तामाङ साँस्कृतिक भवन निर्माण गर्न समिति गठन

कार्तिक ८, याम्बु : नेपाल तामाङ घेदुङको सचिवालय बैठकले तामाङ साँस्कृतिक भवन निर्माणको लागि जग्गा ब्यवस्थापन गर्न अध्यक्ष मोहन गोलेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । बैठकले विभिन्न समितिहरुलाई समेत पूर्ण रुप दिएको छ ।
भवन निर्माण समितिका सदस्यहरुमा प्रमूख सल्लाहकार कुमार योञ्जन, सचिव रामकृष्ण ब्लोन, कोषाध्यक्ष रुपबहादुर योञ्जन, सहकोषाध्यक्ष मिना तामाङ, अनुशासन विभाग प्रमूख प्रेम मोक्तान र अनुसन्धान विभाग प्रमूख कुयाङ लामा रहेका छन् ।
त्यसैगरि महिला, युवा, ताम्बा र बोन्बो घेदुङ गठनको लागि समेत जिम्मेवारी तोकेको छ । महिलातर्फ उपाध्यक्ष सीता लामा गोलेको संयोजकत्वमा सचिव सञ्चु ब्लोन तामाङ र प्रकाशन विभाग प्रमूख मीना लामा रहेको तीन सदस्यीय समिति गठन गरेको छ भने युवातर्फ तेजबहादुर तामाङ (उपाध्यक्ष, भातृसंगठन समन्वय प्रमूख), लामातर्फ पाल्साङबज्र लामा (सचिव, कार्यालय समन्वय प्रमूख) र ताम्बा र बोन्बो घेदुङ गठनको लागि यसअघिकै महासचिव बाबु घिसिङ र उपाध्यक्ष कुमार घिसिङ ज्यूलाई दिइएको जिम्मेवारीलाई सदर गरेको छ ।
त्यस्तै तामाङ जातिको महत्वपूर्ण दिवसहरु र तामाङ समुदायलाई चिनाउने राष्ट्रिय विभूतिहरुको स्मृति दिवसको बारेमा प्रदेश, जिल्ला तहसम्म जानकारी नहुँदा प्रभावकारी रुपमा मनाउन नसकेको भन्दै खोज÷अनुसन्धान गरि ल्होछार अगावै क्यालेण्डर प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।
तामाङ समुदायको दिवंगत राष्ट्रिय ब्यक्तित्वहरुको जीवनी समेटिएको पुस्तक समेत प्रकाशनको लागि भाषा, लिपि तथा साहित्य विभाग प्रमूख काजिमान तामाङको संयोजकत्वमा सञ्चार विभाग प्रमूख जगत दोङ तामाङ, अनुसन्धान विभाग प्रमूख कुयाङ लामा तामाङ, प्रकाशन विभाग प्रमूख मीना लामा तामाङ र सचिव पाल्साङबज्र लामा सदस्य रहेको समिति गठन गरेको छ । उक्त समितिलाई म्हेनिङ, गोनेया पर्व लगायत तामाङ जातिसँग सम्बन्धित विभिन्न पर्वहरुको बारेमा घेदुङले आधिकारिक निर्णय लिनुपर्ने भएको हुँदा सो सम्बन्धि खोज÷अनुसन्धान सुरु गर्न र छलफलको कार्यक्रमहरु प्रारम्भ गर्न समेत जिम्मेवारी दिएको छ ।
बैठकले आगामी मंसीर २५ गते राष्ट्रिय कार्यकारिणी समितिको बैठक गर्ने समेत निर्णय गरेको छ ।
घेदुङको संशोधित बिधानले प्रदेश अध्यक्षहरुलाई विगतको क्षेत्रीय प्रमूखको भन्दा तल्लो हैसियतमा राखेको र यसले केही स्थानमा केन्द्रीय सदस्य र प्रदेश अध्यक्ष बीचको मर्यादाक्रममा समस्या समेत आएको तर्फ गम्भीर छलफल गरि सो सम्बन्धि सल्लाहकारज्यूहरुसँग परामर्श लिई राकास बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको छ ।
बैठकले तामाङ जागरण अभियान सञ्चालन गर्न पूर्णकालिन कार्यकर्ता परिचालन गर्नुपर्ने आवश्यकता महसुस गरि योग्यता, क्षमता र समय दिनसक्ने आधारमा पूर्णकालीन कार्यकर्ता परिचालन कार्य्विधि बमोजिम पूर्णकालीन र अल्पकालीन दुवैखाले कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको महासचिव बाबु घिसिङले बताए ।
यसैगरी नेपाल तामाङ घेदुङको सल्लाहकार समितिमा पूर्व कार्यवाहक अध्यक्ष कुमबहादुर योञ्जन, सांसद तथा समाजसेवी तिर्थ लामा तामाङ, समाजसेवी धावा लामा तामाङ र पूर्व उपाध्यक्ष सुजेन्द्र गोले तामाङलाई सल्लाहकार समितिमा मनोनयन गरेको छ ।