बेलायतले गल्ती सच्यायो: नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई

२२ भदौ २०७३ । काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर गरेको गम्भिर गल्ती अहिले थुनामुक्त गरेर सच्चाएको बताउनुभएको छ । उहाँले कुमार लामालाई बेलायतले थुनामुक्त गरेर आफ्नो गल्ति सच्चाएको बताउँदै भन्नुभयो – ‘आगामी दिनमा नेपाली सम्प्रभूता मिच्ने अपराध कसैले नगरोस् ।’
यसैबीच कर्णेल कुमार लामाले डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
महासेनानी कुमार लामालाई थुनामुक्त गर्नको लागि तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पहल सुरु गरेको थियो । लामालाई छुटाउनको लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधानले जानकारी दिनुभयो । साथै तत्कालीन सरकारले बेलायत सरकारलाई पत्राचार समेत गरेको थियो । विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत लामा (जनवरी २०१३) बेलायतमा पक्राउ परेका थिए । उहाँलाई माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थिए । आरोप पुष्टि नभएपछि कुमार लामालाई बेलायतले हिजो थुनामुक्त गरेको हो ।