ह्युमेनिटेरियन अवार्डबाट पर्यटन व्यवसायी अंकल तामाङ सम्मानित

काठमाडौं – २३ कात्तिक । पर्यटन व्यावसायी एवं समाजसेवी अंकल तामाङ हृयुमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका छन् । अमेरीकाको लेजियन्स अफ मास्टर्स आर्ट अल अफ फेम नामक संस्थाले तामाङले गरेको सामाजिक कार्यको मूल्याङकन गरी अक्टोबर २२ गते हृयुमेनिटेरियन अवार्डबाट सम्मानित गरेको हो ।
१ सय ८ जना प्रतिस्पर्धि मध्येबाट उत्कृष्ट सामाजिक कार्य गरेबापत आफुलाई हृयुमेनिटेरियन अवार्डबाट सम्मानित गरेको तामाङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि दिए ।
तामाङलाई प्रदान गरिएको अवार्ड नेपालमै पहिलो हो । तामाङले नेपाल कोरिया कल्चरल एक्सचेञ्ज एण्ड सोसियल अर्गनाइजेसन स्थापना गरी सन् २०११ देखि १९ जना अनाथ, असहाय र गरिब बालबालिकाहरुलाई छात्रावृत्तिमा विभिन्न विद्यालयहरुमा अध्ययन गराउनुका साथै मासिक २ हजार भत्ता समेत उपलब्ध गराउँदै आएका थिए ।
यस्तै तामाङले आफ्नो संस्थामार्फत गतवर्ष गएको भूकम्पमा २ करोड बराबरको राहत समाग्री उपलब्ध गराउनु साथै काभ्रेमा ३० वटा अस्थायी घर निमार्ण गरेको थिए । पर्यटन व्यावसायी समेत रहेका तामाङले सन् २०१७ भित्र ३ सय ६५ वटा स्थायी घर बनाउने तयारी गरेको बताए ।