जिन्दगीमा पटक–पटक जम्प गरेको छु – कार्यकारी प्रमुख कुलमान घिसिङ तामाङ

असोज – १ ,काठमाडौं | नेपाल विद्युत्त प्राधिकरणका नव नियुक्त कार्यकारी प्रमुख कुलमान घिसिङले अबको दुई बर्षमा हरेक नेपालीको घरमा विजुली बाल्ने घोषणा गरेका छन् । शनिवार भक्तपुरमा रामेछापका स्थानीयहरुले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै घिसिङले चुनौतिका बावजुद जनआकांक्षा पुरा गर्नका लागी काम गरेर देखाउने बताए ।
‘यहाँ केही काम भएको छैन भन्नेकुरा मैले चिलिमेको एमडी हुँदा अनुभुत गरेको छु । चिलिमे जलविद्युत्त कम्पनी मार्फत दुई तिनओटा साना प्रोजेक्ट शुरु गर्दा मलाई धेरैले भने, ‘कस्तो राम्रो शुरुवात !’ सानो सुरुवात गर्दा चिलीमेले मलाई चिनायो’ उनले भने, ‘रसुवाका छाप्रो र ओडारमा बस्नेहरुलाई चिलिमेको शेयर दिँदा उनीहरु अहिले लखपति बनेका छन्, बिस्तारै करोडपती बन्छन् ।’
जन–जनमा शेयर र घर–घरमा बिजुलीको उज्यालो पुर्याउने लक्ष्य सहित आफुले विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकको पदभर सम्हालेको उल्लेख गर्दै घिसीङले भने, ‘विद्युत्त विकासका लागी हरेक जनतालाई शेयर दिनुपर्छ, एक समयमा हरेक नेपालीले भनुन्, ‘शेयर हाल्ने पैसा नै बाँकी छैन् !’
तत्कालिन मन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत्त कम्पनीबाट हटाएपछि आफु लामो समय काम बिहीन भएर बसेको तितो अनुभव सुनाउँदै उनले भने, ‘यहाँ जोश र जाँगर हुनेलाई काम दिँदैनन्, जाँगर मरेपछी अवसर दिँदा जनआकांक्षा अनुसारको परिणाम नआउन सक्छ ।’
त्यस्तै प्राधिकरणका केही सिनियर कर्मचारीले जुनियरलाई एमडी बनाएकोमा असन्तुष्टि जनाएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘४२ बर्षमा बाराक ओवामा राष्ट्रपति भएका थिए, अनि ४८ बर्ष पुग्दा म कसरी जुनियर भएँ ?’
नौं वर्षमा पहिलोपटक स्कुल
ग्रामिण किसान परिवारमा जन्मिएका कुलमान घिसिङ नौ बर्षका उमेरमा मात्रै विद्यालय भर्ना हुने अवसर पाएका थिए । रामेछापको बेथान–७ डहुमा जन्मिएका घिसीङ नौं बर्षको उमेरमा डहु माविमा एक कक्षामा भर्ना भएका थिए । त्यसपछछि एकैपटक तीन कक्षामा जम्प गर्दै कुशेश्वर मा.बी बेथानमा भर्ना भएका घिसीङले अमर आदर्श स्कुल नयाँ बानेश्वरबाट एसएलसी उत्तिर्ण गरे ।
अमृत साईन्स क्याम्पसबाट आईएस्सी सकेपछी छात्रवृत्तिमा भारत पुगेका उनले जमशेरपुरबाट ईलेक्टोनिक ईन्जिनीयरीङमा डिप्लोमा पुरा गरेका थिए । त्रिवी बाट मास्टर्स ईन इन्जिनीयरीङ पुरा गरेका घिसीङले एस ईन्स्टिच्युटबाट एमबिए गरेका छन् ।
प्राधिकराणको सातौं तहबाट सेवा शुरु गरेका घिसिङले भने, ‘मैले जिन्दगीमा पटक–पटक जम्प गरेको छु, दुई कक्षा र ६ कक्षा जम्प गरेर एकैपटक माथिल्लो कक्षा पढेँ ।’ उनले थपे, ‘सातौं तहबाट जागिर शुरु गरेको थिएँ, एकैपटक नवौं तहमा जम्प गरेँ, ११ औं तहमा काम गर्दै थिएँ एकैपटक जम्प गरेर प्राधिकरणको एमडी भएको छु ।’