लेख्य परम्परा उन्मुख भाषाहरुको लेखन पद्धतिको विकास कसरी ?

-अमृत योन्जन तामाङ
गत एक महिनादेखि नेपाली भाषाको लेखन पद्धतिबारेको विवाद बाहिर आएको छ। अब त जोस जाँगर टुङ्गिएको जस्तो पनि छ। एउटा समुह लेखन नियमबद्ध हुनु पर्छ भन्ने पक्षमा छन् भने अर्को लेखन नियमवद्ध हुनु हुदैन भन्ने पक्षमा देखिएका छन्। हामी अहिले यसतिर नलागौ। तर मातृभाषीहरुले पनि यसबारे चासो देखाएर अनि लेखन निके जटिल प्रक्रिया जस्तो लागेर मलाई पनि यस वहसबारे सोध्न थाले। मैले उनीहरुलाई सम्झाइ रहेँ ।
लेखन पद्धति सरल बनाए सरल हुन्छ र जटिल बनाइ जटिल पनि। लेख्य परम्परा नभएका वा लेख्य परम्परा उन्मुख भाषाहरुले आफ्ने भाषाको लेखन पद्धति (मानकीसरण) नियमवद्ध र सरल बनाउनु नै पर्छ नत्र नेपाली भाषाको जस्तै जटिल हुन सक्छ। बुझ्नु पर्ने कुरा के भने मानकीकरण वा लेखन पद्धति भनेको भाषाको व्याकरण होइन। यो सहमति वा मानेको कुरा हो।
तिन-चारवटा नियम वा सिद्धान्तमा कुनै पनि भाषाको मानकीकरणको विकास गर्न सकिन्छ। तामाङ लेखन यसै पद्धतिमा आधारित छ । यसरी लेखन पद्धतिको विकास गरौं । नेपालीको विवाद देखेर नआतिऔ।
(१) वर्ण लेखन सम्वन्धी – प्रत्येक भाषाको आ-आफ्नै वर्ण व्यवस्था हुन्छ। एउटा भाषाको वर्ण व्यवस्था अर्को भाषाको वर्ण व्यवस्थासँग ठ्यक्कै मिल्दैन। यसर्थ सर्वप्रथम आफ्नो भाषाको वर्ण पहिचान (स्वर, व्यञ्जन र खण्डेत्तर वर्ण) गर्ने र पहिचान भएको वर्णहरु मात्र लेख्ने गर्ने पर्छ।
(२) शब्द लेखन सम्वन्धी- आफ्ने भाषाको उच्चारण पद्धति अनुसार शब्द लेख्नु पर्दछ। गैर-मातृभाषाका शब्द (नेपाली, हिन्दी, उर्दु, संस्कृत, तिब्बती, अङ्ग्रेजी आदि)लाई पनि आफ्नो भाषाको नियममा ढाल्नु पर्छ। तामाङ भाषाले यसलाई तामाङीकरण भनेको छ।
(३) पदयोग र पदवियोग – प्रत्येक शब्दको स्वतन्त्र सत्ता हुन्छ भन्ने कुरा स्वीकार्नु पर्छ। सकेसम्म पद वियोग गरेर लेख्नु पर्छ। एक पछि हर्को शब्द जोडनु हुदैन। चिन्हकहरु (markers) जस्तै- कारक, वचन, लैङ्गिकता, काल, पक्ष, भाव आदि देखाउने शब्दांशहरु र निपात शब्दलाई छुट्ट्यार लेख्न नसकिने भए मात्र पदयोग गर्नु पर्छ ।
(४) भोट-बर्मेली भाषा एक अक्षरीय (प्रत्येक अक्षरको अर्थ लाग्ने) परिवारको भाषा भएकोले एक अक्षरलाई शब्द मान्ने कि दुइ वा तिन अक्षरलाई भन्ने द्विविधा हुन सक्दछ। यसो भएमा अर्थ निस्कने अक्षर वा अक्षर समुहलाई शब्द मान्नु पर्दछ।
नेपाली लेखनको विवाद यिनै तिनवटा वुँदामा केन्द्रित रह्यो र छ। यसो हुनुको मूख्य कारण (१) भाववादी लेखनले वर्ण वा अक्षरलाई “सरस्वती” वा “ब्रम्ह” मानेकोले हो। लेखनमा वैज्ञानिकता हुरु पर्दछ । विज्ञानको काम रहस्यहरुलाई उद्घाटन गर्नु हो। (२) दोस्रो समस्या भनेको नेपाली भाषाको आफ्नो लिपि नहुनाले हो। नेपालीले संस्कृत भाषाको लागि विकास गरेको (देव)नागरी लिपिलाई अंगालेकोले हो। भाववादीहरु नेपाली भाषाको उच्चारणमा भए पनि नभए पनि संस्कृत भाषाका सबै बर्णहरु हुबहु राखिनु पर्छ भन्छन्। भाषा विकासको लागि यो घातक काम हो। तिब्बती भाषाको लागि लिपिको विकास गर्दा सम्भोटाले त्यसो गरेनन्। तिब्बती भाषाको लागि चाहिने लिपि मात्र लिए र आवश्यक लिपिको विकास गरे। यसलाई पनि मनन गरौ ।
नेपालका अधिकाँस मातृभाषाहरुको आफ्नो लिपि छैन। उपलब्ध लिपिको प्रयोग गर्दा आफ्नो भाषाको वर्ण मात्र प्रयोग गर्ने गर्नु पर्छ ।