आदिवासी समुदायहरु पनि तिहार धुमधामका साथ मनाउने गर्छन्

काठमाडौं – परम्परादेखि मानिँदै आएको तिहार आदिवासी जनजाति समुदायले पनि धुमधामसाथ मनाउने गरेका छन् । ‘हिन्दुहरूको दोस्रो महान् चाड’ भन्ने गरिए पनि यो चाडमा खेलिने देउसीलाई लिम्बू र मगर समुदायले ‘बलिहाङ’ (बलिराजा) को दीर्घायुको कामना गर्दै मनाउने गर्छन् । ‘बलिहाङ तङनामको नाममा देउसी खेल्ने गरिन्छ,’ किरात याक्थुङ चुम्लुङका महासचिव प्रेम एक्तेन भन्छन्, ‘मुन्धुमी आधारमा भाइटीका लिम्बू समुदायको होइन, तर चलनचल्तीमा छ ।’
त्यसैगरी किरात राईहरूले ‘तित्हार’का रूपमा मनाउने गरेको संस्कृतिविद् तीर्थराज मुकारुङ राई बताउँछन् । परापूर्वदेखि चल्दै आएको चाडलाई हिन्दुमिथ जोडेर राज्यले प्राथमिकता दिएपछि अन्य समुदायको मौलिकता ओझेलमा परेको उनले बताए । ‘राईहरूले तित्हार भनेर मनाउने गरेका छन्,’ किरातीले काग, कुकुर, गाई, गोरुको पूजा नगर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘तित्हार भनेको चेलीले माइतीलाई कपडाको मालामा सयपत्री, मखमली फूल उनेर लगाइदिने परम्परा हो । मुन्धुममा उल्लेख हेच्छाकुप्पा भाइलाई दुई दिदी तायामा र खियामाले बोलाएर रंगीन टीका र तित्हार लगाइदिन्छन् ।’ डाँफे र मयूरको सप्तरंगी प्वाँखको प्रतीकका रूपमा टीकालाई लिइने राईले बताए । यद्यपि किरातजन्य संस्था किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र किरात राई यायोक्खागत रूपमा उधौली मंसिरे पूर्णिमा र उभौली वैशाखे पूर्णिमा किरात चाडका रूपमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।
नेपाल मगर संघका अध्यक्ष नवीन रोक्का मगर तिहारमा पितृपूजा गरेर बलिहाङलाई मृत्युबाट जोगायौं भन्दै देउसी खेल्ने परम्परा रहेको बताउँछन् । ‘हामी पुर्खाहरूको पूजा गर्छौं,’ बलिहाङ लोकप्रिय र चर्चित पुर्खा रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘बलिहाङको नाममा भैलो खेल्छौं । प्रकृति र मानव समुदायको उपकार गरेको हुनाले पुख्र्यौली शासक बलिहाङलाई सम्झने परम्परा रहेको छ ।’ राप्ती, धौलागिरी, लुम्बिनी, गण्डकी क्षेत्रजस्ता मगरको मूलथलोमा दुईदेखि चार दिनसम्म घरैपिच्छे भैली खेल्ने चलन रहेको उनले जनाए । संस्थाकै मागअनुसार मगर समुदायले माघेसंक्रान्तिलाई राष्ट्रिय चाडका रूपमा मनाउने गरेको छ ।
तामाङ समुदायमा प्रमुख चाड ल्होछार हो । तर राज्यको प्रभावले तिहार मनाउने परम्परा रहेको नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ बताउँछन् । ‘संस्थागत हिसाबले दसै, तिहार हाम्रो पर्व होइन,’ २०४६ सालपछि मौलिक चाडलाई प्राथमिकता दिने क्रम बढेको उल्लेख गर्दै उनले भने, ‘चाड मनाउने, देउसी खेल्ने, नेपाल संवत्, छठ मनाउने समुदायलाई हाम्रो शुभकामना छ ।’ सबै समुदायको चाडपर्वप्रति सद्भाव जनाउन अनिवार्य रहेको उनले बताए ।
तमु ह्युल छोजधि (गुरुङ राष्ट्रिय परिषद्) का अध्यक्ष रेशम गुरुङ संस्थागत रूपमा ल्होसारलाई राष्ट्रिय चाडका रूपमा मनाइने बताउँछन् । ‘राज्यले प्राथमिकता दिएको चाड तिहार समाजमा मनाउने चलनलाई नकार्न सकिँदैन,’ हिन्दु संस्कृतिको प्रभाव भएको उल्लेख गर्दै उनले भने, ‘तर ल्होसार, माङीदिनालगायत चाडमात्र गुरुङ जातिका मौलिक चाड हुन् ।’
किरात राई यायोक्खाका महासचिव जीवन हाताचो राई मुन्धुममा उल्लेख माइती र चेलीको घनिष्ठता जनाउने उल्लेख रहेकाले तिहारको महत्त्व रहेको बताए । ‘तिहारले किरातीहरूको माइती र चेलीको महत्त्वलाई अंगिकार गर्दछ,’ प्रकृति पनि शरद ऋतुमा परेकाले सुरम्य चाड बनेको उल्लेख गर्दै उनले भने, ‘बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हुनु, प्रकृति पनि अनुकूल हुनुले जुन–जसको चाड भए पनि हामी एकले अर्को समुदायबीच यी चाडलाई सौहार्दपूर्वक मनाउने परम्पराको विकास हुनु ज्यादै राम्रो पक्ष हो ।’
पूर्वसभासद गोविन्द चेपाङका अनुसार चेपाङ जातिले दसै, तिहार धुमधामसाथ मनाउँछन् । समुदायमा देउसी खेल्ने परम्परा रहेको पनि उनले सुनाए । समुदायले तिहारलाई आर्थिक संकलन गर्ने अवसरका रूपमा समेत लिने गर्छन् । जसले गर्दा सामाजिक कार्यमा लगानी गर्न सहज बन्ने चेपाङले उल्लेख गरे ।
– गणेश राई@ इकान्तिपुर |