भूकम्पको राहत लिएर फर्किदा : धादिङको तामाङ गाउँ शोकमा

असोज १२, धादिङबेसी : सत्यदेवी गाउँ विकास समिति वडा नं ३ का भूकम्पपीडित लीलाबहादुर तामाङ एक साताअघि सरकारले घर बनाउन दिएको अनुदानको पहिलो किस्ता ५० हजार लिन सदरमुकाम धादिङवेशी आएका थिए । गाउँमै शिविर गएको बेला अुनदान सम्झौता गरेका तामाङले गाविसले सुचना दिएबमोजिम सदरमुकाम गएर यती डेभलपमेन्ट बैङकबाट ५० हजार रुपैया पनि बुझे ।
लीलाबहादुरको परिवार घर भत्केको १६ महिना नाघिसक्दा पनि अझै पनि अस्थायी टहरोमै थिए तर पनि त्यो परिवार त्यत्तिको दुःखी थिएन । यति ठूलो भूकम्पमा पनि ज्यान बचेकोमा परिवारले भाग्यामानी नै सम्झन्थ्यो । पैसा बुझेपछि घर बनाएर परिवारलाई त्यहीँ सार्ने योजना बनाउदै उनी घर गाउँ फर्किएका थिए तर उनको सपना त्यतिबेला अन्त्य भयो जब उनी चढेको बस मंगलबार धादिङको मार्पाक गाउँ विकास समितिको वडा नं ६, लपाङफेदीबाट बस खसेर आँखुनदीको किनारमा पुग्यो । दुर्घटनामा लीलाबहादुरसँगै गत वर्षको विनाशकारी भूकम्पबाट पनि बँचेका अन्य १८ जनाले पनि ज्यान गुमाए । घर गुमाउँदा पनि दुःखी नभएका सबैको मनमा बज्रपात भयो ।
नयाँ घर बनाउने सपना बुनेर सदरमुकाम झरेका लीलाबहादुरसंगै सत्यदेवी गाउँ विकास समितिबाटै अनुदानको पहिलो किस्ता लिन आएका ६ जनाले ज्यान गुमाए । लीला बहादुरकी कान्छी छोरी मन श्री तामाङले भावुक हुदैँ भनिन, ‘पैसा लिन लागि सदरमुकाम जान्छु भनेर घरबाट हिड्नुभएको बुवा अब कहिल्यै फर्केर नआउने गरि जानुभयो । घरमा आमापनि विरामी हुनुहुन्छ काजक्रिया गर्न पर्यो, नयाँ घर बनाएर बस्ने त त्यस्तै भयो बुबालाइ समेत गुमायौँ ।’
सदरमुकाममा आफन्तीकोमा बसेर छोरो कुरिरहेका लारुपकी आमा सर्चि तामाङ दुर्घटनामा परेर छोरो गुमाएको खवरले मुर्छित छिन । ‘एउटै मात्रै छोरो थियो, बैङकबाट पैसा निकालेर घर बनाएर बस्ने भनेको थियो, विरामी बुवा लिनको गएको बेला आँफै दुर्घटनामा परेर वित्यो ।’ सर्चिले रुदै भनिन्, ‘ श्रीमान पनि दमको विरामी हुनुहन्छ, हामी अझैसम्म त्रिपालमै बसिरहेका छौँ, छोरो पनि गयो अव म एक्लैले कसरी घर बनाउनी होला ।’
दुर्घटनामा परेर एकै गाउँका ४ जनाको मृत्यु भएपछि सत्यदेवी गाविसको वडा नं २ अहिले पुरै शोकमा डुवेको छ । भुकम्पमा परेर बाँचेकाहरुपनि भुकम्पको अनुदान रकम लिनको लागि जाँदा बस दुर्घटनामा परेर मरे । सत्यदेवी गाउँ विकास समितिका स्थानिय आयुस बहादुर तामाङले भने, ‘भुकम्प गएपछि यहाँका सवैजना अझैसम्म त्रिपाल र टहरामात्रै छन । भुकम्प परेर मुस्किलले ज्यान जोगाएर बाँचेकाहरु त्यही भुकम्पको अनुदान लिन जाँदा दुर्घटनामा परेर मर्नुपर्यो ।’
दुर्घटनामा मृत्यु भएकाहरु सवैको शव आफन्त र परिवारलाइ जिम्मा लगाइएको छ । शबलाइ सदरमुकामसम्म ल्याउनको बाटोको कठिनाइका कारण घटनास्थलमा नै पुगेर प्रहरीले मुचुल्का बनाएको र डाक्टरलाइ पनि घटनास्थलमै लगेर पाष्ेटमार्टम गरिएपश्चात आफन्तलाइ शव जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी शरक कुमार खत्रीले बताए । मृतकहरुको आफ्ना परम्परा अनुसार गाउँमै अन्त्यष्टी गरिएको छ ।मंगलबार बस दुर्घटनामा पर्नेहरुमा अधिकाँश उत्तरी धादिङबाट अनुदानको पहिलो किस्ता लिन आएका सर्वसाधारणहरु थिए । गाउँमै पुगेर अनुदान सम्झौता गरेपनि गाउँमा बैङकले सेवा नदिएपछि बाध्य भएर सदरमुकाम झर्न परेका उत्तरी धादिङका स्थानियहरुलाइ पैसा लिनको लागि सदरमुकाम आउनैको लागि मात्रै १० हजार भन्दा बढी खर्च हुने गरेको छ ।
मंगलबारको दुर्घटनामा सत्यदेवी गाउँ विकास समितिबाट अनुदानको पैसा लिन आएका ६ जना र री गाउँ विकास समितिको मात्रै ४ जनाले ज्यान गुमाएका छन । मुक्तिनाथ विकास बैङ्क धादिङवेशीमा पैसा लिन पालो पर्खिरहेका री ७ ताजिम्राङका डेण्डुप तामाङले भने, ‘री ८ को मान बहादुर तामाङले को पनि हाम्रो भन्दा अघि थियो पैसा लिने पालो, सदरमुकाममा आएर तिन दिन आफन्तकोमा बसेपछि बल्ल पालो आएको थियो । सोमबार पैसा बुझेर मंगलबार गाउँ गएका उनी पनि दुर्घटनामा परेको सुनेर साह्रै नमज्जा लागेको छ ।’
यस्तै सेर्तुङ गाउँ विकास समिति वडा नं ९ हिन्दुङका लारुप तामाङले पनि अनुदान पाउनको लागि बुबालाइ गाउँ लिनको लागि जादै गर्दा ज्यान गुमाउन पुगे । अनपढ आमालाइ लिएर सदरमुकाममा पैसा लिन आएका लारुप पैसा लिनको लागि बुबा नै चाहिने भएपनि दमका विरामी बुबालाइ लिनको लागि सेर्तुङ जाँदै गर्दा दुर्घटनामा परे । लारुपका छिमेकी जीतमान तामाङले भने, ‘घर नाप्नको लागि पुगेको इन्जिनियरले लारुपको आमाको नाममा निस्सा दिएछ, लाभग्राहीको सुचिमा बुबाको नाम आएछ, निस्सा अनुसार आमाले सम्झौता गरेको भएपनि पैसा लिनको लागि बुवा अनिबार्य चाहिने भएपछी गाउँमा बुबालाइ लिन जाँदै गर्दा लारुप दुर्घटनामा परेको रहेछ ।’