महावीरको आविष्कार केन्द्रलाई हङकङमा देउसी खेलेर ४० लाख सहयोग

कार्तिक ७, काठमाडौं : महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविष्कार केन्द्रका निम्ति हङकङमा खेलिएको देउसी–भैलो कार्यक्रममा करिब ४० लाख रुपियाँ सहयाेग संकलन गरिएकाे छ।
म्याग्दी प्रवासी नेपाली संघ, हङकङ (मोना) ले यसपालिको भैलोलाई उपलब्धिमूलक बनाउने भन्दै आविष्कार केन्द्रका निम्ति आर्थिक जोहो गर्न अाइतबार भैलोको आयोजना गरेको थियो। हङकङको मंकीहिल कन्ट्रीपार्कमा अायोजना गरिएको सो देउसी भैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीहरुले यो जम्मा गरेका हुन्।
अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेको जानकारी मोनाका तर्फबाट कार्यक्रम संयाेजक दल सेर्बुजाले जानकारी दिए। भने, ‘यस कार्यक्रमबारे ३ कार्तिकमा नेपालखबरमा समाचार छापिनासाथ फोन र म्यासेजबाट सहयोग गर्न चाहन्छु भन्ने मनकारीहरुको ताँती नै लागेको थियो। ३ दिनभित्रै ५० हजार हङकङ डलर दिनेहरु निस्केका थिए।’
बाँकी रकम आजको कार्यक्रम स्थलमा उठेको जानकारी उनले दिए।