नेपाल समूह विजेता बन्दै एएफसी सोलिडारिटीको सेमिफाइलनमा पुग्यो

कार्तिक २३, काठमाडौं : नेपाल एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा पुगेको छ। मलेसियाको माराकाना रंगशालामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको समूहको अन्तिम खेलमा ब्रुनाइलाई ३ – ० ले पराजित गर्दै नेपाल सेमिफाइलनमा प्रवेश गरेको हो।
समूह एमा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेलमा पराजित भए पनि नेपालसँगै ब्रुनाइ सेमिफाइनलमा प्रवेश गरेको छ। ब्रुनाइसँगको खेलमा नवयुग श्रेष्ठले गोलको खाता खोलेका थिए। पहिलो हाफको इन्जुरी समयमा नवयुगले नेपालका लागि पहिलो गोल गरे। यस्तै दोस्रो हाफको ७२औँ मिनेटमा नेपालका लागि भरत खवासले दोस्रो गोल गरेका थिए। लगत्तै ७९औँ मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै विमल घर्ती मगरले तेस्रो गोल थपे।
ब्रुनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४ – ० ले हराएको थियो भने नेपालले टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको थियो। सात देश सम्मिलित प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन्। समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन्।