धादिङमा बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या १८, १३ जनाको हेलिकप्टरबाट उद्धार, मृतक मध्ये १३ जनाको सनाखत

असोज ११, काठमाडौं : धादिङको मार्पाक गाउँ विकास समिति वडा नं ६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । घटनामा २० भन्दा बढी घाइतेको भएको र घाइेते मध्ये १३ जनालाइ हेलिकप्टरको सहायताले थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
धादिङवेशीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्वरको बस मार्पाक गाउँ विकास समितिको बडा नं ६ को लपाङफेदीमा सडकबाट खसेर दुर्घटना भएको घटनास्थलमा रहेका स्थानिय मरिचमान तामाङले जानकारी दिएका छन । दुर्घटनामा पर्नेहरु अधिकाँश नेपाल सरकारले घर बनाउन दिएको २ लाख रुपैया लिएर जाने उत्तरी धादिङका स्थानीयहरु रहेको तामाङले बताए ।
धादिङवेशीको टिकट काउन्टरबाट ३० जनाको चलानी लिएर किन्ताङफेदी गएको गाडीमा वीच बाटोबाट पनि यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भनेर खुल्न सकेको छैन ।उत्तरी धादिङ तर्फ जाने बाटो बर्षातका कारण जीर्ण भएको र जीर्ण सडकमा धेरै यात्रुहरुको भारका कारण सडकबाट तल खसेर दुर्घटना भएको अनुमान गरिएको छ ।
मृतक मध्ये १३ जनाको सनाखत भएको छ । जसमा सत्येदेवी गाउँ विकास समिति वडा नं २ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ बर्षिय छोरा(नाम नखुलेको), सत्येदेवी ३ का तिल बहादुर तामाङ, री गाउँ विकास समिति ८ का चन्द्रमान तामाङ, वडा नं ८ कै मन तामाङ, री २ का कासा लामा तामाङ, दार्खा ९ का रामचन्द्र सापकोटा, मार्पाक ५ की दिल कुमारी पौडेल र उनकी छोरी कमला पौडेल रहेका छन । त्यसैगरि बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको हो ।
घटनालगत्तै काठमाडौमै रहेको नेपाली काँङग्रेस धादिङका सभापति एवं टानका पुर्व अध्यक्ष रमेश धमलाइ हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए । उनी गएको हेलिकप्टरबाट ६ गम्भीर घाइतेलाइ तत्कालै काठमामाण्डौ पठाइएको र थप ७ जनालाइ नेपाली सेनाको हेलिकप्टर झिकाएर थप उपचारको लागि शिक्षण अस्पताल महाराज लगिएको धमलाले जानकारी दिए ।
घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा एक टोली घटनास्थल गएको छ । सदरमुकाम धादिङवेशीबाट साढे ३ घण्टाको दुरीमा रहेपछि बर्खाको समयमा परेको पानीले सडक एकदर्म जीर्ण बनाएको त्यस क्षेत्रमा जहिलेपनि जोखिमपुर्ण यात्रा हुने गरेको छ ।