हाँडीखोलामा बस दुर्घटना, ३ जनाको मृत्यु

असोज १६, हेटौँडा : मकवानपुरको हेटौँडा १३ बेलडाँडा नजिक हाँडिखोला २ मकरीमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ५० जना बढी घाईते भएका छन् ।
हाँडीखोला २ मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नंबरको बस आईतबार बिहान सवा नौ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा हाँडिखोला २ का चार वर्षीय बालक प्रमिस लामिछाने,२५ वर्षीय सुर्यबहादुर तामाङ र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले बताईन् । घाईतेमध्ये ३९ जनाको चुरेहिल अस्पताल,१० जनाको हेटौँडा अस्पताल र दुई जनाको अर्थोपेडिक अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिईन् ।
ओरालो सडकमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको प्रहरी अनुमान छ । दुर्घटनास्थल पुगेका जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण बहादुर थापाले चालकले बस मोडेर भित्तामा ठोक्काउँदा धेरै यात्रु बाँच्न सफल भएको बताए ।
३४ सिट क्षमताको बसमा एकसय बढि यात्रु सवार रहेको उनले जानकारी दिए । बस चालक प्रहरी नियन्त्रणमा रहेको छ । घाईतेमध्ये अधिकांस दशैँ किनमेलको लागि हेटौँडा बजार आउँदै गरेका हाँडिखोलाका स्थानीय रहेका दुर्घटनाका घाईते ठुलोकान्छी मोक्तानले बताईन् । ‘एउटै सिटमा हामी तीन जना बसेर आएका थियौं, बस ओरालोमा भित्तामा ठोक्कियो’, उनले भननिन्, ‘मेरो होस खुल्दा बस पल्टिएको थियो, चारैतीर मानिसहरु रुँदै थिए । घाईतेहरुलाई स्थानीय र प्रहरीले एम्बुलेन्समा हाल्दै थिए ।’