प्रहरी द्वारा करोडौं रुपियाँ सहित पाँच जना हुण्डीवाला पक्राउ

असोज १७ – पर्सा प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ ।पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले वीरगन्जको आदर्शनगरको न्यु नेहा ओभरसिजमा हुण्डी सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा छापामार्दा पाँच जनालाई पक्राउ गरेको बताएका छन् ।
प्रहरीले उनीहरुको साथबाट ८१ लाख चार सय १० रुपैयाँ, १ करोड ३२ लाख रुपैयाँको चेक, एक-एक वटा फ्याक्स र पैसा गन्ने मेशिन, सात वटा मोबाइल र चेक बरामद गरेको प्रहरी उपरिक्षक श्रेष्ठले जनाए ।
पक्राउ पर्नेहरुमा भारत बिहारका ५५ वर्षे सन्तोष कुमार जैन, उनकी श्रीमती ५० वर्षे उषा गोयन्का, छोरा ३२ वर्षे अंकुर, पर्सा लंगडीका ३३ वर्षे सुनिलकुमार पटेल र वीरगंज उपमहानगरपालिका–३ का २३ वर्षे जीवन ठाकुर रहेका छन् । पटेल र ठाकुर जैनको फर्ममा काम गर्ने कर्मचारी हुन ।
प्रहरी उपरिक्षक श्रेष्ठले उनीहरुले उषा गोयन्काको नाममा दर्ता रहेको न्यु नेहा ओभरसिजमा विगत लामो समयदेखि हुन्डीको कारोबार गर्दै आएको बताएका छन् ।