मध्यरातको बाढीले चनौटेमा त्राश

असोज १७, बेसीशहर : मध्यरातमा उर्लिएको पुमाखोलाको बाढीले बेसीशहर–१३, चनौटेमा त्राश फैलाएको छ । आइतबार राती बर्षासँगै आएको बाढीले गर्दा प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने सडकखण्ड समेत बगाएको छ ।
पुमाखोला आसपासका केही घरहरु भत्काएको छ । खोलाआसपासका थुप्रै घरहरु जोखिमा परेको छ । पहिरोका कारण स्थानीय होमकुमार श्रेष्ठको घरको आधा भाग भत्किएको छ । बर्षापछि आएको बाढिका कारण स्थानीय विकास श्रेष्ठले सञ्चालन गरेको माछापोखरी पुरीएको छ ।
बेसीशहर हुँदै मनाङसम्म पुग्ने दुवै बाटो बाढीका कारण भत्कंदा मनाङ जाने सबारीसाधनहरु बिहानैदेखि चल्न सकेका छैनन् । मनाङ पुग्नका लागि बेसीशहरको मनाङेचौतारा र क्याम्पसरोड हुँदै जाने दुबै बाटो अबरुद्ध भएको छ । मनाङ जान हिंडेका विदेशी पर्यटक पनि डराईडराई ओहोर दोहोर गरिरहेका छन् ।
मध्यरातमा उर्लिएको पुमाखोलाले दशैंका लागि जोहो गरेको सामाग्री समेत बगाईदिएपछि स्थानीय दलबहादुर तामाङ निकै चिन्तित छन् । ‘दशैंका लागि अघिल्लो दिनमात्र दुई लाख बराबरको सामान जोडेको थिएँ, चनौटेमा किनारा पसल सञ्चालन गर्दै आएका तामाङले अन्नपूर्णसँग भने, ‘दशैं मुखमा यस्तो के बिपत्ती आईलाग्यो ? ’ बाढी र पहिरोका कारण उनको घर भत्किएको छ । घर भत्किएपछि आफ्नो परिवार बिस्थापित भएको तामाङले बताए ।
त्यस्तै उनकोसँगै घर जोडिएको पदम गुरुङको पनि बाढीले घर भत्काईदिएको छ । उनको घरअगाडि रहेको थुप्रै जग्गा कटान गर्दै घरमा बसेको बाढीले ट्वाईलेट घरको आँगन सबै बगाएको छ । ‘रातमा सुतिरहेका थियौं मेघगर्जनका साथै ठृुलो बाढी आयो, पदमले भने, ‘जग्गा बगाउँदै बाढी घरमा पस्यो ।’
बाढीले स्थानीय दीपक श्रेष्ठको घरमा पनि क्षति पु¥याएको छ । गत भदौ २२ गते उर्लिएको पुमाखोलाले दोस्रोपटक पनि उर्लिएपछि स्थानीयको थुप्रै जग्गा कटान गरेको छ । धानखेती लगाएको जग्गा अहिले बगरमा परिणत भएको छ । क्याम्पस रोडबाट चनौटे पुग्नका लागि पैदल यात्राका लागि बनाईको पुल पनि बाढीले बगाएको छ । बाढीले सडकलाई खण्डहर बनाईदिएको छ ।
दोस्रोपटक पुमाखोला उर्लिएपछि बिहानै प्रमुख जिल्ला अधिकारी जिसी, डीएसपी समीरचन्द्र खरेलले पुमाखोला आसपासमा बाढीले पु¥याएको क्षतिको अबलोकन गरे । पुमाखोलाको स्थलगत अबलोकन गरेपछि प्रमुख जिल्ला अधिकारी जिसीले बाढीपीडितलाई तत्कालै राहतको ब्यवस्था मिलाउने बताए ।
बर्षा , चट्याङका साथै आएको बाढिले भोर्लेटार लगायतका क्षेत्रमा विद्युतसेवा समेत अबरुद्ध बनेको छ । बर्षाले जिल्लाको बिभिन्न स्थानमा क्षतिपु¥याएपनि त्यसको एकिन विबरण आईसकेको छैन् ।