नेपाल विद्युत प्राधिकरणका निर्देशकमा कुलमान घिसिङ आएपछि तिहारमा राजधानी लोडसेडिङ मुक्त

१६ कातिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङले जिम्मेवारी सम्हालेपछि यस पटको तिहारमा राजधानी लोडसेडिङ मुक्त भएको छ । अघिल्लो बर्षहरुमा राजधानीमा साझपख दैनिक रुपमा लोडसेडिङ हुँदा हैरान खेप्दै आएका राजधानीबासीले यस पटको तिहारमा भने लोडसेडिङको पीडा खेप्नु परेन ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङकै पहलमा राजधानीमा लोडसेडिङ हटाइएको थियो । निर्देशक घिसिङले तिहारमा मात्र होइन आगामी केही समयपछि राजधानी काठमाडौलाई लोडसेडिङ मुक्त पार्ने योजनामा आफू प्रतिबद्ध भएर लागेको समेत बताएका छन् । उनले भने,‘राजधानीमा मात्र होइन देशभर नै लोडसेडिङ मुक्त बनाउने योजना हामीले बनाएका छौ, हामी सफल हुन्छौ, हामीले तिहारमा राजधानीमा लोडसेडिङ हुन दिएनौ ।’
राजधानीमा लोडसेडिङ नहुदा राजधानीबासीले देउसी भैला सहज ढंगले खेल्नुको साथै झिलिमिली बत्ती घरमा सजाएर राजधानीलाई बेहुलीजस्तै सिंगारेका छन् । घिसिङले आफ्नो फेसबुक राजधानीलाई लोडसेडिङ मुक्त बनाउन भूमिका खेल्ने सबै टिमलाई धन्यवाद दिएका छन् ।
घिसिङले केही बर्षभित्र नै नेपाललाई लोडसेडिङ मुक्त बनाउनको लागि ठूला विद्युत आयोजनाहरु तीब्रताको साथ अगाडि बढाउने बताएका छन् । नेपालमा हाल १४ सय मेघावाट विद्युतको माग हुने गरेपनि मुस्किलले ७ सय मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको छ । नेपालीले हाल दैनिक ५ घण्टा लोडसेडिङ खेप्दै आएका छन् । @ रामेछापन्युजस् |