नेपाल तामाङ घेदुङले शक्ति प्रदर्शन गर्ने

काठमाडौं । संविधान संशोधनमार्फत तामाङ समुदायको पुख्र्यौली भूगोललाई ताम्सालिङ प्रदेश घोषणा गरिनुपर्ने माग गर्दै नेपाल तामाङ घेदुङले पूर्व र पश्चिममा बृहत् शक्ति प्रदर्शनको तयारी गरेको छ ।
घेदुङ स्रोतका अनुसार असोज १३ गते पूर्वको धनकुटा हिलेमा र १७ गते पश्चिमको तनहुँ जिल्लामा जनप्रदर्शन गर्ने भएको छ । यसको लागि दुवै क्षेत्रका घेदुङ कार्यकर्ताहरु सक्रियताका साथ लागि परेका छन् । “हामी घरदैलो कार्यक्रम गरिरहेका छौ”– नेपाल तामाङ घेदुङ धनकुटाका जिल्ला अध्यक्ष सीताराम तामाङले भने ।
यसैगरी तनहुँमा हुने कार्यक्रमको लागि आसपासका जिल्लाहरु कास्की, लमजुङ र गोरखाबाट समेत जनसागर उतार्ने तयारी गरिरहेको घेदुङका केन्द्रीय सदस्य धनसुब्बा तामाङले बताए । “संविधान निर्माणको बखत सडकमा उत्रिन नसक्दा संविधानमा ताम्सालिङ पाएनौ”– उनले अगाडि भने– “त्यसैले संशोधनको बेला शक्ति प्रदर्शन गर्न लागेका हौ ।”
भेलामार्फत थप आन्दोलनको घोषणा समेत गरिने प्रदेश नं. १ का अध्यक्ष मित्रसेन योञ्जन तामाङले बताए । बिना आन्दोलन ताम्सालिङ नपाइने हुँदा आफूहरुले क्रान्तिको बाटो समात्न बाध्य भएको योञ्जनको भनाई थियो ।
घेदुङको प्रदेश १ अन्तर्गतका जिल्लाहरुले गत भदौ २० गते नै संविधान संशोधनमार्फत ताम्सालिङ र तामाङ समुदायको अधिकार सुनिश्चितताको लागि प्रमूख जिल्ला अधिकारीमार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन् । प्रदेश ४ मा पनि सोही खालको आन्दोलनको कार्यक्रम तयारी गरिरहेको प्रदेश अध्यक्ष दिपक वाईबा तामाङले बताए ।
दुवै स्थानको उद्घाटन सत्रमा ताम्बा, लामा, बोन्बोको झाँकी प्रदर्शनका साथै विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन् भने बन्द सत्रमा प्रदेश प्रमूखहरुले सांगठनिक तथा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमूखको कार्यपत्रमाथि जिल्ला, जिल्लाका प्रतिनिधिहरुले आफ्नो धारणा सहित पारित गर्ने र आन्दोलनलाई सशक्त ढंगले अघि बढाउने घेदुङ केन्द्रीय कार्यालयले जनाएको छ ।
दुवै कार्यक्रममा घेदुङका अध्यक्ष मोहन गोले तामाङ र अन्य केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनीहरुले शान्तिपूर्ण आन्दोलनबाटै पहिचान र अधिकार सुनिश्चित गरेर छाड्ने दाबी गरे । @ नेपाल तामाङ घेदुङ डट ओआरजी