प्रजातन्त्रका सेनानी राईलाई ७७ हजार आर्थिक सहयोग

प्रजातन्त्र सेनानी बलबहादुर रुम्दालीलाई उपचार खर्च हस्तान्तरणपछि सामुहिक तस्बिर खिचाउँदै
असोज १५ दिक्तेल : दम र फोक्सोको समस्याले थलिएका खोटाङको ज्यामिरे ९ का ८५ वर्षीया प्रजातन्त्र सेनानी बलबहादुर रुम्दाली राईलाई उपचार खर्च प्रदान गरिएको छ । हाल छोरी सुवासी र ज्वाँई भवानीशंकर अधिकारीको घर प्रकाशपुर ८ सुनसरीमा बस्दैआएका राईलाई शनिबार ७७ लाख ७ सय रुपैयाँ उपचार खर्च प्रदान गरिएको हो ।
खोटाङका राजनैतिक दलका नेताले संकलन गरेर पठाएको सहयोग रकम एमाले खोटाङका अध्यक्ष बबी चामलीङले प्रकाशपुर पुगेर रुम्दालीलाई हस्तान्तरण गरेका छन् । स्थानीय शान्ति समितिको पहलमा राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईको संयोजकत्वमा बनाइएको ‘बलबहादुर रुम्दाली उपचार सहयोग समिति’ले संकलन गरेको रकम सांसद बिशाल भट्टराई, पाँचकर्ण राई, पुर्वसभाषद उषाकला राई लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
केही समयअघि इटहरी पुगेकोबेला बलबहादुरलाई भेटेका एमाले अध्यक्ष चामलीङ लगायतले योद्धा रुम्दालीको जीबन बचाउ र सम्मानमा सहयोग जुटाउने वाताबरण बनाउन शान्ति समिति समक्ष प्रस्ताब गरेको थियो । स्वास्थ्यमा समस्या आइरहने भएकाले रुम्दालीलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने अवस्था छ ।
रुम्दालीको सहयोगमा समिति बनाउने बहस चलाइएसँगै कांग्रेस खोटाङले काठ्माण्डौंमा ९६ हजार ६ सय रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये ७२ हजार रकम प्राप्त भएको रुम्दाली परिवारले जनाएको छ । त्यसभन्दा अघि कांग्रेस नेता तिलक तिम्सिनाले उपचार गर्न भन्दै २४ हजार प्रदान गरेका थिए ।
२००७ सालमा प्रजातन्त्र प्राप्तीकालागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर बिभिन्न लडाईँमा मोर्चा सम्हालेका रुम्दालीले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रहदेखि २०४६ सालको प्रजातन्त्र स्थापनामा समेत जीवन समर्पण गर्नुभएको थियो ।