हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

गोपाल योञ्जनले रत्नशमशेर थापालाई लेखेको पत्र

दार्जिलिङबाट नेपाल आएर धेरै संगीतकर्मी र कलाकारले कुनै समय नेपाली संगीतमा एउटा युग रचे । त्यसमध्येका एक थिए गोपाल योञ्जन । संगीत सिर्जना मात्र होइन, गीत रचना र गायनमा पनि उत्तिकै दखल राख्ने उनको बहुआयामिक पाटो थियो ।

त्यो समयमा कसको चाह थिएन होला र उनको संगीतमा गाउने तथा आफ्नो गीतमा उनले संगीत भराउने । तर, त्यसबेला यस्ता व्यक्ति पनि थिए, जसले गोपाल योञ्जनले म संगीत भर्छु भनेर रचना माग्दा दिएनन् । उनी हुन् कवि तथा गीतकार रत्न शमशेर थापा ।

रत्नसँग कुनै समय योञ्जनले संगीत भर्छु भन्दै उनको एउटा मुक्तक मागेका थिए । त्यो मुक्तकमा दुई-चार पंक्ति थपेर गीत बनाइदिन गोपाल योञ्जनले आग्रह गरेका थिए ।

तर, रत्नलाई यो कुरा मञ्जुर भएन । कतिसम्म भने, योञ्जनले त्यो मुक्तकमा ‘पुच्छर’ अर्थात् अन्तरा थप्न अनुनय गर्दै दार्जिलिङबाट रत्नलाई चिठी नै लेखे । फेरि पनि उनले त्यो आग्रहलाई टारिदिए ।

रत्न सम्झिन्छन्, ‘मुक्तकलाई गीत बनाउन अरु लाइन थप्न थाल्यो भने त्यसको ब्यूटी नै मर्छ । त्यही भएर मलाई त्यो कुरा मञ्जुर भएन ।’अतीतको त्यो प्रसंग उप्काउने क्रममा रत्न पुग्छन् ०२३ सालतिर । जुन बेला योञ्जन दार्जिलिङमै थिए, संघर्षको डुंगा खियाउँदै थिए ।

एउटा साहित्य सम्मेलनमा सहभागी हुन साहित्यकारको एक टोली झापा पुगेको थियो । सम्मेलन सकिएपछि केही साहित्यकार राजधानी फर्किए । रत्न शमशेर, विजय मल्ल, मोहन हिमांशु थापा, ध्रुवचन्द्र गौतम लगायत लेखकहरु भने त्यतैबाट दार्जिलिङ लागे ।

दार्जिलिङमा उनीहरुको सम्मानमा कार्यक्रम आयोजना गरियो । त्यहाँ रत्नले मुक्तक सुनाए –

कुल्ची हिँड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन,
त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो ।

मुक्तकले श्रोताबाट निकै ताली पायो । कार्यक्रममा गोपाल योञ्जन पनि आएका रहेछन् । उनले मुक्तक मन पराएर संगीत भर्ने इच्छा देखाए । रत्न भन्छन्, ‘त्यहीँ योञ्जनले मसँग यो मुक्तकलाई तन्काएर गीत बनाउन भनेका थिए ।’

योञ्जन र नगेन्द्र थापा त्यतिबेला दार्जिलिङमा बीए पढ्दै थिए । योञ्जनले त्यो समयमा संगीत सम्बन्धी हिमालय कला मन्दिर नामक संस्था खोलिसकेका थिए ।

कार्यक्रमपछि नेपाली लेखकहरुले दार्जिलिङ
कार्यक्रमपछि नेपाली लेखकहरुले दार्जिलिङका स्थानीय ठाउँहरू घुमघाम पनि गरे । योञ्जनको घरमा पनि गए रत्न । घरमा योञ्जनकी आमा र दिदी रत्नको गफ सुनेर औधि रमाए ।

घुमघामकै क्रममा रत्नको स्वास्थ्यमा समस्या देखियो । ‘ब्लडप्रेसर लो भएर गाह्रो भएपछि म चाँडै काठमाडौं फर्किएँ’, उनले सुनाए ।

केही दिनमा अलि तंग्रिएपछि उनले काठमाडौंबाट योञ्जनलाई चिठी लेखे, ‘उपचार हुँदै छ, ठीक हुँदै छु’ बेहोराको ।

उताबाट योञ्जन र नगेन्द्रले एउटै पानामा फरक-फरक सम्बोधन गर्दै रत्नलाई जवाफी चिठी फर्काए । योञ्जनले लेखेको चिठीमा रत्नको त्यही मुक्तकमा संगीत भर्ने तीव्र इच्छा अझ छताछुल्ल थियो ।

चिठी यस्तो थियो –

२ अप्रिल १९६७
रत्नजी,
हिज मात्र अलपत्र परी रहेको बेलामा तपाईंको पत्र पाएर ढुक्क भएँ, नत्र फेरि अलमल ।

जाने साथ थलिनुभो भनेको सुनेर दुःख लाग्यो । तपाईँ त बिमारी हुनै रैछ आखिरी, यहीँ बिरामी हुन पथ्र्यो नी बरु ! हामी केही दिन भए पनि तपाईको मिठा मिठा गफहरुमा छाति र गला खोलेर हाँस्न सक्थ्यौं । साँच्चै ! रत्नजी तपाइँसित हामी कति हाँस्यौं, त्यो सम्झँदा त्यति नै रुन मन लाग्छ । कति मजा भएको थियो नी ? धुम्मिएको दिन उज्यासलएको थियो साँच्चै हाम्रो निम्ति तपाईँ र हिमांशुलाई दुई दिन साथ पाएर । यति कम समय लिएर आउनु भो, म त सपना पनि त्यो भन्दा त लामो देख्छु ।

र अरु कुरा ! मीतज्यूलाई चिठी लेखेको छु, ‘सो’ गर्ने बारे । यो पत्रले सायद तपाईंलाई उठेरै पाउँछ, पाओस् । तपाईंको पंक्ति ‘किल्ची हिँड…’ मलाई यति मिठो लाग्यो, सोचेँ मैले आफ्ना तमाम गीतहरु भुलेको छु । धुन पनि भरेँ, अब चाहियो त्यसको पुच्छर । त्यसको पुच्छर जोड्नु होला ।

तपाईंले यो झैं अहिले संगीत बन्द छ भनौं । पढाइ अलिअलि हुँदैछ । हुनै पर्ने रहेछ । हिमांशुजीको पत्र अझै पर्खिरहेको छु । भनिदिनु होला ।

आजलाई यति ।
माया, सम्झना ।

ओ हो ! तपाईंले गाउनुभएको ती दुई लाइन त लेख्नै पो बिर्सेछु !
मेरो प्यारको मोती तिम्रो पाउभरी छरिदिन्छु
मलाई बोलाऊ एकैपल्ट, मरे पनि आइदिन्छु ।

– गोपाल योञ्जन

गोपाल योञ्जनले रत्नशमशेर थापालाई लेखेको पत्र

gp
यसको जवाफमा रत्नले केही पठाएनन् । ‘मैले त दार्जिलिङमा भेटेकै बेला मुक्तकमा थप पंक्ति गाँस्न मिल्दैन भनिसकेको थिएँ,’ कमलपोखरीस्थित घरमा उनले विगत सम्झिए ।

रत्न र योञ्जनको सांगीतिक सहयात्राको थालनी यो मुक्तकबाट हुन सक्थ्यो, तर त्यो संयोग त्यत्तिकै टर्‍यो । यसमा उनलाई कुनै पछुतो भाव छैन ।

रत्न शमशेरले ०१२/१३ सालताका लेखेका त्यही मुक्तक आज आएर अहिलेका जल्दाबल्दा गायक राजेश पायल राईले गाएका छन् । हरि लम्सालले संगीत दिएको गीत राजेशको ‘दर्शन नमस्ते ३’ एल्बममा समेटिएको छ ।

६० वर्षपछि आफ्नो मुक्तक गीतको रुपमा आउँदा रत्न तृप्त छन् । रत्नका अनुसार, नेपाली गीति इतिहासमा यो नौलो प्रयोग हो । ‘अहिलेसम्म मुक्तक यसरी गीतका रुपमा संगीतबद्ध भएर आएको छैन सायद’, उनले भने, ‘गजबको प्रयोग भयो ।’

रत्नले कवि गोष्ठी र सम्मेलनहरुमा यो मुक्तक धेरै चोटि सुनाएका छन् । नाट्य सम्राट् बालकृष्ण समले त कार्यक्रमहरुमा यसलाई दोहोर्‍याई-तेहेर्‍याई सुनाउन लगाउने गरेको उनी सम्झन्छन् । कवि गोष्ठीहरुमा रत्न यो सहित अरु दुई-तीन वटा मुक्तक बढीजसो सुनाउँथे ।

गायक राजेश पायलले यो मुक्तक आफूले गाउन पाऊँ भनेर रत्नसँग मागेका थिए । गत वर्ष भूकम्प जानुअघिको कुरा हो, कमलपोखरीमा राजेशले रेस्टुरेन्ट सञ्चालन गरेका थिए । घर नजिकै भएकाले रत्न त्यतातिर टहलिन गइरहन्थे । त्यसै क्रममा राजेशले उनको मुखबाटै यो मुक्तक सुन्न पाएका थिए ।

गाउने भनेर अति सम्मानपूर्वक मागेपछि रत्नले हुन्छ भनिदिए । तर, चार लाइनको मुक्तक गाउँदा छोटो हुने भन्दै राजेशले पनि गोपाल योञ्जनले जस्तै यसमा केही पंक्ति थपिदिन आग्रह गरे । यसपालि पनि उनले इन्कार गरे ।

चार लाइनकै गीत हुने भयो । जब मुक्तकमा संगीत भर्ने क्रम अगाडि बढ्यो, रत्न झन् विश्वस्त भए । संगीतकार लम्सालले उनीसँग भने, ‘तपाईंलाई चित्त नबुझेसम्म सय वटा धुन बनाउन पनि तयार छु ।’

यस्तो सुन्न पाउँदा रत्न दंग परे ।

तर, लम्सालले सय वटा धुन बनाउने सास्ती खेप्नैपरेन । तीन-चार वटा धुनमध्येकै एउटा धुनले रत्नको चित्त बुझ्यो । उनले भने, ‘संगीत भरिएर आएपछि आफ्नो रचनालाई न्याय भए जस्तो लाग्यो ।’

जम्मा चार लाइनको मुक्तक पनि साढे पाँच मिनेट हाराहारीको गीत बन्न सक्दो रै’छ भनेर उनले प्रफुल्ल मुद्रामा सुनाए ।

आफ्नो मुक्तक कुनै दिन यसरी गीतका रुपमा रेकर्ड भएर आउला भन्ने रत्नले सोचेकै थिएनन् । तर, यो गीत मात्र बनेन, यसमा केही सुखद संयोगहरु पनि जोडिए । राजेशको स्वरमा रहेको गीतको उठान गर्दा महानायक राजेश हमालको मुक्तक वाचन पनि राखिएको छ ।

‘कुल्ची हिँड’ बोलको यो मुक्तकमा प्रेमिल प्रसंग रहेकोले धेरैले कतै रत्नको व्यक्तिगत जीवनसँग यसको साइनो छ कि भनेर अनुमान लगाउने गर्छन् । हुन पनि अधिकांश कार्यक्रम र गोष्ठीहरुमा जाँदा उनी अक्सर यही मुक्तक रोज्छन् र टाठो स्वरमा वाचन गर्छन् ।

उनले यो टुक्रा प्रेमले पुलपुलिएर वा असाध्यै विरक्तिएर लेखेका हुन् त ?

उनले यसलाई ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ उक्तिबाट प्रष्ट पार्न खोजे । भने, ‘कविले सबै कुरा आफूले बाँचेको र भोगेको मात्र लेख्छ र ? यस्तो भएको भए कस्तो हुँदो हो भन्ने कल्पना गरेर पनि त लेख्छ नि !’

प्रस्तुति: जोतारे धाइबा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution