भीरबाट बस खस्दा १९ जनाको मृत्यु,अधिकांश सरकारले दिएको अनुदानको पहिलो किस्ता लिएर फर्केका भूकम्पपीडित

असोज ११ मार्पाक (धादिङ) : सदरमुकाम धादिङवेशीबाट किन्ताङफेदी जाँदै गरेको बस उत्तरी धादिङको मार्पाक गाउँ विकास समितिमा दुर्घटना हुँदा १९ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा पर्नेहरू अधिकांश सरकारले भूकम्पपीडितका लागि घर बनाउन दिएको अनुदानको पहिलो किस्ताबापत ५० हजार रूपैयाँ लिएर फर्केका उत्तरी धादिङका स्थानीय बासिन्दा छन् ।
साँघुरो सडकका कारण सडकको छेउ भासिएर खसेको उक्त बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको हो । मर्नेहरुमध्ये धेरैजसो सत्यदेवी गाउँ विकास समितिका छन । उक्त दुर्घटनामा अरू १७ जना घाइते भएका छन् ।
धादिङवेशीको टिकट काउन्टरबाट ३० जनाको चलानी लिएर किन्ताङफेदी गएको गाडीमा बीच बाटोबाट पनि यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भनेर यकिन हुन नसकेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये १३ जनालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ ।
स्थानीय मरिचमान तामाङले भने, ‘त्यो ठाउँमा पहिले पनि बेला–बेला पहिरो खसिरहेको हुन्थ्यो, गएको बर्खामा पनि पहिरो खसेर केही दिनअघि मात्रै पन्छाएर गाडी चल्न सुरु भएको थियो । यसै त साँघुरो बाटो । त्यहीमाथि आज पनि कुनापट्टि माटो थुप्रिएकाले छेउबाट गाडी अगाडि बढाउँदा सडककोछेउ भासिएछ । बस खसेर यत्रो क्षति भयो ।’
उत्तरी धादिङ जोड्ने साँङकोष–तिप्लिङ सडक खण्ड गएको बर्खामासमा सवारीका साधन चलाउनै नसक्ने गरी बिग्रिएको थियो । त्यही बिग्रिएको सडकमा यात्रा गर्नु त्यस क्षेत्रका स्थानीयहरुको बाध्यता रहेको छ । दार्खाकै स्थानीय सोमबहादुर तामाङले भने, ‘सडकको दुरावस्थाका दुर्घटना जुनसुकै बेला हुनसक्छ भन्ने लागेको थियो । आज १९ जनाको ज्यान जाने गरी दुःखद दुर्घटना भयो ।’
‘घटनास्थलमा पुग्दा शव र घाइतेहरु यत्रतत्र छरिएको अवस्थामा थियो, हामी केही स्थानियहरु मिलेर पहिले घाइतेको खोजी र उद्धार तर्फ लाग्यौैँ ।’ घटनालगत्तै घटनास्थल पुगेका मरिचमान तामाङले भने, ‘केही वेरमै हेलिकप्टर आइपुग्यो घाइतेहरुलाइ हेलिमार्फत काठमाडौँ पठायौँ ।’
मृतकहरुमा सत्यदेवी गाउँविकास समिति वडा नं २ का मेहन्दीजोङ तामाङ, चित्रमाया तामाङ, रंग सिं तामाङ र रौता तामाङ, सत्यदेवी ३ का लीला बहादुर थिङ, सत्यदेवी ९ का रावन तामाङ, मार्पाक ५ का दिलकुमार अधिकारी, कमला पौडेल र पदमबहादुर थापा छन ।
यसैगरि गुम्दी ८ का रुद्रबहादुर घले, दार्खा ९ का रामचन्द्र सापकोटा, री ८ का मान बहादुर तामाङ, री ८ कै चन्द्र तामाङ, री २ का टेक बहादुर तामाङ र खिया लामा, सेर्तुङ ९ का लारुप तामाङ र झार्लाङ १ का मेन्छे तामाङ र बसचालक गोर्खाका गंगवीर विश्वकर्माको पनि घटनास्थलमा नै मृत्यु भएको हो ।
मृतकमध्ये दार्खा ९ कि धनकुमारी सापकोटाको भने उपचारको लागि काठमाडौं पुर्याएपछि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पन्जियारले जानकारी दिए ।घटना भएको थाहा पाउने वित्तिकै काठमाडौमै रहेको टानका पुर्व अध्यक्ष एवं नेपाली काँङग्रेस धादिङका सभापति रमेश धमला हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए । उनी गएको हेलिकप्टरबाट ६ जना गम्भीर घाइतेलाइ तत्कालै काठमाडौ पठाइएको र ७ जना घाइतेलाइ नेपाली सेनाको हेलिकप्टर झिकाएर थप उपचारको लागि शिक्षण अस्पताल महाराज लगिएको धमलाले जानकारी दिए ।