इजरायलबाट फर्केपछि कृषिमा रमाउँदै कमला

असोज १८, इलामः आठबर्ष इजरायल बसेर फर्केकी कमला सेढाइ पाँचथरबाट इलाम झरेकी हुन् । चार बर्षअघि परिवार सहित इलाम झरेकी उनी अहिले इलामका लागि अगुवा कृषि उद्यमीको रुपमा चिनिन थालेकी छन् ।
इलामको बरबोटे ५ बसाई सरेपछि कमलाले श्रीमान महानन्द ओझासँग मिलेर अजय अबिजयपोल्ट्री फार्म एंव ओझा किवी फार्म शुरु गरिन् । इजरायलमा बस्दा दुःख सुखको अनुभव गरेकी उनले नेपालमा पनि विदेशमा पोख्ने पसिना पोखे उन्नती गर्न सकिने अनुभव गरेको सुनाइन् । त्यही अनुभवले उनलाई कृषिमा मेहनत गर्ने बनायो । बिहान देखि बेलुकासम्म पसिना बगाउन सिकायो । उनले सुनाईन “विदेशले कामलाई सम्मान गर्न सिकायो ।” विदेशको त्यही सिकाई नै उनका लागि कृषि उद्यमी बन्ने बाटो बनेको छ ।
इजरायल बस्दा पनि फुर्सदमा कृषि फार्मको भ्रमण गरेकी कमलाले सुनाईन “उता बस्दा साथी वंगला र गाडी खरिद गरेर सहरमा बस्ने कुरा गर्दथे ।” तर कमलालाई त्यस्ता कुराले तानेन छ । उनलाई गाउँमै बसेर मेहनत गर्ने योजना बनाईन् । इजरायलको मरुभुमीमा कृषिमा प्रगती गरेको देख्दा कमलालाई नेपालको उर्वरतामा सुन फल्छ जस्तै लागेको थियो । मेहनत गरेर टनेलमा उमारेको तरकारी फलेको देख्दा गरे के हुँदैन भन्ने प्रेरणा पाएकी उनले त्यही प्रेरणालाई पछ्याउने प्रयास गरिरहेकोे बताइन् ।
कमला र महानन्द मिलेर अहिले दैनिक ८ देखी १० जनाले रोजगारी पाएका छन् । अझै धेरैलाई रोजगार दिने योजना रहेको महानन्दले बताए । २२ रोपनी जमिनमा चार सय बोट किवी र अलैची खेतीगरेका उनीहरूले आफ्नै बलबुताले सबै गरिरहेका छन् । सरकारी निकायबाट भने उनीहरुले सहयोग पाएको छैनन् ।
उनीहरुले कुखुरा फार्म समेत संचालन गरेका छन् । अहिले एक हजार दुईसय कुखुरा अण्डाको लागि पालेका छन् । उत्पादन भएको अण्डा इलाम र आसपासको बजारमा खपत हुने गरेको बताए । मासुको लागि पाँच सय कुखुरा पालिएका छन् । लेयर्स खुकुराबाट दैनिक राम्रो कमाइ गर्न सकिने कमलाले बताइन् । २५ लाखको लगानी गरेका उनीहरूले यही व्यावसायबाट व्यवहार र बचत गर्दै आएको बताइन ।