शब्दको नेपथ्यमा वक्ताको अनुहार

– खगेन्द्र संग्रौला,
भाद्र २५, २०७३- शब्दहरू एक्लै हिँड्दैनन्, ती पृष्ठभूमिमा शब्दकर्मीको विचार र प्रवृत्ति बोकेर हिँड्छन्। शब्दकर्मीलाई जब शब्दहरू आफूदेखि अलग, एक्लै र निरपेक्ष रूपले हिँड्छन् भन्ने भ्रम हुन्छ, शब्दहरूले उसलाई न्यायोचित रूपले दण्डित गर्छन्। बरा शङ्कर पोखरेल दण्डित भए। पोखरेलको ट्वीटलाई उनको विचार र प्रवृत्तिबाट अलग्याएर हेर्दा त्यसमा अहिले विवादको जुन हुन्डरी उठ्यो, त्यो उठ्नुपर्ने देखिँदैन। तर तिनका शब्दमा तिनको वैचारिक अनुहार सर्लक्कै टाँसिएर आउँदा हुनुहुनामी भयो। पोखरेलका ट्वीटका शब्दमा झुन्डिएर लोकदृष्टिमा उतिको मात्र अनुहार गोचर भएन, त्यसमा केपी शर्मा ओली प्रकट भए, झलनाथ खनाल उदाए। पोखरेलको ट्वीट त्यस्तो ध्वनि भइदियो, जुन इतिहासको पहरोमा ठोक्किँदा ओली र खनालहरूले मधेसीजनहरूमाथि प्रयोग गरेका यावत् दिव्यवचनहरू प्रतिध्वनित भए।
म ट्वीटको धैर्यवान् पाठक होइन। घर्षणमय जीवनबारे कसले कुन ध्रुवमा उभिएर के भन्यो, यसो बुझ्ने मनसुवाले म हिँड्दा–हिँड्दै ट्वीटहरूको जुलुस हेर्छु। कुनै ट्वीटले आँखालाई खिच्यो र घैँटामा घाम लगायो भने हत्तपत्त रिट्वीट गर्छु, र म फेरि हिँडिहाल्छु। यसरी एकाध मिनेट हिँडेपछि साइबर जगतबाट म फुत्त बाहिर निस्कन्छु। मलाई बित्थामा त्यसमा बरालिनु छैन। तर यसपाला ट्वीट र रिट्वीटहरूले मलाई कुमलकोटीले झैँ गाँजे। विवादको भङ्ग्रालोमा परेका ट्वीटे पोखरेलको दिव्य ट्वीट हेर्नुअघि मेरा आँखा वसन्त बस्नेतको ट्वीटमा कैद हुनपुगे- ‘कहिले ओलीको माखेसाङ्लो, कहिले झलनाथको धोती-प्रदेश, कहिले शङ्करको कालो दिवस। एमाले नेताको अवचेतनमा के छ भन्ने बुझ्न यी तीन उदाहरण काफी छन्।’ अलिबेरमा प्रतिक्रियात्मक कटाक्षसहित किशोर नेपाल भेटिए- ‘ट्वीट मेट्दैमा मनको कालो कहाँ मेटिन्छ? वचन वाक्यको मर्यादा राखिने भए त राजनीति सुध्रिइहाल्थ्यो नि।’ थाहा भयो, ट्वीट लेखक विरोधको आँधीबेरीबीच मैदान छाडेर भागेछन्। किशोर नेपालकै लयमा रामेश्वर खनालले न्युनतम शब्दमा सटिक अर्थ सम्प्रेषण गरे- ‘मसी त मेटियो, दाग मेटिएन।’
हुँदाहुँदा झलक सुवेदीले लेखै ठोकिदिए। पोखरेलका वचनले पैदा गर्ने दूरगामी दु:खबारे झलकले झल्काए- ‘एमालेमा उदाउँदो छवि बनाएका कमरेड पोखरेललाई यसले लामै समय लखेट्ने देखिन्छ।’ उता पोखरेलको अपमानजनक ट्वीटद्वारा आहत भएका मधेसीहरूले कतै तिनको पुत्लादहन गरे, कतै नाराबाजी गरे, कतै मानहानिको अपराधमा उजुरी दिए। उल्का भयो। शङ्कर पोखरेलले ख्याल-ख्यालमा तानेको नाथे एउटा लहरो थियो, एमालेको सिङ्गै पहरो हल्लियो।
पोखरेलको ट्वीट भन्छ- ‘मधेसी जनता अधिकांश कालो वर्णका छन्। मधेसी मोर्चाले असोज ३ लाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या कि अपमान? बुझ्न गाह्रो भो।’ यही ट्वीट मधेसीजनको समानताको आकांक्षाप्रति समभाव राख्ने कुनै व्यक्तिले लेखेको भए सायद प्रतिक्रिया फरक हुन्थ्यो। चिन्तनको नश्लीय परम्पराले कालो रङ्गलाई कुरूपको कोटीमा राखेको छ। एक जमानामा अमेरिकामा कालाहरूलाई गोराहरूका शिक्षालय, गिर्जाघर र होटलमा प्रवेश निषेध थियो। गोरा डोनाल्ड ट्रम्पका नश्लीय कथनहरूमा त्यसको धङधङी अझै ध्वनित हुन्छ। कालो वर्णका मधेस–तराईबासीहरू पहाडी सत्तातन्त्रका नश्लीय दृष्टिमा हेय, तुच्छ र मूर्ख देखिन्छन्। मधेसीजनले र मधेसीजनप्रति समभाव राख्ने पहाडी बन्धुहरूले पोखरेलको ट्वीटमा सनातनी हिसाबले यही अर्थबोध गरे। र तानियो लहरो, हल्लियो एमालेको ‘राष्ट्रवादी’ पहरो।
प्रकृतिमा कालो अरु रङ्गहरूजस्तै केवल एउटा रङ्ग हो। यो न सुन्दर हो, न कुरूप। यो न श्रेष्ठ हो, न तुच्छ। तर संस्कृतिमा प्रवेश गर्दा यसले कुरूप, अशुभ र तुच्छको अर्थ ग्रहण गर्यो। म्यक्सिम गोर्की प्रकृतिका विध्वंसक र पीडादायी शक्तिहरूलाई कालाशक्ति भन्छन्। नेपाली भाषामा कालोबाट बनेका हेय, कुरूप र तुच्छ अर्थ जनाउने अनेक पदावली छन्। ‘कालो सर्प’, ‘कालो चित्त’, ‘कालो कर्तुत,’ ‘कालो धन’, ‘कालो कांग्रेस’, ‘कालो मधेसे’, ‘कालो झण्डा’ आदि।
पोखरेलको ट्वीटमा उल्लेख भएको ‘कालो दिवस’ वास्तवमा यसै महलमा पर्ने पदावली हो। कालोयुक्त यी पदावलीहरूले कालो वर्ण भएका नेपालीहरूको संवेदनामा जगाउने भाव कस्तो होला? त्यो सुखद र प्रितीकर अवश्यै हुँदैन। संस्कृतिमा यी सबैजसो पदावलीमा नश्लीय गन्ध आउँछ। पोखरेलले ट्वीटमा कालोको चर्चा गर्दा कालो वर्ण भएका मानिसहरूका नाकमा सायद तिनको नश्लीय राष्ट्रवादको हरक आयो। पोखरेल एमालेको ओली प्रवृत्तिका जण्ड पक्षधर, मुखर प्रवक्ता र भयङ्कर प्रतिरक्षक मानिन्छन्। त्यसैले पोखरेलको ट्वीटसँगै मधेसी–तराईबासीहरूका कानमा ओलीका तिनलाई उपहास र अपमान गर्ने सहस्र नश्लीय वाणीहरू गुञ्जिए हुन्। त्यसैले त पोखरेलप्रति विरोधको यो उत्ताल वेग उठ्यो। वास्तवमा पोखरेल माध्यम बने, विरोधको तारो एमाले भयो।
कालो दिवस नेपाली भाषामा नश्लीय चिन्तन र संस्कृतिको द्योतक हो। यो पदावली कालो वर्णका नेपालीहरूका लागि अपमानजनक छ। तर नश्लीय परम्पराबाट नि:सृत नेपाली भाषाको आम प्रचलनमा गम्भीर अस्वीकृति र विरोधसूचक पदावली यहीमात्र छ। त्यसैले मधेसी नेतृत्व आफ्नै रगतका छिटा परेको संविधानप्रति असन्तुष्टि प्रकट गर्न यही पदावली प्रयोग गर्न विवश भयो। मैले माथि उल्लेख गरेझैँ शङ्कर पोखरेलको ट्वीट मधेसीहरूका समानताका सपना र आकांक्षाप्रति समभाव राख्ने कुनै पहाडीले लेखेको भए अर्कै ढङ्गले यसलाई अथ्र्याउन र यसको व्याख्या गर्न सकिन्थ्यो। भन्न सकिन्थ्यो- मधेसी नेतृत्वले आफ्नो र आफ्नै समुदायको वर्णको अपमान गर्ने यो पदावलीको वैकल्पिक अभिव्यक्ति खोज्नुपर्छ। यो परिवर्तित सन्दर्भमा भाषाको विनिर्माण, पुन:आविष्कार वा पुनर्संरचनाको सवाल हो। जीवन–यथार्थका अन्य तत्त्वहरूको रूपान्तरणसँगै भाषाको रूपान्तरण पनि त आवश्यक हुन्छ।
दुर्भाग्यवश, शङ्कर पोखरेललाई अर्थ्याइँ वा व्याख्याको यो सुविधा प्राप्त भएन। तिनको ट्वीटसँग तिनको नश्लीय विचार र प्रवृत्ति जोल्ठिएर आयो। र यो ट्वीटको माध्यमले तिनको विचार र प्रवृत्तिमाथि चौतर्फी धावा बोलियो।
ट्वीट मेटेपछि सविनय भुल स्वीकारेका भए लोकदृष्टिमा तिनको नाक अलिकता भए पनि जोगिन्थ्यो। तर मौनतामा तिनको हठ बोलिरह्यो।