म्हेन्दोमाया साँझमा – छालाले मोरेको यो डम्फु…..

गायक पुष्प वाइबा विदेशका कार्यक्रममा खुब गाउँछन् । कतार कलाकार संघका अध्यक्षसमेत रहेका उनी यसपालि पहिलो पटक स्वदेशको स्टेजमा देखापरे । शुक्रबार सांस्कृतिक संस्थानमा आयोजित ‘मौलिक सांस्कृतिक साँझ २०७३’ मा उनले ‘म्हेन्दोमाया…’ भन्दै दर्शकलाई निकैबेर नचाए ।
सामाजिक विकास आधार नेपाल धादिङले गरेको कार्यक्रममा वाइबासँगै गायिका इन्दिरा गोले गुरुङ, गायक रोज मोक्तान, हेम वाइबा, कलम खत्री, कीर्ति तामाङ, शैलेश साही, ध्रुव तामाङ लगायतले आ–आफ्ना गीत सुनाएका थिए । सुशीला तामाङको समूहले मारुनी नाचबाट सुरु गरेको कार्यक्रममा म्हेन्दोमाया वा तामाङ सेलोबाहेक नेपाली लोक, पप र आधुनिक गीत गुञ्जिएको थियो । विभिन्न नृत्य टोलीले मौलिक नाच देखाए ।
लामो प्रतीक्षापछि स्टेजमा उक्लेका गायक रोज मोक्तानले ‘तिम्रो घर चाँचरी…’, ‘हेलम्बुको बजारमा…’ र ‘कलकत्ते काइँयो…’ गाउँदा दर्शक कम्मर मर्काउन बाध्य भए । उनीअघि गायिका गोलेले ‘छालाले मोरेको यो डम्फु…’, ‘मायाको सगुन…’ जस्ता सेलो भाका सुनाएकी थिइन् । प्राय: नाच्ने गीत गुञ्जिरहेका बेला गायक शाहीले ‘कुन सञ्जोगले…’ सेन्टिमेन्टल गीत पस्किए भने प्रहसनका लागि निम्त्याइए विकल लामा । ठूलो तालीले स्वागत पाएका गायक खत्रीले चर्चित गीतहरू ‘आत्मामा…’, ‘रात बित्यो…’ लगायत गाए ।
सोही बेला सञ्चिता तामाङ र मुना घलेको समूहले विभिन्न नृत्य देखायो । मौलिक संस्कृतिको प्रवद्र्धन गर्दै मनोरञ्जन प्रदान गर्न कार्यक्रम गरिएको आधार नेपाल, धादिङले जनाएको छ । संस्थाले बर्सेनि सांस्कृतिक साँझ गर्दै आएको छ ।@ कान्तिपुर |