नेपाल संवत् ११३७ को अबसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौँ, १४ कात्तिक – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले नेपाल संवत्को उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ।
सन्देशमा भनिएको छ– “नेपाल संवत् नेपालको मौलिक संवत् हो । जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शङ्खधर साख्वाःले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो ।’’ नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति साख्वाःले पु¥याउनुभएको योगदान सबैका लागि प्रेरणादायी भएको प्रधामन्त्रीले बताउनुभएको छ।
सन्देशमा भनिएको छ – “आजको २१औँ शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र देशको स्वाधीनताको रक्षा गर्न सकिन्छ।”
नयाँ संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेकाले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्ने आफूले विश्वास लिएको प्रधानमन्त्रीले बताउनुभएको छ।
गणतन्त्र स्थापनापछि आफ्नै प्रधानमन्त्रीत्वकालमा नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा घोषणा गर्ने अवसर मिलेको स्मरण गर्दै अहिले नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा रहेको सन्देशमा उल्लेख छ। रासस