युएईमा जनजाति पत्रकार महासंघ (फोनिज) गठन हुने

भदौ ३० – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युएई शाखा गठन गर्ने तयारी गरिएको छ । फोनिज गठनका लागि आदिवासी जनजाति महासंघ यूएईले एक अन्र्तक्रिया कार्यक्रम समेत गरेको छ ।
आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा ‘सञ्चार माध्यममा आदिवासी जनजातिको भूमिका’ शीर्षकमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । फोनिज चितवनका अध्यक्ष सन्त कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको पनि सहभागिता थियो ।
राज्यको विभेदकारी नीतिकै कारण आदिवासी जनजातिहरूका सरोकारका विषयहरुले सञ्चार माध्यममा प्राथमिकता नपाएको गुनासो कार्यक्रममा बोल्ने अधिकांशले गुनासो गरे । त्यसकै विकल्पमा आदिवासी जनजाति पत्रकारहरूको पहलमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गठन गरी पत्रकारिता क्षेत्रमा नयाँ आयाम थप्ने प्रयास गरिएको प्रमुख अतिथी सन्त कुमार चौधरीले बताउनु भयो ।
नेपाली सञ्चार माध्यममा आदिवासी युवाको आवश्यकता र महत्व अपरिहार्य रहेको हुनाले युएईमा पनि फोनिज गठन गर्न उहाँले सुझाउनु भयो ।
युएईको हकमा समाचार पूर्वाग्राही तरिकाले नगरिएको भन्दै फोनिज युएई गठन गरिए नेपाल पत्रकार महासंघले सक्दो सहयोग गर्ने अध्यक्ष त्रिलोचन कोइरालाको बताउनु भयो । फोनिज गठन भए महासंघ युएई शाखालाई पनि काम गर्न सहज हुने कोइरालाको भनाइ थियो ।
आदिवासी जनजाती महासंघ युएईको पहलमा तत्काल ११ वटा जातीय संस्थाबाट कम्तीमा दुई दुई जना प्रतिनिधि रहने गरी फोनिज गठन गर्ने र लगतै अनलाइन न्युज पोर्टल निर्माण गरी फोनिज युएईको गतिविधि अगाडी बढाउने घोषणा महासंघका युएई अध्यक्ष डेर राज लम तमुले गर्नुभयो ।
कार्यक्रममा शेर्पा किदुक युएईका अध्यक्ष पासाङ् रिन्जे शेर्पा, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, प्रवासी थारू समाज युएईका अध्यक्ष किशोर चौधरी, प्रवासी माझी समाज युएईका अध्यक्ष दिनेश माझी, प्रवासी भुजेल समाज सेवा समिति यूएईका प्रतिनिधि तुल बहादुर घर्ती, तमु समाज युएईका प्रतिनिधी उर्मिला गुरूङ, मगर समाज युएईका उपाध्यक्ष रेशम सोमाइ र किरात राई यायोक्खा युएईका सदस्य विजय लक्ष्मी राईले कार्य सम्पादन गर्नमा ऐक्यवद्दता समेत जनाउनु भएको थियो ।
सोही अवसरमा बोल्दै थारू कल्याणकारी अन्तर्राष्ट्रिय समितिका सदस्य तथा मध्यपूर्वी एसिया इन्चार्ज नेत्र थनेतले पनि फोनिज गठन प्रक्रिया तथा फोनिजको मातहतमा सञ्चालन गरिने अनलाइनलाई लाग्ने खर्चमा आफूले आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । @उज्ज्यालो अनलाइन |