सौता ल्याएको भन्दै पति मानबहादुर घिसिङ तामाङको हत्या

कात्तिक २३ – सर्लाही हरिवन नगरपालिका-५ की ४५ वर्षकी मस्ती मायाले सौता ल्याएको रिसमा श्रीमान मानबहादुर घिसिङलाई खुर्पी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले छिमेकी र दुई जना ज्वाइँसमेत लगाइ खुर्पीले हानेर श्रीमानको हत्या गरेको प्रहरीलाई बयान दिएकी छिन् । ५० वर्षका श्रीमान मानबहादुर घिसिङले कान्छी श्रीमती ल्याएपछि बोलचालसमेत बन्द गरेकी मस्तीमायाले परवल गोड्दै गरेका श्रीमानलाई पछाडीबाट खुर्पीले हानेर मारेको बयान दिएको प्रहरीले जनाएको छ ।
मानबहादुरको हत्या गर्न सघाएको आरोपमा प्रहरीले हरिवन–५ घुर्कौलीका ४७ वर्षका डेमा दोर्जे, ३१ वर्षका मोहनप्रसाद फुयाल, ३७ वर्षका बिकुराम वाईवा र कालेबहादुर वाईवालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
हत्या भएको प्रहरीले पत्तो पाउने शंका बढेपछि मस्तीमायाले पुनः आफन्तलाई लगाएर खुकुरीले शरिर र टाउको छुट्याउन लगाएकी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा वन रक्षक भई काम गर्दै आएका घिसिङ्गलाई हत्या गर्न प्रयोग भएको खुर्पी र खुकुरीसमेत बरामद भएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।
एक महिनाको लामो अनुसन्धान पछि हत्याको कारण र हत्यामा संलग्नको पहिचान भएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो । हत्याको कारण श्रीमान श्रीमती बिच बिग्रेको सम्बन्ध रहेको साथै थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो |