राजधानीमा तामाङ ‘ताम्बा’हरुको भेला

-अर्जुन पाख्रिन तामाङ
याम्बु – नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा मंगलबार डम्फु र टुङनाको धुन बजिरहँदा जापानका लागि पुर्व नेपाली राजदूत डा गणेश योञ्जन हसिलो मुद्रामा थिए । डम्फूमाथिको चरा अनि ताम्बा (डम्फू बजाएर नाचिने साँस्कृतिक नृत्य) नाच प्रस्तुत गरिरहदा समाजशास्त्री तथा मानवशास्त्री डा मुक्तसिं तामाङ पनि हर्षित देखिन्थ्ये ।
ताम्बा संघ नेपालले मंगलबार देशभरका ताम्बाहरु भेला गरेर ताम्बा संस्कृति, दर्शन र ताम्बा गीतको विषयमा राष्ट्रिय रुपमा बहस गरेका छन् । कार्यक्रममा ताम्बा संघ नेपालका अध्यक्ष धावा वाङगेल मोक्तानले बार्षिक कार्ययोजना सहित प्रतिवेद प्रस्तुत गर्दै ताम्बा संस्कृतिको संरक्षण गर्न नेपाली मिडियाले प्रचार प्रसार गरि दिए प्रभावकारी हुने बताए ।
कार्यक्रममा डम्फूमाथिको चरालाई कलात्मक ढंगले नचाएर डम्फू बजाउँदै विभिन्न देवि देवतालाई खुसि पार्नका लागि साङ सेरग्यम (प्रार्थना) गीत गाएका थिए । ताम्बा संघको चौथो राष्टिय भेलामा देशभरका ताम्बाहरुले आ आफ्नो जिल्लाको ताम्बा संस्कृृतिको विषयमा धारणा राखेका थिए ।