अनुशासनको कारबाहीमा परेपछि मुमाराम खनालले गरे नयाँ शक्ति पार्टी परित्याग

काठमाडौं, २१ असोज । अनुशासनको कारबाहीमा परेपछि नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी परिषद् सदस्य मुमाराम खनालले पार्टी परित्यागको घोषणा गरेका छन् ।
शुक्रबार राजधानीमा उपलब्ध केन्द्रीय कार्याकारी सदस्यहरुको बैठक बसेर खनाललाई जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको थियो । त्यसलगत्तै विज्ञप्ति जारी गरेर उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
खनालको विज्ञप्ति आउनुअगावै नयाँ शक्तिले उनलाई कारबाही गरेको जानकारी विज्ञप्तिमार्फत नै दिएको थियो ।
‘मुमाराम खनालले फेसबुक, इमेलसहित सामाजिक सञ्जालमा पार्टी गतिविधिविरोधी स्टाटसहरु हालेकोले अनुशासनको उल्लघन भएको महशुस गरी उक्त मुद्दा अनुशासन आयोगमा पाठाएकोले र छानविनको अवधिका लागि केन्द्रीय परिषद् सदस्य रहनेगरी कार्याकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक, विद्यार्थीको उत्पेरकको जिम्मेवारीवाट हटाइएको छ,’ बैठकको निर्णयबारे जानकारी गराउन केन्द्रीय कार्यलय संयोजक बामदेव क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खनाललाई अनुशासनको कारबाही गर्नुपर्ने माग बारम्बार उठ्दै आएको थियो । उनलाई यसबारे पटक-पटक सचेत गराइएपनि व्यवहारमा कुनै परिवर्तन नआएपछि अनुशासनको कारबाही गर्नु परेको पार्टीका एक नेताले बताए ।
उता, खनालले भने नयाँ शक्ति पूर्वमाओवादीहरुको समूहमा रुपान्तरित भएकोसहित ५ बुँदे आरोप लगाएका छन् । नयाँ शक्ति व्यक्तिवादमा आधारित रहेको, विधि र प्रक्रियालाई अवलम्वन नगरी परिषद् संख्या थप्दै ७०० भन्दा बढी बनाइएको लगायतका आरोपहरु खनालको छ ।
यस्तो छ खनालको पाँच बुँदे आरोप
१. नेपालमा वैकल्पिक राजनैतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता रहेको तथ्यप्रति वर्तमान राजनीतिक अवस्थालाई अवलोकन गर्ने हरेक नेपाली नागरिक अवगत छ । र, यर्स संदन्र्भमा म पनि विगत एक दशकदेखि वैकल्पिक नयाँ राजनैतिक शक्तिको आवश्यकता र औचित्यको बारेमा लेख्दै र वोल्दै आएको पात्र हुँ । त्यसै पृष्ठभूमिमा पूर्व माओवादी नेता बाबुराम भट्टराईको माओवादी समुह र विभिन्न फरक पृष्ठभूमिका व्यक्तित्वहरु सहितको लामो छलफल र वहसपछि म पनि नयाँ शक्ति नेपाल नामक दल निर्माण गरी उक्त दलको केन्द्रिय भूमिकामा सक्रिय रहँदै आएको थिए ।
२. गत वर्षको माघ १० गते नेपालमा नयाँ शक्तिको आवश्यकता र औचित्यको लागी राष्ट्रव्यापी बहस गर्ने अभिप्रायको साथ ३५ सदस्यीय अन्तरिम केन्द्रिय परिषदको निर्माण गरियो । जसमा पूर्व माओवादी समुहबाट संयोजक र अन्य एक जना गरी २ जना मात्र समावेश गरियो । किनकि हाम्रो दृढ मत थियो– पूर्व माओवादी समुहले नयाँ राजनीतिक शक्तिको खाँचो पुरा गर्न सक्तैन । त्यसको भोलिपल्ट माओवादीबाट अलग भएकोे संयोजकको पुरै टिम समावेश गरियो र अघिल्लो दिन घोषणा भएको परिषदलाई एउटा देखाउने नाटकमा रुपान्तरण गरियो । त्यसपछि लगातार कुनै विधि र प्रक्रियालाई अवलम्वन नगरी संयोजक र संगठन विभागको एक जना व्यक्तिको निर्णयमा परिषद संख्या थप्दै ७०० चन्दा बढी पुर्याइयो ।
३. नयाँ शक्तिको वहसलाई हतार हतार पार्टीको रुपमा घोषणा गरेपछि नयाँ शक्ति पार्टी सम्पूर्ण रुपमा पूर्व माओवादी समुहको रुपमा रुपान्तर भयो । नयाँ र फरक पृष्ठभूमिका मात्र होइन, पूर्व माओवादीभित्र पनि २०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सिमित व्यक्तिको मात्र कोर समुह बन्यो । उक्त कोर समुहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दिइरह्यो । जसले गर्दा सम्पूर्ण पार्टीको उर्जा पूर्व माओवादीहरुको आफ्नै विगतको कचिंगलमा मात्र खपत हुन थाल्यो । त्यसप्रकारको माओवादी कचिंगलमा समावेश भइरहन मेरो व्यक्तिगत र राजनीतिक रुची रहेन ।
४. कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफुलाई समावेश गर्ने मेरो कुनै अभिप्राय थिएन र छैन । वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्याउँछ भन्ने मेरो मान्यता रही आएको थियो र छ । तर नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरताबाहेक अरु केही बोकेन । जसले गर्दा सिमित मात्रामा प्रवेश गरेका गैरमाओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण रहेन ।
५. पार्टी विधिमा होइन, व्यक्तिवादमा आधारित रह्यो । आर्थिक कार्यविधिलाई लत्याएर आर्थिक अराजकताको अभ्यास नै स्वीकार्य बन्यो । विकल्पको संभावनालाई खुम्च्याएर एउटा पूर्व गुटमा सिमित गरियो । र, नयाँ शक्ति पार्टी पनि नेपालका अन्य १७९ वटा पार्टीहरुकै निरन्तरता वाहेक अर्को विकल्प बन्ने संभावनाको अन्त्य भयो । निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता हुनुभन्दा अगाडि भएका दर्जनौं सभा, सेमिनार र अन्तक्र्रियाहरुमा सगर्व हामीले एउटा कुरा सबैभन्दा बढी दोहोर्यायौं– हामीले १७९ वटा दलहरुको बीचमा एउटा थपेर १८०औं दल बनाउन खोजेका होइनौं । तर नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ दल थपिएर १८०औं बन्नुबहेक अर्को संभावना देखिएन ।
अतः मेरो विश्वास थियो, राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण संभव हुन्न । तर आज म उक्त भ्रमबाट मुक्त भएको छु । नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन । यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदश्यता सहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गर्दछु ।
किन कारबाहीमा परे मुमाराम ?
‘उहाँ पछिल्लो समय पार्टी पङ्तिमा निरन्तर आलोचनाको केन्द्र बनिरहनुभएको थियो,’ नाम नबताउने सर्तमा नयाँ शक्तिका एक नेता भन्छन्, ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्न भन्दा बाहिरैको काममा बढी सक्रिय हुनुभयो । सामाजिक सञ्जालहरुमा पार्टीको नीतिविपरित लेख्ने तथा गतिविधि गर्ने गर्न थाल्नुभयो, सोही कारण अनुशासनको कारबाही गरिएको हो ।’
खनाल पछिल्लो समय पार्टीमा संगठन विस्तारभन्दा संगठित हुन चाहनेहरुलाई नै भाँड्न सक्रिय रहेको गुनासो पार्टी पंक्तिबाटै आउन थालेको थियो । त्यसपछि पार्टीको अनुशासन आयोगले उनलाई पत्राचार गरेर स्पष्टिकरण माग्यो ।
ती नेता अघि भन्छन्, ‘उहाँ बिरामी भएको बहाना बनाएर बैठकमासमेत उपस्थित हुनुभएन । शुक्रबारको बैठकमा पनि उहाँलाई बोलाइएको थियो, ‘बिरामी छु’ भनेर आउनुभएन ।’
‘टाइफाइड भएको छ’ भन्दै अनुशासन आयोगमा उपस्थित नभएका खनाललाई अन्तत: निलम्बन गर्ने निर्णय भएको हो ।