दार्चुलामा बस दुर्घटना हुँदा १७ घाइते,एक बालकको अवस्था गम्भीर

फाइल फोटो
कार्तिक ३,दार्चुला : दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नम्बरको यात्रुवाहक बस आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालकको लापरबाहीले दुर्घटना भएको बताए । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
‘बसमा रहेका प्रत्यक्षदर्शीका अनुसार चालक सुरेन्द्र कुँवर एक हातमा मोबाइलमा कुरा, अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको हो’, प्रहरी नायब निरीक्षक धामीले भने, ‘यात्रुहरुले त्यो नगर्न भन्दाभन्दै बस दुर्घटना भयो ।’
चालक कुँवरको खोजी भइरहेको छ ।