद्रिक तटको रिसोर्टको कल्पना गर्दाको क्षण सम्झँदै पौडेल भन्छन्, ‘एक दिन यही क्षेत्रबाट ड्राइभ गर्दैथिएँ र एकाएक मैले बालुवाको भाषा बुझें अनि रिसोर्ट खोल्ने अभियानमा लागें ।’
नेपालमा अन्त कतै नभएको समुद्री तट र मरुभूमि सफारीको रिसोर्ट खोल्ने विचार आएको केही हप्ताभित्रै पौडेलले २७ बिगाहा जमिन किने । कोही किन्न नआएको जमिन किन्न पुगेका पौडेललाई जग्गादाताहरूले हाँसीखुशी जमिन बेचे । निर्माणाधीन रिसोर्ट परिसरको बालुवामा विभिन्न बोटबिरुवाहरू रोपिसकेका पौडेलले आफ्नो रिसोर्ट चलाउन खोज्दा थुप्रैले पुनः अघिल्लो रिसोर्ट गोकुलमको काम थाल्दा जस्तैगरी ‘पागल’ भने ।
अरूको आलोचनामा भन्दा आफ्नो अभियानमा बढी विश्वास राख्ने पौडेल नेपाली शैलीको बीच एन्ड डेजर्ट सफारी रिसोर्ट खोल्नलाई विदेशका उदाहरण पढ्न दशैं अगाडि दुबई यात्रामा थिए । मरुभूमिमा कुद्ने चारपांग्रे ‘डेजर्ट बाइक’ र ‘बीच सफारी’को यात्रामा दुबई छिरेका पौडेलले आफ्नो यात्रा अनुभव आफ्नै भनाईमा यसरी सुनाए :
सेप्टेम्बरको दोस्रो हप्तामा म दुबईको यात्रामा थिए । मसँगै हुनुहुन्थ्यो नेपाल जेसीसका अध्यक्ष भइसकेका भोला दुलाल र व्यवसायी मित्र रमेश कार्की । दुलालजीले विभिन्न ८२ वटा देशहरू पहिल्यै घुम्नुभइसकेकोले मलाई मेरो यात्राका यावत् कुराहरूको केही चिन्ता थिएन । चिन्ता केवल हाम्रो प्लेनको साढे सात बजेको यात्रा समयमा हुन्छ या हुन्न भन्नेमा थियो । नभन्दै हामी फ्लाई दुबईमा ८ बजे मात्रै उड्यौं ।
प्लेनको ढोकाबाट छिर्दाको देब्रेतिरको मध्यभागमा थिएँ म । मेरो सिटको देब्रे साइटमा भोलाजी हुनुहुन्थ्यो, बीचमा हुनुहुन्थ्यो रमेशजी र मेरो हातमा थियो मलेसियाका पिता माहथिरको जीवनीसम्बन्धी किताब । माहथिर पनि कुनै बेला पेट पाल्न चिकित्साशास्त्र पढेको कुरा र उनको मलेसिया बनाउने योगदान र सपनाहरू पढ्दै घोत्लिँदै गर्दा करीब ४ घण्टापछि हामी दुबई एयरपोर्टमा अवतरण भयौं ।
स्थानीय पौने एघार बजेको समयमा दुबईमा उत्रिएका हामी केही समयमै एयरपोर्टबाट आधा घण्टाको चारपांग्रे यात्रामा पुग्न सकिने होटल अम्बासडरमा पुग्यौं । भारतीय व्यापारीले चलाएको होटलमा बसेका हामीहरू भोलिपल्ट दुबईको शपिङ क्षेत्र भ्रमणमा जाने सोच्दासोच्दै सुतेपछि कतिबेला निदायौं पत्तै भएन ।
घुमाईको पहिलो दिन : दुबईमा पनि मोबाइल बनाउने ठाउँ भेटिनँ
हामी पहिलो दिनको भ्रमणमा दुबईका व्यस्त शपिङ सेन्टरमा पस्यौं । नाम ठ्याक्कै सम्झना भएन । तर विभिन्न शपिङ सेन्टरका झकिझकाउ विद्युतीय सामानहरू, मोबाइल, क्यामेरा र अन्य सामानहरू हेर्दै र केही किन्दाकिन्दै हाम्रो पहिलो भ्रमण समय बित्यो । सोहीबीचमा बिग्रेको मेरो मोबाइल बनाउन दिँदा मोबाइल बन्दै बनेन । मोबाइल बनाउनेले कत्ति प्रयास गर्दापनि मोबाइल त बनेन । यही मोबाइलको थोरै तनाव र दिनभरिको यात्राको धेरै आनन्द बोकेर हामी पुनः होटल फर्कियौं ।
घुमाईको दोस्रो दिन : पैसा छाप्ने बालुवाको दर्शन
भोलिपल्ट बिहानीको खानापछि हामी डेजर्ट बाइक चढ्न लाग्यौं । डेजर्ट बाइक चढेको महसूस गर्नु नै मेरो भ्रमणको उद्देश्य थियो । त्यसैले दोस्रो दिनको घुमाई मेरो लागि निकै महत्वपूर्ण थियो । होटलबाट लगभग एक घण्टाको यात्रामा हामी ८० किलोमिटर क्षेत्रमा फैलिएको डेजर्ट सफारी क्षेत्रमा पुग्यौं । १६० दिराम तिरेर २० मिनेट चलाउन पाइने डेजर्ट बाइकिङ गर्नेको लामो घुइँचो थियो । मेरा पाकिस्तानी गाइड भन्दै थिए, ‘यो पिक सिजन हैन । अरूबेला त थामिनसक्नुको भीड हुन्छ ।’
मलाई अचम्म लाग्यो नेपाली रुपैयाँ ४८ सय तिरेर मात्रै २० मिनेट गर्न सकिने डेजर्ट बाइक चलाउने नेपालीहरू मात्रै हैन विभिन्न भूगोलका पर्यटकहरूको बाक्लो उपस्थिति थियो । काला वर्णका अफ्रिकीदेखि गोरा युरोपेली र अमेरिकीहरू पनि उपस्थित थिए डेजर्ट बाइक क्षेत्रमा । अरबको सारा ठाउँमा मरुभूमि मात्रै छ । तर त्यही ठाउँमा बालुवामा पैसा छाप्ने विभिन्न माध्यमहरू देख्दा मलाई खुशी लाग्यो । कति बाठा यहाँका शासक, कति व्यावसायिक यहाँका व्यवसायीहरू, कति सुखी यहाँका स्थानीय । कतै तेल निकालेको, कतै बालुवामै खसी, बाख्रा र भेडापालन भएको । कतै भने केही नभएपनि यसरी डेजर्ट बाइक जस्ता साहसिक खेलहरू खेलाइएको ।
मरुभूमि क्षेत्रमा यसरी विकास गरिएका पर्यटन र व्यवसायका कामहरू देखेर मेरो देशका मलिला माटोमा चाहिँ पटक्कै नभएका ठूलाठूला पर्यटकीय पूर्वाधारहरू सम्झेर भने मेरो मन गह्रुंगो भयो ।
डेजर्ट बाइक सफारी गरेपछि हामीहरू केही समय पिच सडकमा गुडेर पुनः दुबईको एउटा विशाल उँट फारममा पुग्यौं । तीन हजारवटा उँटहरू पालिएको उक्त फारम स्थानीय शेखको माछा निर्यातमा पालन गरिएको मेरा पाकिस्तानी गाइड मोहम्मद नविसले बताए ।
कस्तो मज्जाले मरुभूमि तीन हजार उँटहरूको फार्म सञ्चालन गरेको भने यो हेर्दा नेपालमा यत्रो जमिन भएर पनि सडकमा छाडा छाडिने चौपायाहरू सम्झेर आउँदा नमीठो भयो । घरको गोठमा नबाँधेर सडक किनारमा पशु छाड्ने नेपाली चलन सम्झँदा नमज्जा लाग्यो । उँटको फार्मपछि हामीले केही गज्जबका नृत्य र अरबी झाँकीहरू हेर्न थाल्यांै । यी सबै कुराको मजा लिँदा साँझ झमक्क हुन लागेको थियो ।
घुमाईको तेस्रो दिन : सगरमाथाको देशको मैले बुर्ज खलिफा उक्लें
बुर्ज खलिफामा चढ्न पाउनुलाई सौभाग्यका रूपमा लिन्नँ किनभने सगरमाथाको देशको मलाई ५५५ मिटरको १५५ तल्ले अग्लो भवनको उचाईमा पुग्नु ठूलो कुरा हैन । तर बुुर्ज खालिफा बनाउनेहरूमा एक नेपाली पनि भएको समाचार सुनेको मलाई त्यहाँ जान अलग्गै आकर्षण आएको थियो । १० हजार ५ सय नेपाली रुपैयाँ बराबरको रकमको टिकट काटेर हामी बुर्ज खलिफाको लिफ्ट चढ्यौं । लिफ्टमा बसेको २५ सेकेन्डमै हामी १२५ औं तल्ला पुग्दा जत्ति खुशी भयौं, त्यहाँ सुकिलामुकिला लुगामा काम गर्ने नेपाली देख्दा त्योभन्दा बढी खुशी भयौं ।
बुर्ज खलिफामा १० हजार ५ सय रुपैयाँ तिरेर केही शहरी दृश्य र समुद्री तट अनि मरुभूमिबाहेक मैले केही आकर्षक दृश्यहरू देखिनँ । मेरो देशका चन्द्रागिरी पर्वत चढ््दा देखिने सुन्दरता त्यहाँ भेटिनँ । भेडेटारको चार्ल्स पोइन्ट पुग्दाजत्तिको पनि मनमोहक दृश्य पनि मैले भेटिनँ । नेपालमा एक हजार रुपैयाँमै हेर्न र डुल्न सकिने चन्द्रागिरी केबलकारको दृश्यावलोकनको भन्दा १० गुणा बढी पैसा तिर्दा पनि मैले त्यस्तो सुन्दरता र आकर्षण भेटिनँ ।
सोचें, ५५५ मिटरको बुर्ज खलिफा चढेको त १० हजार ५ सय छ भने हाम्रो देशका अग्ला शिखरहरू सगरमाथा, कञ्चनजंघा, मकालु आदिको बेस क्याम्प मात्रै पुग्दा चार हजार मिटरको उचाईमा पुग्न सकिन्छ । अनि बुर्ज खलिफाको ५५५ मिटरको १० हजार ५ सयकै रेटमा हिसाब गर्दा आउने आधा रकम मात्रै लिँदा पनि मेरो देश कस्तो धनी हुन्थ्यो होला भनेर सम्झें ।
त्यसरी हिमाल हेर्न जानेलाई तराईबाट चार लेनको पक्की सडक अथवा उत्तर दक्षिण रेलमार्ग वा सके त सुरुङमार्गको बाटो बनाएमा लाखौं स्वदेशी र विदेशीहरूलाई हिमालसँग सेल्फी लिन आउने कुरा कल्पिँदा पनि म पुलकित भएँ । तर देशको राजनीतिक अन्यौल र नागरिक स्तरका निराशाहरू सम्झेर म चिन्तितै भएँ । यसरी केही चिन्ता र केही नयाँ अनुभवले मेरो तेस्रो दिन बित्यो ।
घुमाईको चौथो दिन : नेपालको ३० प्रतिशत रेमिटेन्स फिलिपिन्स जान्छ
भ्रमण सक्नुभन्दा एक दिनअगाडि हामीहरू पुग्यौं दुबई मलमा । दुबई मल सेरोफेरोको माहोल र त्यहाँको संवाद सुन्दा मैले कल्पेको दुबईभन्दा भिन्न दुबई पाएँ । थाइल्यान्डमा सुनेजस्तै देहव्यापारको खुलेआम प्रस्ताव गर्ने फिलिपिनो युवतीहरू देखें । थुप्रै नेपालीहरू लक्षित फिलिपिनो युवतीहरूतिर नजर डुलाएँ । मैले यी दृश्य नियाल्दै गर्दा एक युवती मेरै सामुन्ने आइन् र भनिन्, ‘डु यु वान्ट टु इन्जोए ?’
अपरिचित फिलिपिनो युवतीको यस्तो अभद्र र अश्लील प्रस्तावले म चकित भएँ । मैले तत्काल ‘नो’ भनिसक्दासक्दै उनले अर्को नेपाली युवकलाई भन्न भ्याइहालिन्, ‘डु यु वान्ट टु इन्जोए ?’ युवकले ओके भने भनेनन्, त्यो त सुनिनँ तर उनीहरू एउटै बाटोमा सँगै अगाडि बढेको भने देखें ।
यसरी दुबई मलजस्तै दुबईका कतिपय कुनाहरूमा नेपालीलाई लक्षित गर्दै फिलिपिनो युवतीको यौन व्यापार जानिँदो नजानिँदो तरिकामा व्यापक हुनेगरेको मेरो गाइडले बताउँदैथिए ।
नेपालीहरू हप्ताको हरेक छुट्टीको समयमा यस्ता युवतीसँगको मस्तीमा थुप्रो रकम खर्चिन्छन् भने मेरा गाइडले । कतिपय नेपाली त महिनाभरको तलब समेत फिलिपिनोसँगको रोमान्समा सक्ने कुरा गर्दै थिए एकजना दुबई मलमा भेटिएका झापाली अधबैंसे ।
त्यहाँको माहोल र वातावरण हेर्दा लाग्थ्यो नेपालको कम्तीमा ३० प्रतिशत विप्रेषण नेपालभन्दा अगाडि फिलिपिन्स पुग्छ । अर्थात्, घरमा भन्दा चाँडो यौन व्यवसायीको हातमा पुग्छ, दुःख गरेर पैसा कमाएका थुप्रै युवा नेपालीहरूको रकम । यी सबै दृश्य र तर्कनामा पिङ खेल्दाखेल्दै साँझ प—यो र हामी होटल छि—यौं ।
ब्याक टु नेपाल
यसरी पाँच दिन र पाँच रात दुबईमा बिताउँदा मैले दुई लाखभन्दा बढी खर्च गरें । सपिङ नगरेको र कुनै महंगो सामान नकिनेको मेरो यो खर्च नेपालमा औसत खर्च गर्ने पश्चिमा पर्यटकको भन्दा कैयौ गुणा बढी हो । दुबईले पर्यटकहरू अल्झाउने थुप्रै स्थलहरूको विकास गर्नाले नै मैले बढी खर्च गर्नपुगेको हुँ । खर्च गरेकोमा मलाई पीर छैन । दुबईले आफ्नो देशको बालुवामा विकास गरेको पर्यटनको व्यापक विकास भोग्न पाउँदा बरू म खुशी छु ।
दुःखी यो मानेमा मात्रै छु कि आज बालुवालाई दुबईले ‘ब्रान्ड’ बनाएर लाखौं पर्यटकहरू स्वागत गर्दैगर्दा हाम्रो सुन्दर देश नेपाल भने आफूलाई चिन्न नसकेर पर्यटनको समग्र पूर्वाधार समेत विकास गर्न असमर्थ भएको छ । बुद्धको देशमा, हिमालहरूको देशमा, पशुपतिको देशमा र सुन्दर प्रकृतिले परिपूर्ण यो देशमा पर्यटनको पूर्वाधार विकास र प्रवर्द्धनमा के कति कारणले ढिला भयो ? यसको कति दोष राज्यलाई जान्छ ? व्यवसायी कति दोषी छन् ? स्थानीय कति दोषी हुन् ?
यसको जवाफ खोज्दै पर्यटनको व्यापक विकास गर्ने बेला भएको छ । अझ २०७३ साल त सरकारले नै घोषणा गरेको घुमफिर वर्ष भएकोले पनि यसको सान्दर्भिकता झनै बढेको छ । यस्तो सोच्दासोच्दै म कतिबेला दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थलमा झरेछु, त्यो त विमानको अवतरणको घर्षणपछि पो झल्याँस्स भएर थाहा पाएँ ।
मैले दुबईदेखि काठमाडौंको जहाज उडान समयमा किन किन मेरो यात्राको मूल उद्देश्य डेजर्ट बाइकबारे सोच्नेभन्दा बढी देशको बारेमा पो सोचेछु । ए, साँच्ची त, बिग्रिएको पो छ मोबाइल । एयरपोर्टबाट भक्तपुर आएपछि मोबाइल बनाउन दिएको त त्यहाँ ठाउँको ठाउँ मोबाइल बन्यो । सोचें, दुबईमा नबनेको मोबाइल त नेपालमा बन्यो भने दुबईमा जत्तिको पर्यटन नेपालमा पनि किन फस्टाउँदैन ! @ लोकान्तर |