एयरपोर्टमा लिन आउँछु भन्ने श्रीमती १० लाख लिएर अर्कैसंग भागेपछि …

कात्तिक १ – सर्लाहीको नारायाणखोला ८ का दानबहादुर राना तीन वर्ष मलेसिया बसेर घर फर्कंदै हुनुहुन्थ्यो । श्रीमतीले भनेकी थिइन् ‘एयरपोर्टमा लिन आउँछु ।’ घर फर्किंदै गर्दा दानबहादुरले सोच्नुभयो ‘तीन वर्ष बस्दा ८,१० लाख कमाएकै छ, त्यही पैसा नेपालमा लगानी गर्छु । अब चाहिँ विदेश फर्किन्न ।’
तर जब त्रिभुवन विमानस्थलमा जहाजबाट ओर्लिनुभयो, लिन आउँछु भनेकी श्रीमतीको फोन लागेन । सुरुमा किन फोन लागेन भन्ने खुट्याउन सक्नुभएन दानबहादुरले । श्रीमती आउँछिन् होला भन्ने आशाले बसिरहनुभयो ।
केही बेर बसेर विमानस्थलबाट निस्किँदा श्रीमती नभेटेका उहाँ श्रीमती आउने आशामा तीन दिनसम्म काठमाडौंमा दिदीको घरमा गएर बस्नुभयो । तीन दिनपछि पो थाहा भयो श्रीमती त अर्कैसँग पो हिँडिछिन् । त्यो पनि मलेसिया हुँदा आफूले कमाएर पठाएको झण्डै दश लाख रुपैयाँ लिएर । केहीबेर पत्याउन गाह्रो भयो उहाँलाई । ‘आफैंले म तपाईंलाई लिन आउँछु भनेको मान्छे अर्कैसँग जान्छ भन्ने कसरी सोच्नु र’ दानबहादुरले त्यो क्षण सम्झिनुभयो ।
श्रीमतीले नयाँ जिन्दगी सुरु गरिसकेकी थिइन । त्यसैले चित्त बुझाउनु बाहेक अरु कुनै विकल्प नदेखेका दानबहादुरले पनि नयाँ जिन्दगी सुरु गर्नपर्ने थियो । एक्लै । ‘घर पुग्दा मन कटक्क खान्थ्यो’ दानबहादुर भन्नुुहुन्छ । दुई जना छोरा मामाघरमा बसेर पढिरहेका थिए । त्यसैले एक्लै हुँदा पनि हतास हुनुभएन । आँट बटुल्नुभयो ।
नयाँ आँट, नयाँ जीवन
आखिर विदेश गएर पनि के नै भयो र भन्ने लागेपछि उहाँले नेपालमै बसेर केही गर्ने सोचेर बाख्रा पाल्न थाल्नुभयो । धेरै नबुझि बाख्रा पाल्दा झण्डै ३० हजार रुपैयाँ घाटा भयो उहाँलाई । त्यतिबेला पनि पछि हट्नुभएन । बरु सिन्धुलीतिर डुल्न जाँदा देखेको बंगुर पालनले लोभ्यायो उहाँलाई । उहाँले खोलाको किनारमा खोर बनाएर बंगुर पालेको देख्नुभयो । त्यसरी खोलाकै किनारमा बंगुर पाल्ने धेरै थिए । ती खोरमा कसैले एउटा त कसैले दुई वटा मात्रै बंगुर पालेका थिए । बंगुर पालेको ठिक लागेपनि तरिका मन परेन । त्यसैले त्यो भन्दा व्यवस्थित तरिकाले व्यावसायिक रुपमै बंगुर पाल्ने सोच्नुभयो ।
अनि उहाँले बंगुर पाल्न थाल्नुभयो । ‘तर मैले बंगुर पालनलाई जिविको चलाउने मात्रै भनेर सोचिन, यसलाई व्यावसायिक बनाउने सोचें ।’ तरिका विस्तारै फेर्दै उहाँले ५ वटा बंगुर र एउटा विर हुर्काउनुभयो । अहिले त दुई वटा माउ बंगुरले २८ वटा पाठापाठी पाएपछि दानबहादुरको बंगुर फर्म ठूलो भएको छ । भाइको पनि साथ पाएपछि त दानबहादुरको आँट अझै बढेको छ । झन्डै एक लाख रुपैयाँसम्म वर्षमा बंगुर पालनबाट उहाँले आम्दानी लिन थाल्नुभएको छ । यति आम्दानी हुँदा दानबहादुरलाई २५ हजार रुपैयाँ नाफा हुन्छ । आम्दानी त बढेको छ नै उहाँको परिचय पनि फेरिएको छ । अहिले उहाँ गाविसकै अगुवा बंगुर पालक व्यवसायी बन्नुभएको छ ।
अरुका लागि उदाहरण
उहाँले गरेको प्रगति देखेर नारायाणखोला गाविसका युवा पनि व्यवसायिक बंगुरपालनमा लागेका भएका छन् । विदेश जाने सोच बनाएका र विदेशबाट फर्किएहरु व्यावसायिक बंगुरपालनमा लागेका हुन् । अरुको काम गर्दा सोचे जस्तो प्रगति गर्न नसकिने अनि सन्तुष्टि पनि नमिल्ने भएकाले आफैंले बंगुरपालन रोजेको उनीहरुको भनाई छ । पहिल्यैदेखि बंगुर पाल्दै आएकाहरुका लागि पनि व्यावसायिक बन्न दानबहादुर नै उदाहरणीय बन्नुभएको छ ।
बंगुर पालनमा पनि समस्या नभएको होइन । उहाँले बंगुर पालन थालेपछि पनि ७ वटा बंगुरका पाठा मरे । ‘सर्लाहीकै विकट भएकाले यहाँ भनेको समयमा न चिकित्सक पाइन्छ न त भने अनुसारको औषधी नै । त्यसैले कहिले काहिँ समस्या पर्छ’ उहाँले भन्नुभयो । नारायणखोला गाविसमा अहिलेसम्म पनि मोटरबाटो पुगेको छैन । त्यसैले व्यापार व्यवसाय गर्नेहरुलाई केही समस्या भने छ । वर्षा लागेसँगै अवरुद्ध भएको नारायणखोला जाने बाटो असोजको दोस्रो हप्तासम्म पनि खुलेको छैन । @उज्यालो अनलाईन