आज मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद मनाइँदै

भदौ २८ गते – नेपालगञ्ज | मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ‘बकर ईद’ आज मङ्गलबार मनाइँदै छ । यो पर्व मासुुका परिकार र बलिदानको पर्वको रूपमा रहेको छ । धनी–गरिब हरेक मुस्लिम परिवारमा यो बेला मासु प्रशस्त हुन्छ । आफ्नो क्षमता अनुसार खसी, राँगा, ऊँट र भेंडालगायतका जनावरलाई ईश्वरको आदेश अनुसार कुरबानी (ईश्वरको नाममा जनावर काट्ने) गरेर यो बेला खाने तथा खुवाउने गरिन्छ ।
कबाब, बिरयानी, कोरमा, स्टुु, सेकुवा, चिली रोष्ट, सादा मासु, उसिनेको मासु, मसाला मासुलगायतका परिकार बकर ईदका परिकार हुन् । अधिकांशका घरमा यी परिकार पाक्ने भएकाले तीन दिनसम्म आफन्त र साथीभाइलाई घरमा बोलाएर खुवाउने चलन छ । मुस्लिम समुदायका चेलीहरू भने पहिलो दिन आफ्नो घरमा पर्व मनाएर दोस्रो दिन माइती आउँछन् ।
खसी र भेंडा खरिद गरेर कुरबानी गर्न सक्नेले सिङ्गै खसी र भेडाको कुरबानी गर्नुपर्ने अनिवार्य धार्मिक नियम छ । राँगा र ऊँटलाई भने छ जना मिलेर खरिद गरी ६ भाग मासु लगाएर दामासाहीबाट बितरण गरिने नियम छ । कुरबानी गरिएको सिङ्गो खसी, भेंडा वा छ भागको एक भागमा परेको राँगा, ऊँटलाई तीन भाग बनाइ एक भाग मासु गरिबलाई अनिवार्य वितरण गरिन्छ । बाँकी दुई भागमध्ये एक भाग घरपरिवारका लागि राखिन्छ र एक भाग मित्र तथा आफन्तलाई ख्वाइन्छ ।
नेपालगञ्जका मुुस्लिम धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार यही नियमका कारण बकर ईदमा धनी र गरिब सबैले पेट भरी मासु खान पाउँछन् । वर्षभरि मासु खान नपाउनेले पनि यस पर्वमा मनभरि मासु खान पाओस भन्ने उदेश्यले नै कुरबानीको मासुलाई तीन भाग लगाएर वितरण गर्ने नियम अल्लाहले बनाएको मौलाना मन्जरीको भनाइ छ ।
धार्मिक मान्यता अनुसार ईश्वरले उनका दूत हजरत इब्राहिमलाई आफ्नो सबैभन्दा प्रिय छोराको कुरबानी गर्ने आदेश दिए । यही आदेश अनुसार हजरत इब्राहिमले छोरालाई कुरबानी गर्नै लागेको बेला ईश्वर उनको बलिदानबाट प्रसन्न भए र छोराको ठाउँमा भेंडा राखिदिए । इब्राहिमको यही बलिदानको सम्झनामा अल्लाहको नाममा जनावरको कुरबानी गरेर मासुु खाने र खुवाउने चलन चलेको हो ।