इराकको मोसुल शहरमा आइएसविरुद्ध कारबाही सुरु-प्रधानमन्त्री हैदर अलि अवादी

कात्तिक – १ । इराकको मोसुल शहरलाई आइएस लडाकुको कब्जाबाट मुक्त गराउने उद्देश्यले सोमबार बिहानबाट सैन्य कारबाही सुरु भएको छ ।इराकी प्रधानमन्त्री हैदर अलि अवादीले भनेका छन्, ‘युद्धको समय आएको छ र मोसुललाई मुक्त गर्ने कारबाही सुरु गरिएको छ । आज म उदघोष गर्दछु कि यो लडाइँले देशलाई आतंकवादबाट मुक्त बनाउने छ ।’
आक्रमण सुरु गर्नु अघि शहरका पर्चा वितरण गरी स्थानीयबासीलाई पूर्वसूचना दिइएको थियो । लडाइँको घोषणा पछि तोप र बन्दुकबाट गोली चलाइएको थियो ।
मोसुल इराकको दोस्रो ठूलो शहर हो जसलाई आइएस लडाकुहरुले सन् २०१४ देखि नै नियन्त्रणमा लिएका छन् । यस शहरमा करीब सात लाख जनसंख्या रहेको अनुमान छ । शहर आसपासमा करीब १२ लाख मानिसको बसोबास रहेको बताइन्छ । त्यसैले संयुक्त राष्ट्रसंघले यस लडाइँले गम्भीर मानवीय असर पर्न सक्ने चेतावनी दिएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मोसुल शहरलाई मुक्त बनाउने लडाइँमा करीब २५ हजार सैनिक परिचालन गरिएको छ । यसैगरी आइएसका करिब ८ हजार लडाकू रहेको अनुमान गरिएको छ ।
इराकी सैनिकहरु मोसुल भन्दा करिब ६० किलोमिटर टाढा क्याराह शहरको एक स्थानमा शिविर बनाएर बसेका थिए । क्याराहलाई अगस्ट महिनामा आइएसको कब्जाबाट मुक्त बनाइएको थियो ।