मकाउमा गुरूङ भाषाको चलचित्र फ्रिसी (यूवा) प्रदर्शन हुने

मकाउ | ह्वाईट लोटस स्टुडियो प्रालिको ब्यानरमा निर्माण भएको गुरूङ भाषाको कथानक चलचित्र फ्रिसी(यूवा) आउने ३ नोभेम्बर २०१६ दिन मकाउ स्थित काम्पेक कम्युनिटी हलमा प्रदर्शनी हुने भएको छ | उक्त चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी भई सकेको कुरा तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरूङले जानकारी दिए |
मकाउमा स्थापना भएको तमु समाज मकाउको सहयोगार्थ र बिदेशी भूमिमा रहेर पनि आफ्नो रीति, रीवाज, कला, संस्कृतिको जगेर्ना गराउने सोचले नै मकाउमा चलचित्र प्रदर्शनी गर्न लागेको चलचित्र प्रदर्शनी कार्यक्रमका संयोजक सिक्लेसबासी लेख बहादुर गुरूङले बताउनु भयो |
गुरूङ जातिको मुल बस्ति मध्यको एक अनुपम बस्ति कास्कीको सिक्लेसमा छाँयाङ्कन गरीएको उक्त चलचित्रमा सिक्लेसका अनुपम दृष्यहरूलाई कैद गरीएको छ।प्राकृतिक र सामाजिक रूपमा परिचित सिक्लेस राजनैतिक पृष्ठ भूमिमा पनि त्यति नै महत्वपूर्ण छ।
१० बर्षे माओबादी द्वन्दकालमा तत्कालिन सरकारका गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले सिक्लेसबाटै माओबादीका प्रमुख हस्ति कमरेड प्रचण्ड र बाबुराम भट्टराईलाई बालुवाटार प्रवेश गराई सार्वजनिक गर्न सफल भएका थिए। सिक्लेस आफैमा महत्वपूर्ण साथै रमणीय स्थल भए पनि अझै यो गुरूङ चलचित्र फ्रिसीले आधुनिक रूपमा समाजका बिकृति बिसंगतिहरूलाई यथार्थतामा चित्रण गरेको छ।
मकाउमा प्रथम पटक अभियान फिलिम प्रालिको ब्यानरमा निर्माण भएको गुरूङ भाषाको चलचित्र पछ्यौरी सन २००७ को नोभेम्बर ११ मा प्रदर्शनी गरीएको थियो भने त्यस यता पाँचौ प्रस्तुतिका रूपमा गुरूङ भाषाको चलचित्र फ्रिसी प्रदर्शन गर्न लागिएको हो।
उक्त चलचित्रको निर्देशन योग बहादुर गुरूङले गर्नु भएको छ। भने निर्माताहरू बिदेशीभूमिमा कार्यरत रहेका गुरूङ समुदायका ब्यक्तिहरू छन।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार याम कुमार (त्रिलोक) गुरूङबाट गरीने र उक्त कार्यक्रममा मकाउमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई अतिथिका रूपमा निमन्त्रणा गरी सकेको छ।
तमु समाज मकाउले मकाउमा कार्यरत रहनु भएका सबै जातजाति भाषा भाषीहरूलाई कार्यक्रममा उपस्थिति जनाई दिनु हुनका लागि हार्दिक अनुरोध गरेको छ।