नयाँ शक्तिको आन्तरिक रूपान्तरण

– डम्बर खतिवडा
आश्विन ३०, २०७३- नयाँ शक्ति पार्टी, नेपाल ‘मूलधार’ भनिएको ‘परम्परागत’ राजनीतिभन्दा ‘फरक’, ‘नयाँ’ र ‘वैकल्पिक’ चिन्तन र अभ्यास गर्ने प्रतिबद्धतासहित नेपाली राजनीतिको क्षितिजमा उदाएको एउटा ‘शिशु दल’ हो । तर निर्माणको प्रारम्भिक चरणमै यो दल अनेक कारण र आयामबाट सर्वथा चर्चामा रहने गरेको छ । पछिल्लो समय यो दल चर्चामा आउनुको कारण यसको आन्तरिक जीवनमा देखापरेका कतिपय उतारचढाब र बहिर्गमन बन्न पुगेको छ । प्रत्यक्ष/परोक्ष धेरै मान्छे सायद यो दलको आन्तरिक विकास प्रक्रियामा रुचि राख्छन् वा यस्तो पनि हुन सक्छ कि धेरै मान्छे तटस्थभावले यो अभियान कसरी अगाडि जाने हो भन्ने नियालिरहेका छन् । नयाँ शक्ति अभियानको जुन सैद्धान्तिक चरित्र र व्यावहारिक स्वभाव प्रकट भएको छ, त्यो नेपाली राजनीतिमा एउटा नयाँ प्रयोग भएका कारणले पनि जिज्ञासा स्वाभाविक हुन्छ ।
नयाँ शक्ति नेपाल मूलत: ४ प्रकारका अभियन्ता मिलेर बनेको दल हो । यो दल निर्माणको एउटा स्रोत डा. बाबुराम भट्टराईसँगै माओवादी आन्दोलनबाट बाहिर निस्किएको समूह नै हो, जसले यो दलको निर्माणमा संगठनात्मक अस्थिपञ्जरको काम गरेको छ । दोस्रो स्रोत– देशका अरू विभिन्न दल र आन्दोलनबाट राजनीतिक अनुभव हासिल गरेका ‘ग्रासरुट’ राजनीतिकर्मीहरू हुन् । यी दुई स्रोतबाट आएकाहरूसँग राजनीतिक अनुभव आआफ्नै खालको छ । तेस्रो स्रोत–राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका र ख्याति कमाएकाहरू हुन् । यसमा सेना, प्रहरी, प्रशासन, प्राध्यापन, शिक्षण, लेखन, पत्रकारिता, साहित्य, कला, संस्कृति, संगीत, सिनेमालागयतका क्षेत्रका विशिष्ट प्रतिभा छन् । यो स्रोतसँग राजनीतिक अनुभव नभए पनि राजनीतिलाई बुझ्ने र आफ्नै तरिकाले हाँक्न खोज्ने क्षमता र इच्छाशक्ति दुवै देखिन्छ ।
चौथो स्रोत–सन् १९९० को दशकपछि हुर्किएको नयाँ पुस्ता, जससँग भूमण्डलीकरण र आईसीटी युगको शिक्षा छ, जो यसअघि राजनीतिमा थिएनन् तर देशका लागि केही फरक र नयाँ काम गर्न चाहन्छ, जो देश विदेशमा छरिएको छ, ती युवा नै हुन् । यसको सबल पक्ष के हो भने यो पंक्ति शास्त्रीय सिद्धान्त, स्कुलिङ र वादहरूको पूर्वाग्रहभन्दा माथि छ र सिधै देश र जनताका लागि केही ‘डेलिभर’ गर्नुपर्छ भन्ने तीव्र आकांक्षा राख्छ । देशविदेशको विकास, सुशासन र समृद्धिबारे देखेको, सुनेको यो पुस्ताले आफ्नो देश पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने इच्छा राख्छ । नयाँ शक्तिलाई यो पंक्तिले यही इच्छा पूरा गराउने माध्यम बनाउन खोजेको पाइन्छ ।
पहिलो स्रोतले निर्माण गरेको अस्थिपञ्जरमाथि बाँकी तीन स्रोतले मांसलदेह, मर्यादा–आवरण र सौन्दर्य थपेपछि नयाँ शक्तिको अस्तित्व सम्भव भएको हो । तर, यी चार स्रोतबाट आएका मान्छेको मनोवृत्ति, जीवनदर्शन, मानसिक आवेग र कार्यसम्पादन क्षमताको स्तर फरकफरक हुनु नितान्त स्वाभाविक छ । सम्भवत: यही बिन्दुमा नयाँ शक्ति सबैभन्दा बढी आलोचित छ कि यति धेरै बहुरंगी मानिस कसरी मिल्लान् ? कसरी अन्तर्घुलित होलान् ? कसरी नयाँ ढाँचामा आकारित होलान् ? कसरी उनीहरूको यात्राको ‘स्टेप’ मिल्न सक्ला ? वस्तुत: नयाँ शक्तिको आन्तरिक रूपान्तरण यिनै प्रश्नमा अन्तर्निहित छ । आज कतिपय समस्या देखिएका छन्, यिनै प्रश्नको सेरोफेरोमा देखिएका छन्, तर उत्तिकै ठूलो सत्य के पनि हो भने नयाँ शक्तिको जुन ‘ग्लेमर’, यसप्रतिको जुन जिज्ञासा र आशा छ, त्यो पनि यिनै प्रश्नको सेरोफेरोमा छन् । यो ‘डाइलेटिक्स’ नै नयाँ शक्तिको सम्भावना र चुनौती दुवै हो ।
नयाँ शक्तिमा सबै बेठीक र खत्तमहरू छन, आन्तरिक गन्जागोलले नै यथाशीघ्र यसको पतन हुनेछ भन्ने धारणा परम्परागत राजनीतिक वृत्तका लागि एउटा स्वाभाविक र मनोरञ्जक अपेक्षा त हो, तर विश्व राजनीतिलाई नियाल्ने हो भने वैकल्पिक राजनीतिको धार निरन्तर शक्तिशाली हुँदै आएको देखिन्छ । नेपाल मात्र नयाँ शताब्दीको यो नयाँ ट्रेन्डबाट अछुतो हुन सक्दैन । नयाँ शक्तिमा धेरै कुरामा आधारभूत एकरूपता र समानता पनि छ । मूलत: स्वाधीनता, समृद्धि, सुशासन, समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवादको सिद्धान्तमा आधारित अग्रपन्थ (फ्रन्टिज्म) को चिन्तन यसको आधारभूत एकरूपता हो । माथिका चारैवटा स्रोतबाट आएकाहरूको ठूलो संख्याले ‘वैकल्पिक दर्शन’ को सैद्धान्तिक मान्यतालाई स्वीकार गरेको देखिन्छ । साथै यसका मुख्य नारा ‘अबको निकास, आर्थिक विकास’ ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ पार्टी पंक्तिभित्र सर्वस्वीकार्य र एकदमै लोकप्रिय पनि छन् ।
बीसौं शताब्दीसम्मका सबै राजनीतिक दर्शन र सिद्धान्तलाई पुन:संश्लेषण गर्दै ‘वैकल्पिक राजनीति’को मार्ग अवलम्बन गर्ने, उत्तरआधुनिक युगका चासो, चिन्ता र सरोकारको सम्बोधन गर्ने, कुनै खास प्रकारको वाद वा राजनीतिक प्रणालीलाई नभएर मानवीय खुसीको प्रवद्र्धनलाई राजनीतिको लक्ष्य ठान्ने, ‘हामी आज जेजस्ता राजनीतिक विकल्प, विचार र व्यवहारमाझ छौं, यिनै सर्वोत्कृष्ट र विकल्पहीन विकल्प हैनन् । सबै मिलेर अझ राम्रो विकल्प निर्माण गर्न सकिन्छ । त्यसतर्फ हाम्रो ध्यान नगएको मात्र हो । अब ध्यान दिऊँ, अझ राम्रो विकल्प हाम्रो नजिक छ’ भन्ने नयाँ शक्तिका मान्यताहरू यसको पार्टी पंक्तिभित्र आमरूपमा स्वीकार्य छन् । एकीकरण र लोकतान्त्रीकरणको युगपछि आधुनिक नेपाल समृद्धीकरणको कालखण्डमा आइपुगेको छ, यही युगीन दायित्व पूरा गर्न नयाँ शक्तिको औचित्य छ भन्ने कालचिन्तनमाथि पनि नयाँ शक्तिभित्र कुनै विमति देखिन्न ।
फेरि पनि केही समस्या अवश्य छन् । पहिलो समस्या उपरोक्त चार पृष्ठभूमिबाट आएका मान्छेहरूको फरक–फरक संवेदनशीलता र आत्मसम्मानलाई केहीले नबुझिदिनु हो । ससाना घटनाक्रमलाई पनि अत्यन्त ठूलो अन्तर्विरोधजस्तो बनाइदिने नेपाली समाजमा रहेको आम कुरौटे संस्कृति नयाँ शक्तिमा पनि सल्किएको छ । कुरा खोज्दै हिंड्नु राजनीतिको क्षमताजस्तो ठान्ने र अलिकति कुरा कहींबाट केही चुहिए त्यसमा मरमसला थपेर अर्कोलाई सुनाउन पराक्रम ठान्ने संस्कृति नितान्त गलत हो । दोस्रो समस्या संक्रमणकालीन पार्टी संगठनको चरित्र आफंै बनेको छ । भुमरीमा चारैतिरको हावा गुजुल्टिएर माथि उठेजस्तो नयाँ शक्तिलाई छिटो नेता हुने ‘लिडरसिप ग्याप’ संगठनका रूपमा बुझेर मान्छेहरू कुडुलिने, केन्द्र, प्रदेश र जिल्ला संगठनमा मान्छे अटाइनअटाइ हुने तर स्थानीय संगठन निर्माणमा कमैले मात्र ध्यान दिने रोग नयाँ शक्तिभित्रको अर्को ठूलो रोग बनेको छ । मुख्यत: संगठनात्मक अन्तर्विरोध यही प्रवृत्तिबाट गाँजिएको छ । यसलाई हल गर्ने विधि भनेको विधानबमोजिम तहगत अधिवेशनहरू सुरुवात गर्नु नै हो । नयाँ शक्ति एकीकरणबाट हैन, ध्रुवीकरणबाट बन्ने दल हो भन्ने धारणा प्रस्ट हुँदाहुँदै पनि एकीकृत हुन आउने साना दलले समानान्तर संगठनजस्तै भूमिका दाबी गर्ने र त्यसलाई मिलाउने स्पेस एकदमै कम हुने कारणले पनि समस्या बल्झिएका छन् । वार्ता प्रक्रियामै यस्तो समस्यामाथि प्रस्ट विवेचना आवश्यक छ । बोली सकेपछि पूरा गर्नैपर्छ । अनावश्यक आश्वासन दिने, त्यो आश्वासन समयमै पूरा गर्न नसक्दा संगठनभित्रको दबाब र तनाव बढेर जाने जोखिम नयाँ शक्तिमा अवश्य छ ।
तेस्रो समस्या द्वन्द्व व्यवस्थापन कौशलको अभावलाई लिनुपर्छ । अबको युगमा सफल पार्टी र राज्य सञ्चालन गर्न राजनीतिक ज्ञान र क्षमताले पुग्दै पुग्दैन, व्यवस्थापकीय ज्ञान र कौशल पनि उत्तिकै चाहिन्छ । विद्यार्थी ‘विङ्स’ भित्रको द्वन्द्व सल्किँदै गएर इगो समस्या बन्न पुग्नु, त्यससँग केही नीतिगत प्रश्नहरू पनि आकर्षित हुनु द्वन्द्व व्यवस्थापन कौशलकै अभाव हो । चौथो समस्या ‘अति शुद्धतावादी अधैर्य’ पनि हो । कुन ऐतिहासिकता र संक्रमणको जटिलताबीच पार्टी निर्माण हुँदै छ, त्यसको सापेक्षतालाई नबुझ्ने, सबै चिज रातारात ठीकठाक र फिटफाट भइहाल्नुपर्छ, नभए त्यो ‘नयाँ’ र ‘वैकल्पिक’ हुँदै भएन भनेर प्रेसर मात्र बढाउने हो भने पार्टी निर्माण प्रक्रियामा स्वामित्वभाव ग्रहण गरेको मान्न सकिन्न । जब ‘सबै मिलेर नयाँ बनाइँदै छ, सबै पहलकदमीकर्ता र संस्थापक हुन्’ भन्ने मान्यता स्वीकार गरिन्छ, कसले कसलाई किन र केका लागि प्रेसर गर्ने ? राम्रोको जस, नराम्रोको अपजस दुवै चिज सबैले बाँड्न सक्नुपर्छ । यहाँनेर के बुझ्न आवश्यक छ भने अबको युगमा प्रायोजित हल्ला र अनुशासनको डन्डाले मान्छेलाई बाँधेर राख्न सकिन्न । फराकिलो छाती र निरन्तर अन्तरसंवादबाटै धेरै समस्या हल गर्न सकिन्छ । बन्दै गरेको एउटा ‘शिशु दल’ जसले धेरै ठूला महारथीसँग रचनात्मक प्रतिस्पर्धा गर्न बाँकी नै छ, र त्यो क्षमता छोटो समयमा हासिल गर्नुपर्ने बाध्यता छ, त्यसको पार्टीसत्ता कब्जा गर्न नै अहिल्यैदेखि मरिहत्ते गर्ने हो भने वैकल्पिक राजनीतिको अन्तर्यलाई आत्मसात् गरेको मान्न सकिन्न ।
अन्त्यमा, प्रस्ट रणनीतिक योजना, कार्यनीतिक लचकता, व्यवस्थापकीय क्षमताको अभिवृद्धि, अन्तर्संगठन तनावको विश्वासिलो हल, पार्टीभित्र र बाहिर दुवैतिरको पारदर्शिता, सुशासन र लोकतन्त्रको शुद्धताका लागि धैर्यपूर्ण संघर्षलाई अगाडि बढाएर मात्र ‘फरक’, ‘नयाँ’ र ‘वैकल्पिक’ राजनीति निर्माणमा योगदान गर्न सकिन्न भन्ने आत्मबोध नयाँ शक्तिका सबै अभियन्तामा हुन आवश्यक छ । वस्तुत: यही आत्मबोध नै नयाँ शक्तिको आन्तरिक रूपान्तरणको वास्तविक उर्जा हो ।