निरन्तर परिवर्तनको सिद्धान्त नै नयाँ शक्तिको दर्शन हो : संयोजक भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिको दर्शन निरन्तर परिवर्तनको सिद्धान्त भएको बताउनुभएको छ । नयाँ शक्ति पार्टी, नेपालको प्रशिक्षण विभागले आयोजना गरेको ४ दिने अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन गर्दै संयोजक भट्टराईले समाज निरन्तर परिवर्तनशील रहेको र मान्छेको चेतना पनि निरन्तर परिवर्तनशील हुने भएकोले निरन्तर परिवर्तनको सिद्धान्त नै नयाँ शक्तिको राजनीतिक दर्शन रहेको बताउनुभयो । ‘निरन्तर क्रान्ति र निरन्तर परिवर्तनको सिद्धान्त नै नयाँ शक्तिको सिद्धान्त हो । हामी हिजोको वादमा टाँस्सिएर बस्दैनौं । किनकि हिजोको वादमा टाँस्सिराख्नु भनेको रुढीवाद हो’, उहाँले भन्नुभयो – ‘हाम्रो विचार निरन्तर गतिको सिद्धान्त र निरन्तर क्रान्तिकै सिद्धान्त हो । यसर्थ, दायाँ–बायाँको तालमेल मिलाउँदै अगाडि बढ्ने नै नयाँ शक्तिको कार्यदिशा हो ।’
नयाँ शक्ति परम्परागत प्रवृत्तिबाट फेरिँदै सिद्धान्त, व्यवहार, कला, संस्कृति लगायत सबै पक्षमा नयाँ हुने उहाँले बताउनुभयो । ‘राजनीति गर्ने मान्छेले ज्ञानको दायरालाई फराकिलो बनाउन आफूसँग भएको कला र क्षमता भरपुर प्रयोग गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो – ‘नयाँ युगको नयाँ काम गर्नका लागि पुराना कुरालाई मेटाउनु आवश्यक हुन्छ ।’
नयाँ शक्तिले भौतिक विकास, आयको समन्यायिक वितरण, वातावरणको सन्तुलन र व्यक्तिको आत्मिक सुखसहितको आर्थिक विकासको अवधारणा लागू गर्ने उहाँले बताउनुभयो । पार्टीले सबै वर्ग, समुदाय, जातिको एकता कायम गरेर कसरी राष्ट्रिय एकता कायम गर्ने भन्ने प्रश्नको हल गर्नकै लागि आदिवासी–जनजाति, मधेशी–थारु र खस–आर्यको तीनवटा क्लस्टरको अवधारणा ल्याएको संयोजक भट्टराईले बताउनुभयो ।
उहाँले हालै प्रधानमन्त्री प्रचण्डले भारतमा गरेको सहमतिको बुँदा नं. ११ जसले नेपाललाई भुटानीकरण गर्ने खतरा रहेको भन्दै त्यसविरुद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । साथै उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि समेत पार्टीले संघर्ष गर्ने बताउनुभयो ।
‘व्यक्ति रुपान्तरित भएर नयाँ नभएसम्म नयाँ शक्तिको नेतृत्व गर्न सक्दैन’, सहभागीहरुलाई नयाँ बन्न निर्देशन दिँदै उहाँले भन्नुभयो – ‘मलाई पनि नयाँ बन्न दिनुहोस् र आफू पनि नयाँ बन्नुहोस् ।’
प्रशिक्षण कार्यक्रमको अन्तिम दिन आज संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले सांगठनिक संरचनाको बारेमा, पार्टीको संगठनात्मक विधि र प्रणालीको बारेमा प्रशिक्षण दिनुभयो । उहाँले नयाँ शक्तिले आफ्नो संगठनात्मक स्वरुपमा गाउँको वडा तहदेखि केन्द्रीय कमिटीसम्म प्रत्यक्ष निर्वाचित विधिबाट कार्यकारी पदाधिकारीहरु चयन गर्ने बताउनुभयो ।
कार्यक्रममा केशवमान शाक्यले उत्पादनमा जोड दिएका देशहरु नै अहिले विश्वमा धनी र सम्पन्न भएको उदाहरण दिँदै विकास र समृद्धिका लागि स्रोत र साधनका अलवा मानव शक्ति परिचालन अपरिहार्य रहेको बताउनुभयो । उहाँले जापान र कोरियाजस्ता स्रोतबिहीन मुलुकहरु समेत मानव श्रम परिचालन गरेर समृद्ध भएकोले स्रोत–साधनसहित पर्याप्त मानव संशाधन भएको हाम्रोजस्तो देशलाई केही वर्षभित्रै सम्पन्न बनाउन सकिने बताउनुभयो ।
त्यसैगरी डा. प्रदिपमान तुलाचनले देशको आर्थिक समृद्धिका लागि युवा शक्ति परिचालन गर्दै व्यवसायमा जागरण ल्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।
डा. राजेन्द्र केसीले संगठनको व्यवस्थापनका विषयमा प्रशिक्षण दिंदै नयाँ शक्तिलाई सिस्टममा ल्याउनुपर्ने बताउनुभयो । उहाँले पार्टीहरुमा व्याप्त रहेको गुटबन्दीप्रति लक्षित गर्दै संगठन सानो र कमजोर हुँदा एक हुने तर, ठूलो हुँदा फुट्ने परिदृष्य यसअघिका पार्टीहरुमा देखिएको भन्दै नयाँ शक्तिले विधि र प्रक्रियामार्फत यो क्रमलाई अन्त्य गर्ने बताउनुभयो ।
त्यसैगरी नयाँ शक्तिको दर्शनशास्त्र र समाजवादको प्रश्नबारे प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडाले प्रशिक्षण दिनुभयो । उहाँले नयाँ शक्ति वाम लोकतान्त्रिक चरित्रको अग्रपन्थी पार्टी भएको बताउनुभयो ।
पार्टीको अनुशासन आयोगका प्रमुख पर्शुराम खापुङले पार्टीभित्र अनुशासनको पालना गराउने र अराजकता अन्त्य गरी सदाचारयुक्त संस्कृतिको निर्माण गर्ने बताउनुभयो । डा. योगी विकासानन्दले सहभागीहरुलाई उत्प्रेरणायुक्त मन्तब्यसहित योग शिक्षाको व्यवहारिक आवश्यकतासम्बन्धी जानकारी गराउनुभयो ।
कार्यक्रममा नयाँ शक्ति पार्टी केन्द्रीय प्रचार, प्रसार, सूचना तथा सञ्चार विभागले प्रकाशन गरेको पार्टीको मुखपत्र ‘नयाँ शक्ति नेपाल’को संयोजक भट्टराईले विमोचन गर्नुभयो । असोज ९ गतेबाट चलेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा केन्द्रीय कार्यकारी समितिका सदस्यहरु, प्रदेशका प्रतिनिधिहरु, जिल्ला संयोजकहरु, आंगिक संगठनका प्रतिनिधि, विभिन्न विभागका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालय सचिव वामदेव क्षेत्रीले कार्यक्रमको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राजनीति, अर्थतन्त्र, दर्शन, सांगठनिक स्वरुप, उत्प्रेरणा, उत्पादन, संघीयता, व्यवस्थापनलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित २० वटा विषयहरुमा विज्ञहरुले प्रशिक्षण दिनुभयो ।