भारतीय प्रधानमन्त्री मोदी द्वारा ‘समावेशी संविधान’ मा जोड

१६ सेप्टेम्बर २०१६ | चार दिने राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसंग हैदराबाद हाउसमा औपचारिक भेटवार्ता गरेका छन्।भेटमा द्विपक्षीय सम्बन्ध थप दरिलो बनाउनेबारे कुराकानी भएको दुई नेताहरुले बताएका छन्।नेपालको शान्ति, स्थिरता तथा आर्थिक समृद्धि हाम्रा साझा उद्देश्य हुन् |
शुरुमा एक्लाएक्लै भेटेका दुई नेताले पछि दुई देशका अधिकारीहरुसहित सामूहिक द्विपक्षीय वार्ता गरे।
वार्तापश्चात संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा प्रचण्डको नेतृत्वमा विविधतापूर्ण समाजका सबै पक्षका आकांक्षा समेट्ने गरि समावेशी छलफलमार्फत संविधानको सफलतापूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
“नेपालको शान्ति, स्थिरता तथा आर्थिक समृद्धि हाम्रा साझा उद्देश्य हुन्,” उनले भने।
उनी लगत्तै बोलेका प्रचण्डले नेपालमा संविधानको घोषणा हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै आफ्नो सरकारले सबै पक्षलाई समेट्ने प्रयास गरिरहेको उल्लेख गरे।द्विपक्षीय वार्तामा खासगरि आर्थिक र विकासका एजेन्डामा छलफल भएका छन् |
प्रधानमन्त्री प्रचण्डले विगतमा भएका सहमति कार्यान्वयनका लागि समयसीमासहित अघि बढ्न दुवै नेता सहमत भएको बताए। मोदीसंगको भेट अगाडि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भवनको प्राङगणमा सम्मान ग्रहण गरी राजघाटस्थित महात्मा गान्धीको समाधिमा माल्यार्पण गरेका थिए।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भवनमा भेटिन्।
शुक्रबार नै भारतीय अर्थमन्त्री र उर्जा राज्यमन्त्रीसँग छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले साँझ राष्ट्रपति प्रणव मुखर्जीसँग औपचारिक रुपमा भेटेर उनलाई नेपाल भ्रमणको निम्तो दिने बताइएको छ | @ बीबीसीनेपाली सेवा