लक्ष्मि मोक्तान तामाङको बयान ‘श्रीमानलाई प्रहरीले गोलि हानेर मार्यो, लास जलाउन पाएन’

काठमाडौं– २०१८ सालमा तत्कालीन पञ्चायत व्यवस्थाले आफ्नै आँखा अगाडि पतिलाई गोली ठोकेर मारेको दृश्य अझै ताजै छ लक्ष्मीमाया मोक्तानसँग । ‘जेलमै छँदा बिरामी परेका मेरा श्रीमान बलमान मोक्तानलाई साथीहरूले भगाएर घरमा ल्याए । त्यसको केही समयमै प्रशासनले चारैतिरबाट घर घेरा हाल्यो । पतिलाई घर नजिकै लगेर गोली हाने । म र मेरी सासु बेहोश भएर भुइँमा लड्यौँ ।’ उनले रुँदै बताइन् ।
‘त्यसपछि त कति हण्डर खाएँ मलाई मात्र थाहा छ,’ आँसु पुछ्दै लक्ष्मी मायाले भनिन्, ‘आमा, मलाई मार्छ अब भन्दै उहाँले छोराछोरीलाई राम्रोसँग पाल्न भन्नुभयो ।’ प्रहरीले आफ्ना पतिको छातीमा गोली ठोकेपछि आफू र आफ्नी सासु अचेत भएको र आफूहरुले बेहोशीमा बाटो बिराएर घर नपुगी अन्तै पुगेको समेत लक्ष्मीमायाले सम्झिइन् । उनको पतिलाई प्रशासनले जङ्गलमा लगेर मारेको थियो ।
बलबहादुर राईसँग सहिद बलमानको उठबस
राणा शासनका विरुद्ध तत्कालीन कांग्रेसको तर्फबाट लडेका बलमान मोक्तानलाई पछि पञ्चायतविरुद्ध लागेको आरोपमा २०१७ सालमा पक्राउ गरेर जेलमा राखिएको उनका छोरा कंसलाल मोक्तानले बताए । ‘बुबा कांग्रेस हुनुहुन्थ्यो रे । बलबहादुर राईहरूसँग उहाँको उठबस थियो रे । पञ्चायत व्यवस्था सुरु भएपछि उहाँहरूलाई पञ्चायतले जेलमा राखेको रहेछ ।
पछि १८ साल जेठमा बुवाका साथीहरूले कसोकसो भगाएर घरमा ल्याएका रहेछन् । चार दिनपछि पुलिसले घरबाट बोकेर जङ्गलमा लगेर गोली ठोकेको भन्ने आमाले भनेको सुनेको हुँ ।’ प्रहरीले नै लास वपेत्ता पारेपछि मोक्तान परिवारले शव जलाउन समेत पाएनन् ।
सानो कदको दुब्लो पातलो बलमान मोक्तानलाई कांग्रेसले लगेको धुमिल सम्झना सुनाउँदै लक्ष्मीमायाले पतिको मृत्युपछि काखे नानीहरूलाई लिएर तराई झरेको बताइन् । उदयपुरको आफ्नो थातथलोलाई छोडेर माइतीगाउँ लालबन्दी झर्दा उनीसँग आफ्नो भन्ने केही पनि थिएन । ‘त्यसपछि मैले अर्काको घरमा बसेर उनीहरूको काम गरिदिएर जीवन धानेँ ।’ लक्ष्मीले बताइन् ।
फोके बाबुसाहेबको घरमा पाँच वर्षको उमेरमा लिति सोहरेँ : छोरा
छोरा कंसलाल पनि पाँच वर्षको उमेरमा ‘फोके वाबुसाहेब’को घरमा घोडाको लिती सोहोर्न परेको सम्झना सुनाउँछन् । ‘महिनाको ५ रुपैयाँमा काम गरेर वर्षमा ६० रुपैयाँ कमाउँथे म । आमालाई सहयोग होस् भनेर घोडाको लिती सोहोरेको हुँ मैले ।’ १३ वर्षको उमेरमा आफूले दिदीको बिहे गर्न खर्च जोरजाम गरेको बाद्यता उल्लेख गर्दै कंसलालले भने, ‘बाबुको हत्यापछिको दुःखले सृंखलाले अहिलेसम्म पनि छोडेको छैन ।’
पञ्चायतले बलमानको हत्या मात्रै गरेन, मोक्तान परिवारको दस हल गोरुले जोत्ने खेतीपाती सबै लुटे । त्यसपछि बेघरबार बनेको मोक्तान परिवार अहिले काठमाडौं आइपुगेको छ । १०१ वर्षकी लक्ष्मीमाया मोक्तान पशुपतिनाथ मन्दिर परिसरमा मागेर बस्छिन् । छोरा कंसलाल भने मजदुरी गरेर जहान पाल्छन् । ‘रातो ठुलो घर थियो’, लक्ष्मी मायाले भनिन् ‘घरमा पनि आगो लगायो । भैंसी थिए, गाईगोरु थिए, खसी बाख्रा सबै लुटेर लगे । म रुँदै रुँदै तराई झरें ।
बाबु मारिँदा २ वर्षको थिए कंसलाल
ज्याला गरेर आफ्ना चार सन्तान हुर्काएकी लक्ष्मीमायाको कान्छो छोरा कंसलाल बाबु मारिँदा २ वर्षका मात्र थिए । हामीलाई ‘जायजाथ जफत ’(सर्वस्व हरण) ग-यो । लक्ष्मीमायाले दुखेसो गरिन्, ‘म त्यतिबेला आफू जता गयो, बालबच्चा त्यतै बोकेर हिँडें । अर्को बिहे गर्न मन लागेन, यिनैको मुख हेरेर बसें ।’
बाबुको मृत्युपछि कंसलाल आमाको सहाराको रूपमा अर्काको घरमा बस्दै आए । अहिले त बाबुलाई शहीद घोषणा गराउन भनेर काठमाडौं आएको पनि बिस वर्ष भइसक्यो । सर्वस्वहरण भएबापत मोक्तान परिवारले अहिलेसम्म राज्यले दिएको १० हजार भन्दा बाहेक केही सुविधा पाएका छैनन् ।
सहिद मानिएनन् बलमान
२०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा रहेको राजनीतिक पीडित सहायता समितिले बलमान मोक्तानलाई पनि शहीदको कोटिमा राखेर रातो किताबका उनको नाम चढेको थियो । त्यसैबेला मोक्तान परिवारले दश हजार रुपैयाँ पाएको बताए । तर आजसम्म पनि बलमानलाई राज्यले शहीद घोषणा नगरेको कंसलालले दुखेसो पोखे ।
‘पटकपटक देशमा राजनीतिक परिवर्तनहरू भए । कुकुरले टोकेका, भिरबाट लडेका, छारे रोगले मरेका समेत शहीद घोषणा भए तर मेरो बुबालाई कसैले वास्ता गरेन,’ कंसलालले भने, ‘यो देशमा दलालहरूको मात्र हालीमुहाली छ, मन्त्रीहरूका अरौटे–भरौटेको भनेको सबै हुन्छ । मेरो त कोही छैन, कसरी हुन्छ काम ?
पछिल्लोपटक वर्तमान रक्षामन्त्री भीम रावलको अध्यक्षतामा बनेको कार्यदलले पञ्चायतकालमा मारिएका २२ जनालाई शहीद घोषणा गरेको छ । यो चरणमा आफ्ना बुवा पनि शहीद घोषणा हुनेमा आफू आशावादी भए पनि एमाले र काँग्रेसले च्यापेका मान्छे मात्र शहीद घोषणा भएको कंसलालले आरोप लगाए । ‘भीम रावलकोमा फाइल पुगेको छ तर उहाँले आफ्नो दायरा सानो भएको बताएर मेरो बुबालाई शहीद घोषणा गर्न नसकेको भनेर पन्छिनुभयो ।’
‘हामी पाखामा फ्याकिएका माछाजस्ता, बन्दुक बोकेर हिँडौँजस्तो लाग्छ’