पहिरोले टहरो पुर्दा एक घरका तीनको मृत्यु
असोज १५, चौतारा : सिन्धुपाल्चोकको पूर्वी भेगको राम्चे गाविस– ७, पुरानागाउँ मा मध्यराती गएको पहिरोले भूकम्पपछि बनेको टहरो पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान करिव साँढे दुई बजे घरको करिब ५० मिटर माथिबाट आएको पहिरोले दुई टहरा पुर्दा तीन जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, पहिरोले चन्द्रकान्त तिमिल्सिनासहित दुइ परिवारको टहरो पुर्दा तिमिल्सिनाका दुई छोरा र बुहारीको मृत्यु भएको छ । पहिरोले पुरिंदा चन्द्रकान्तका छोरा ३५ वर्षीय रामकुमार तिमिल्सिना, २५ वर्षीय उद्धव तिमिल्सिना र उद्धवकी श्रीमती सम्झना तिमिल्सिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।
पाण्डैका अनुसार घटनामा चन्द्रकान्त र उनकी जेठी बुहारी कमला तिमिल्सिना घाइते छन् । उनीहरुको सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । घटनापछि रामकुमारको शव करिब चार बजे प्रहरी टोली पुगेर निकालिएपनि उद्धव र सम्झनाको शव १० बजे मात्र उद्धार भएको थियो । पहिरोले टहरा पुरै पुरेकाले शव निकाल्न समय लागेको प्रहरीले जनाएको छ । ओच्छ्यानमा सुतिरहेकै अबस्थामा शव भेटिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । ‘शव उत्खनन् गर्दा देखिएअनुसार एक्कासी पहिरो आएकाले मृतकले भाग्ने अवसर नै पाएनन् ’, पाण्डेले भने, ‘जुन अवस्थामा सुतेका थिए, शव त्यही अवस्थामा थियो ।’
बाह्रबिसेबाट एक घण्टा पैदल दुरीमा पर्ने पुराना गाउँमा भूकमपपछि चन्द्रकान्त परिवार टहरो बनाएर बस्दै आएका थिए । राती पानी परिरहेका बेला परेको चट्याङसँगै पहिरो सुरु भएको स्थानीयले बताए ।