बलिप्रथा : त्यागेकै राम्रो
सावित्री गुरूङ
म सानै छँदातिरकाे कुरा हाे, हाम्राे हजुरबुवाले घरकाे अाँगनमा दशैंमा बाेका काट्नुहुन्थ्याे । दशैंकाे नवमीकाे मार हान्ने काम भइरहँदा केटाकेटीलाई हेर्न दिइँदैन थियाे, डराउँछन् र मनमा नराम्राे असर पर्छ भनेर । हजुरबुवालाई मार नहानी चित्त नबुझ्ने, अझ पहिले पहिले त अाफ्नाे घरकाे मार सकाएर अरू टाेलबासीकाे घरघरमा मार हान्न जानुहुन्थ्याे रे ।
एकसाल म सायद सात वर्षकाे, दिदी अाठ र भाइ पाँचकाे हुँदा हाेला, हाम्राे घरमा दशैंमा मने अायाे । उसलाई देखेर हामी धेरै रमायाैं । हामी दुईतीन दिन मनेसँग खुब खेल्याैं । स्याउला पात खुवायाैं, चउरमा लगेर लामाे डाेरी बाँधेर चर्न छाेड्याैं, मायाले मुसार्याैं । हामीलाई मनेकाे मनमाेहक चन्चलताले खुशी दिइरहेकाे थियाे, भाेक हराएकाे थियाे । स्कुलमा त्यही ताका पढ्नुपर्ने कविता “मने हाम्राे साथी, कति राम्री पाठी, मने घरिघरि, नाच्छे वरिपरि” गाउँदै हामी मनेसँग रमाइरह्याैं । ममीले खान बाेलाउँदा पनि गाली नगरेसम्म हामी नसुने झैं गर्थ्याैं । मने पनि हामीसँग रत्तिसकेकाे थियाे । हामीलाई लाग्याे, अब मने हाम्राे घरमै बस्छ सँधै, जमुना गाई र वीरे कुकुर जस्तै ।
तर उ त मार हान्न ल्याइएकाे थियाे । नवमीकाे दिन हामी पुरानाे घरकाे झ्यालबाट अाँगनकाे रमझम हेर्दै थियाैं । अाँगनमा पूजा गर्न सफा गरिएकाे थियाे । एकातिर दाइहरू चुलाेमा अागाे बालेर पानी तताउँदै हुनुहुन्थ्याे । हामी हाँस्दै केटाकेटी गफ गर्दै झ्यालबाट अब के हुने रहेछ भनेर प्रतिक्षा गर्दै थियाैं । यसैबीच मनेलाई तानेर ल्याइयाे । मने फुरूङ्ग हुँदै अायाे । हामीले ठान्याैं, मनेलाई पनि दशैं पूजा हेर्न ल्याउनुभएछ ।
तर खुकुरी अगाडि राखेर मनेलाई दाइहरूले चारखुट्टा समाएर पानी छम्कन थाल्नुभएपछि चाहिँ हामी अात्तियाैं । मनेले टाउकाे झट्कार्याे अनि हामीले साेच्नै नपाइ अनि शायद मनेले पनि केही नबुझी मनेकाे गर्धनमा खुकुरी बज्रियाे र मनेकाे टाउकाे र शरीर छुटियाे । मने फट्फटायाे । हामी तीनै जना कहाल्लिएर राेयाैं । मनेलाई किन मार्या भनेर बाबासँग रिसाउँदै राेयाैं ।
बाबाले दशैंमा देवीलाई चढाउन ल्याएकाे भएर मारेकाे, अर्काे पाठा ल्याइदिउँला भन्नुभयाे, तर मनेसँग मन गाँसिसकेकाे हामी रून छाेडेनाैं । मनेकाे टाउकाे र जीउ छुट्टिएकाे शरीर भुइँका लडेकाे थियाे, हामी भित्र राेइरह्याैं ।
एकछिन पछि त मनेकाे टाउकाे एकातिर पाेलिँदै थियाे, दाइहरूकाे कान पाेलेर खान उत्साहित थिए, अर्काेतिर ताताे पानी खनाएर मनेकाे भुत्ला उखेलिदै थियाे । हामी तीनजना दिनभरि मनेसँग खेलेकाे पल सम्झेर उदास भइरह्याैं ।
बाबालाई पनि त्यस दिन नरमाइलाे लागेछ, केटाकेटीले चित्त दुखाए भनेर । त्यस वर्षपछि बाबाले दशैंमा खसीबाेका ल्याउनु भएन, घरमा दशैंकाे मार शाकाहारी हुन थाल्याे । भाइ त्यही उमेरदेखि शाकाहारी भयाे । म चाहिँ केटाकेटीमै बानी लागेकाेले ग्लानि महशुस गरिगरि खान्थें ।अाफ्नाे जिब्राेकाे स्वादकाे अगाडि हार मान्दै यस्ताे मासुकाे परिकार संसारमै नभए नी खान त मन लाग्दैनथ्याे भन्ठान्थें । पसलमा मासु नबेचिदिए पनि हुन्थ्याे, नपाए पछि खाइदैनथ्याे भन्ने लाग्थ्याे । तर लाेभी जिब्राेको वशमा परेर मने जस्तै प्राण भएका पशुपक्षींकाे मासु खाएँ अरु केही वर्ष ।
एकदिन प्राणीहिंसाकाे अङ्ग बन्न नचाहेर वा ग्लानीकाे भार थेग्न नसकी मैले मासु छाेड्ने निधाे गरें र त्यसैदिन देखि शाकाहारी भएकाे १७ वर्ष नै नाघिसकेछ । मासुका परिकार देख्दा मृत्युकाे भयले कराएकाे प्राणीहरू याद अाउँथ्याे । मन विचलित हुन्थ्याे । अाफू त्याे ठाउँमा भएर साेँच्थें, त्याे जीवन निमाेठिएकाे निरीह पशुपंक्षी, तिनकाे डर, तिनीभित्रकाे अात्मा अनि म भित्रकाे उस्तै अात्मा । यस्तै भावनाहरू मनमा अाएर म शाकाहारी बने ।
अहिले अाएर दशैंजस्ता उत्तम पर्वमा बलि दिने प्रथाकाे विराेध गर्दा धर्मकाे विराेधसँग लगेर जाेड्छन् मानिसहरू । तर मलाई प्रभावित पारेका धार्मिक र अध्यात्मिक विचारहरू, गुरूवाणीहरू, ज्ञानी-बाेधी शिक्षाहरूले प्राणीहिंसाकाे विराेधमात्र हाेइन, शाकाहारी हुनुपर्ने कारणहरू पनि तार्किक रूपमा प्रस्तुत गरेकाे देख्दा मलाई खुशी लाग्छ । अहिले म हरसम्भव चिनाजानका सबैलाई बालबालिकाहरूमा उनीहरूले बुझ्ने बेला नभएसम्म मांशाहारी बानी सकेसम्म नलगाउनु नै बेस भन्छु। अनि उनीहरुमा प्राणीप्रेम हुर्काउन सके झन् उत्तम।
संसारमा सबैकाे विचार एउटै हुन सम्भव छैन, हुँदाे हाे त संसार “भवसागर” हुँदैनथ्याे हाेला । तर कहिलेकाहीँ हामीले अाफ्नाे अार्जित ज्ञानभन्दा पनि अन्तरात्माले सोंची हेर्नुपर्छ । हामी अाफूमाथि जे नहाेस् भन्ने चाहन्छाैं, त्याे अरूलाई पनि गर्नुहुँदैन, एउटा प्रकृतिकाे सामान्य नियम । चाहे त्याे मुक पशु नै किन नहाेस्, उसमा विवेकशीलता छैन (वा हामीले देख्दैनाैं/बुझ्दैनाैं) भन्दैमा उसलाई मुक्तिकाे ज्ञान हुँदैन त्यसैले उसलाई मुक्ति दिन पशुबली चढाएकाे भन्नुहुने विद्धानहरूकाे तर्क हास्यास्पद छैन र ?
हामी ठूला, हामी जान्ने, हामी दैवीशक्तियुक्त मनुवा, ती पशु अविवकी, अज्ञानी अनि तिनीहरूकाे मुक्तिदाता भएर तिनीहरूलाई पवित्र धार्मिकस्थल वा घरकाे अाँगनमा गर्धनमा तिखाे खुकुरीअादि प्रहार गरि फट्फटाउँदै मरेकाे हेरेर दंग पर्दै त्याे मासु कहिले पाक्ला र खाउँला भनी हुट्हुटिने हामी मनुवा चाहिँ मुक्तिदाता विवेकी प्राणी कसरी ?
शाकाहारी बन्न सक्नुलाई एकदम सकारात्मक कुरा हो, तर नसक्नेले मांशाहारी भाेजन खान कम गर्दै जानू अनि धार्मिक अास्थाकाे नाममा हुने लाखाैं प्राणी हत्याकाे रीतिरिवाजमा समयानुकुल परिमार्जित गर्दै घटाउँदै लानु नै भावी पुस्तामा संस्कार हस्तान्तरण गर्ने उत्तम उपाय हुनेछ भन्ने मेराे धारणा छ ।अन्यथा जाे देवीदेवतालाई सृष्टिकाे अभिभावक मानेर, कर्मअनुसारकाे फल दिने न्यायकर्ता मानेर अास्थाश्रद्धाका साथ पुजिन्छ, उनै देवीदेवता रगत खान नपाएर हामीसँग रिसाउलान् भन्ने डरले वा सांसारिक, राजषी शक्ति पाउँ भन्नका निम्ति बलिप्रथाकाे पक्षपाेषण गरिनु अनि पुस्ता-दरपुस्तालाई यही बाटाेमा लगाइरहनु मानवीय, अध्यात्मिक अनि धार्मिक रूपमै सही हाेला त ?
धर्म भनेकाे अध्यात्मकाे बाटाेमा लाग्न प्रेरणा दिने संस्कार होइन र ? धर्मलाई अध्यात्मबाट छुटाएर संस्कारिक कुरामा मात्र एकाेहाेराे ढिपीले लग्न खाेज्दा समाजमा धार्मिक, वैचारिक, सांस्कृतिक द्वन्द्वहरू झनै चर्किदैछन् । धार्मिक पर्वमा प्राणीहत्याविराेधी कुरा निस्कनुमा पनि यही कारण छ कि धर्म नै ज्ञानकाे ज्याेति देखाउने अास्थाकाे रूपमा अाम मानिसले लिन्छन् ।
धर्मले करूणा सिकाउनुपर्नेमा त्यही धर्मबाटै प्राणीहत्या प्राेत्साहित हुनुले धर्मकाे अन्य उत्तम शास्त्रिय मूल्यमान्यता पनि संकटमा पर्न थाल्छ । हुन त शास्त्रका वेत्ताहरूले श्लाेक, श्लाेक पढेर हामीजस्ता अल्पज्ञानीका तर्कलाई गलत साबित गर्न धेरै सजिलाे छ, तर पनि एकपटक केवल मानव भएर साेचाैं, एउटा निर्मल मनले साेचाैं, के तपाईँहरूलाई साँच्चै पशुहत्या गर्न मन लाग्छ ? @ लोकन्तर |