नयाँ शक्ति युवा विद्यार्थीहरुको सरोकारको विषय हो : संयोजक भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको भूमिका मुख्य हुने र नयाँ राजनीतिक शक्ति निर्माणको विषय युवाहरुको चासोको विषय हुनुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, बबरमहलमा बिहीबार भएको सार्वजनिक भेटघाटका क्रममा संयोजक भट्टराईले भन्नुभयो – ‘नयाँ शक्तिले विकासमुखी राजनीति गर्न जनदबाबमार्फत चेतना अभिवृद्धि गर्छ र त्यसका लागि युवा विद्यार्थीहरुको सक्रिय भूमिका रहनुपर्छ ।’
नयाँ शक्तिले लिएको विकास र समृद्धिको मुद्दालाई युवा पुस्ताले मात्रै ठीक ढंगबाट ग्रहण गर्नसक्ने बताउँदै उहाँले बढ्दो युवा पलायनतालाई रोक्न सक्दा मात्रै विकास र समृद्धि सम्भव भएको बताउनुभयो । आफूले युवा स्वरोजगार कार्यक्रमको सुरुवात गरेको उल्लेख गर्दै संयोजक भट्टराईले राज्यले सबैलाई आफैंले रोजगारी दिन नसक्ने तर रोजगारी र स्वरोजगारका लागि उपयुक्त नीति बनाउनु पर्ने बताउनुभयो । राज्यले उद्यमशीलताको वातावरण बनाई पूर्वाधार तयार गर्नुपर्ने र वित्तीय पहुँचको व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा उहाँको जोड थियो ।
‘वित्तीय पहुँचको उपयुक्त नीतिले बैंकमा थुप्रिएर बसेको खर्बौं रुपैंयाको परिचालन हुनसक्छ’, उहाँले भन्नुभयो – ‘त्यो पूँजीको प्रयोगबाटै मुलुकमा उद्यमशीलताको विकास हुन्छ र त्यसले समृद्धिको आधार तयार गर्छ ।’
नेपालमा लोकतान्त्रिक र समन्यायिक अधिकारका लागि धेरै संघर्ष भएको उल्लेख गर्दै उहाँले अब विकास र समृद्धिको दिशामा जानैपर्ने बताउनुभयो । आर्थिक विकास र समृद्धिविना राजनीतिक अधिकार पूरा नहुने भएकोले अबको राजनीतिक एजेण्डा विकासमुखी नै हुनुपर्ने उहाँको स्पष्टोक्ति थियो ।
पछिल्लो समयमा राजनीतिक दलहरु जनताका मुद्दा छाडेर बरालिन थालेको भन्दै उहाँले नयाँ शक्तिले जनताका सरोकारका सवाललाई प्रमुखताका साथ उठाउने बताउनुभयो । साथै उहाँले नयाँ शक्तिले जनताको प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्र पक्षमा पनि अभियान सञ्चालन गर्ने बताउनुभयो ।
संयोजक भट्टराईले हरेक महिनाको २ र १६ गते नियमित रुपमा पार्टी कार्यालय बबरमहलमा सार्वजनिक भेटघाट गर्नुहुन्छ ।