फास्ट ट्रयाक हामी नेपालीले नै निर्माण गर्नुपर्छ : नेतृ हिसिला यमी

काठमाडौं, २८ भदौ । नयाँ शक्ति नेपालकी अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख हिसिला यमीले नेपाल भारतबीचको सम्बन्ध परम्परागत शितयुद्धकालीन समयको जस्तो सुरक्षा अवधारणालाई प्राथमिकतामा राखेर भन्दा पनि आर्थिक आधारमा हेनुपर्ने बताएकी छन् । नयाँ शक्ति नेपाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभागले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका विषयमा केन्द्रित रहेर बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएकी हुन् ।
पत्रकार सम्मेलनमा नेतृ यमीले बदलिदो समयमा नेपालको छिमेकीसँगको सम्बन्ध संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा हुनुपर्ने पनि बताइन् । उनले राजनीतिकरुपले स्थिर र आर्थिकरुपले समृद्ध नेपाल मात्र छिमेकी मुलुक भारत र चीनको सुरक्षाको भरपर्दो आधार बन्न सक्ने नवीन धारणा स्थापित गर्नुपर्ने पनि बताइन् । पूर्वमन्त्री समेत रहेकी नेतृ यमीले भ्रमणका बेला भारतसँग भइरहेको व्यापार घाटा कम गर्न जोड दिनुका साथै यो पटकको भ्रमणमा नयाँ परियोजनामा हस्ताक्षर गर्नुभन्दा विगतमा भएका परियोजना निर्माणका निम्ति पहल गर्नुपर्नेमा पनि जोड दिइन् ।
सञ्चारकर्मीको एक प्रश्नमा नेतृ यमीले काठमाडौं–निजगढ फास्ट ट्रयाक भारत वा अन्य देशलाई दिनुभन्दा विदेशीसँग ऋण सहयोग लिएरै भएपनि आफैंले निर्माण गर्नुपर्ने बताइन् । सोही कार्यक्रममा पूर्व राजदूत एवं नयाँ शक्ति नेपालका अन्तर्राष्ट्रिय विभाग सदस्य प्रधुम्न शाहले सुपुर्दगी सन्धीको विषयमा सोधिएको प्रश्नमा सुपुर्दगि र पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धी सार्कले पनि समानन्तर सुपुर्दगी तथा कानुनी सहायता कन्वेन्शन पारित गरिसकेकोले थप दुई पक्षीय सन्धी आवश्यक नभएको बताए । उनले तेस्रो मुलुकको नागरिकको सुपुर्दगिबारे विशेष गृहकार्यको आवश्यकता रहेको बताए ।
पत्रकार सम्मेलनमा पूर्वएआईजी एवम् विभाग सदस्य नारायण पाण्डेले नेपाल–भारतबीच रहँदै आएको परम्परागत सुरक्षा अवधारणालाई वर्तमान परिवेशअनुसार परिमार्जन गर्नुपर्ने विचार राखे । कार्यक्रममा कुमार पौडेल, नवराज सुवेदीलगायतका नयाँ शक्तिका नेतृत्वहरुको उपस्थिति रहेको थियो |