इजरायलमा पाइलट प्रोजेक्ट अनुसार दोश्रो चरणमा कामदार पठाउने बारे अन्योल

काठमाडौं । इजरायल जानका लागि केयर गिभर र हिब्रु वा अंग्रेजी भाषाको तालिम लिँदै हुनुहुन्छ ? तर, तपाईंले हजारौं खर्च गरेर सिकेको यो सीप र भाषा काम नलाग्न सक्छ । किनभने सरकारी तहबाटै इजरायल पठाउने कार्यक्रमको निरन्तरतामा आशंका उब्जिएको छ ।
इजरायल र नेपाली बीच जीटुजी अन्तर्गत एक वर्षअघि गरिएको समझदारीअनुसार ३०० जना नेपाली कामदार पाइलट प्रोजेक्ट अनुसार इजरायल पठाउने समाचार सार्वजनिक भएको थियो | तर, इजरायलसँग भएको त्यो समझदारीबारे विभागका अधिकारीहरु नै भ्रममा रहेको खुलेको छ । अब दोस्रो चरणमा कामदार लैजान इजरायल बाध्य नभएको सरकारी अधिकारीले बताउन थालेका छन् ।
सरकारी तहबाट पहिलो चरणमा ५९ जना कामदार इजरायल पठाए लगत्तै अर्को चरणमा कामदार पठाउने बारे अन्योल उत्पन्न भएको हो ।
सरकारले पहिलो चरणमा ५९ जना कामदारलाई केयरगिभरका रुपमा इजरायल पठाएको छ । अहिलेसम्म नेपाल र इजरायलबीच ३ सय कामदार लैजाने गरी एमओयु भएको भनिँदै आएको थियो । तर त्यो समाचार गलत रहेको अहिले पुष्टि भएको छ |
इजरायललाई थप कामदार ततकालै लैजान कुनै हतारो गर्नुपर्ने देखिँदैन । किनभने इजरायलसँग भएको एमओयुमा ६० जना कामदार लैजाने विषय मात्रै उल्लेख भएको भेटिएको छ ।
यसअघि विभागका कर्मचारीहरु ३ सय जनाको कोटा भएको र पहिलो चरणमा ५९ जना उडेकाले अब थप कोटामा कामदार इजरायल जाने बताइरहेका थिए । तर, अहिले सम्झौता अध्ययन गर्दा ३ सय कामदार लैजानेबारे कतै उल्लेख नभएको थाह हुन आएको छ |
एमओयुमा पहिलो चरणमा ६० जना पठाउने बाहेक संख्यागत रुपमा थप कुनै कुरा उल्लेख नभएको जानकारीमा आएको छ |एमओयुमा ६० जना कामदारको लगेर उनीहरुको कामको मुल्यांकन गरेर मात्रै थप कामदार लैजानेबारे निर्णय गर्न सकिने उल्लेख रहेको र त्यसअनुसार इजरायलले कोटा थप नगरे सरकारी तवरबाट नेपाली कामदार पठाउने काम रोकिन सक्छ ।तर, विभागले थप कामदारको कोटा दिन इजरायलसँग माग गरिने बताएको छ ।
एमओयुमा बढीमा ३ सय कामदारको आवेदन लिएर १ सयको सर्ट लिस्ट निकाल्ने र ६० जनालाई मात्र इजारायल लैजाने उल्लेख रहेको देखिएको छ ।
एमओयुअनुसार ६० जना इजरायल पुगेपछि दोस्रो चरणमा लैजाने कामदारबारे दुई सरकारबीच छुट्टै सम्झौता हुनुपर्ने देखिएको छ ।
समझदारीका बेलामा परीक्षणका रुपमा ३ सय कामदार लगेपछि इजरायलले वाषिर्क १ हजार ५ सय कामदारलाई रोजगारी दिने आश्वासन दिएको बताइएको थियो । तर,यो विषय उल्लेख नभएकाले दोस्रो चरणका लागि सम्झौता हुने/नहुने भन्नेमै अन्यौल भएको छ ।
इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयुमा उल्लेख छ । यसैअनुसार पहिलो चरणमा ५९ जना कामदार छनोट भई इजरायल गईसकेको छ । इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिएको छ ।
विभागले पहिलो चरणको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए ।
यी कामदारले कम्तिमा ७ वर्षसम्म इजरायलमा काम गर्न पाउनेछन् । इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्च लगायत गरी लगभग ९५० डलरमात्रै तिर्नपर्छ ।