विश्वको सबै भन्दा ठुलो ‘थान्का’ काठमाडौं , पोखरा र लुम्बिनीमा प्रदर्शन गरिदै

याम्बु ,कार्तिक २३ | नेपाल बौद्ध धर्म संरक्षण समितिले नेपालमा भएको विश्वको सबै भन्दा ठुलो थान्का प्रदर्शन गर्ने भएको छ | थान्का काठमाडौं ,पोखरा र लुम्बिनीमा प्रदर्शनी हुने समितिले प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएको छ |
नेपाली परम्परागत कलामा थाङ्काको स्थान ठुलो छ । बुद्ध धर्मसित जोडिएको यो कला सातौं शताब्दीमै यो नेपालबाट फैलिएको मानिन्छ । अंशु बर्माको पालामा राजा स्रङचङ गम्पोसित बिहे भएर भृकुटी तिब्बत पुगेसँगै नेपालबाट थाङ्का पनि तिब्बत पुगेको विश्वास गरिन्छ । पछि यसको व्यावसायिक विस्तार भयो र अहिले करोडौं आम्दानीको माध्यम बनेको छ यो कला ।
अब भने संसारकै ठूलो र अग्लो थाङ्का नि:शुल्क हेर्न पाइने भएको छ । आउँदो शुक्रबार र शनिबार संसारकै ठूलो थाङ्का काठमाडौंको दशरथ रंगशालामा प्रदर्शनी गरिँदै छ ।
बुद्धको सन्देश विश्वसामु पुर्याउने उद्देश्यले सूर्यबहादुर थकालीले सन् १९९४ मा जापान गएर साथी यासुतादा कातागिरीसँग मिलेर विश्वकै ठूलो थाङ्का चित्र निर्माण गरेका थिए । सन् १९९४ मा थालेर उनीहरूले २००२ सम्ममा यो चित्र बनाएका थिए । ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको यो अहिलेसम्मको विश्वकै ठूलो थाङ्का चित्र हो । लगभग सात हजार वर्गमिटर कपडा प्रयोग गरी ८१ टुक्रामा बुनिएको यो थाङ्का नेपाल, जापान, अमेरिका, कम्बोडिया, दक्षिण कोरिया लगायत १६ मुलुकका १० हजारभन्दा बढी कलाकारहरूले बुनेका हुन् । उक्त ८१ टुक्रालाई ३ हजार २ सय मिटरभन्दा बढी जिपरले जोडिएको छ । यसको तौल १ हजार ९ सय ५ किलो रहेको राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तीन वर्षअघि पनि यसको नि:शुल्क प्रदर्शनी काठमाडौंमै भएको थियो । उक्त प्रदर्शनीको सफलताबाट हौसिएर नेपाल पर्यटन बोर्ड, नेपाल बौद्ध धर्म संरक्षण समिति र एम २१ नेटवर्क जापानले पुन: प्रदर्शनी गर्न लागेका हुन् । नेपालमा प्रदर्शनी पनि जापान लगिएको थाङ्का पुन: नेपाल ल्याइएको थकालीले जनाए । ‘यो थाङ्का अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ,’ उनले भने । प्रदर्शनीको उद्घाटन परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्नेछन् भने यही थाङ्का पोखरा रंगशालामा मंसिर ४ र ५ गते, लुम्बिनीको बगैँचामा मंसिर १० र ११ गते प्रदर्शनी गरिने आयोजकले जनाएका छन् ।
थाङ्कामा बुद्धको जन्मदेखि महापरिनिर्वाणसम्मको जीवनचक्र समेटिएको छ । नेपालसहित जापान, मंगोलिया, भारत र अमेरिकामा समेत यो थाङ्का प्रदर्शनी भइसकेको छ । थकालीका अनुसार यसको निर्माणका लागि जापानिज कपडा कम्पनीहरूले स्पोन्सर गरेका थिए । यसमा प्रयोग गरिएको कपडाको आयु ४ सय वर्ष रहेको उनले दाबी गरे । थाङ्काको ८१ टुक्रामध्ये तीन टुक्रा नेपालमा नै बनेको नेपाल बौद्ध धर्म संरक्षण समितिका प्रदीप श्रेष्ठले बताए ।
‘चीनले थाङ्काका माध्यमबाट बुद्ध धर्मको धेरै प्रचारप्रसार गरिरहेको छ । त्यहाँ २० मिटर लामो थाङ्का रहेको थियो,’ समितिका अध्यक्षसमेत रहेका थकालीले भने, ‘विश्वकै यो ठुलो थाङ्का बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देशसहित बुद्धको जन्मदेखि मृत्युसम्म भएका गतिविधि विश्वसामु चिनाउने सही माध्यम बनेको छ ।’ जापानबाट निकै महँगो हवाई कर तिरेर नेपाल ल्याइएको यो थाङ्का प्रदर्शनीपछि सरकारले नेपालमै राख्ने व्यवस्था मिलाएमा जापान फर्काउनु नपर्ने आयोजकले जनाएको छ ।
लुम्बिनीमा थाङ्का राख्ने व्यवस्था मिलाइदिएमा जापान पठाउनु नपर्ने थकालीले बताए । ‘बुद्धको जन्मस्थलमा संसारकै ठूलो र ऐतिहासिक सम्पदा राख्न सकियो संसारभरका पर्यटकका लागि थप आकर्षण हुन सक्थ्यो,’ उनले भने, ‘सरकारले चाहेमा यो सम्भव छ ।’ नेपाल र जापानको दौत्य सम्बन्धको ६० औं वर्षगाँठको सन्दर्भ पारेर गर्न लागेको प्रदर्शनीले दुई मुलुकलाई जोड्ने जापानी निर्माता यासुतादा कातागिरीले बताए । ‘बुद्ध जन्मेकै थलोमा प्रदर्शनी गर्ने ठूलो धोको थियो,’ उनले भने, ‘यस पटक सफलता मिल्दै छ । खुसी छु ।’
स्वागत र्यालीसहित बिहीबार थाङ्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गाे टर्मिनलबाट नयाँ बानेश्वर, थापाथली, रंगशाला, रत्नपार्क, लैनचौर, बालाजु चोक, स्वयम्भूको बाटो हुँदै मनाङ गुम्बामा लगेर राखिने आयोजकले जनाएको छ ।
कसरी ठूलो ?
७० मिटर लामो, ५० मिटर चौडा
१ हजार ९ सय ५ किलो तौल
करिब ७ हजार वर्गमिटर कपडाको प्रयोग
कपडाका ८१ टुक्रालाई ३ हजार २ सयभन्दा बढी जिपरले जोडिएको
१६ मुलुकका १० हजारभन्दा बढी कलाकारले बुनेको
प्रेस बिज्ञप्तिको पूर्ण अंश: